‘चर्चित हुन योगमाया लेखेको होइन’
आख्यानकार नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘योगमाया’ प्रकाशित छ । किताबमाथि केन्द्रित भएर उनीसँग गरिएको संवाद:
तपाईंको दृष्टिमा योगमाया कस्ती महिला हुन् ?
भोगाइको रूपमा हेर्दा उहाँ आमनेपाली महिला हुनुहुन्थ्यो । तर, उहाँ हिँडेको बाटो, साधना, चेतना र परिवर्तनकामी कदम हेर्दा यस्तो लाग्छ उहाँजस्तो महिला त्यसपछि आजसम्म जन्मिएको छैन ।
योगमायाको बारेमा अनुसन्धान नै गर्नुपर्ने किन लाग्यो तपाईंलाई ?
उहाँबारे यसअघि पनि शोध तथा अनुसन्धानहरू हुँदै नभएको भने होइन । केही पुस्तक र फुटकर लेखरचना प्रकाशित छन् । तर, त्यसमा थप अनुसन्धान जरुरी देखेँ । योगमायालाई भोलिको पुस्ताले पनि पढ्नुपर्छ भने लाग्यो । त्यसैले गरेको हुँ ।
कति समय लाग्यो अनुसन्धान गर्न ?
मैले प्राइमरी र सेकेन्डरी दुवै स्रोत संकलन र अध्ययन गरेँ । दुई महिना मैले स्थलगत अध्ययनका लागि छुट्याएको थिएँ । स्रोतव्यक्तिसँग अन्तवार्ता अनि लिखित सामग्री अध्ययन गर्दा सातआठ महिनाजति लाग्यो ।
अनुसन्धानका क्रममा देख्नुभएका केही अविस्मरणीय क्षण भए बताइदिनुस् न ।
विसंं १९९५ मा योगमायासहित दुई सय ४० जना अग्निदाहमा जान ठीक पर्दा तत्कालीन सरकारले केही व्यक्तिलाई नियन्त्रणमा लियो । योगमायालगायत अन्य नारीलाई भोजपुर राधाकृष्ण पाटीमा राखिएको थियो । पुरुष जतिलाई धनकुटा झ्यालखानामा थुनिएका थियो । थुनिनेमध्ये एकजना हुनुहुन्थ्यो, रत्नमान बस्नेत । बन्दी भएकै अवस्थामा उहाँको मृत्यु भयो ।
उहाँकी पत्नी हुनुहुन्थ्यो मनमाया बस्नेत । १९९८ का ६८ जनाको जलसमाधिमा मनमाया बस्नेतले चार छोरालाई घरमा छाडी चार छोरीसहित जलसमाधि लिनुभयो । जीवित छोराहरूमध्ये सबैभन्दा कान्छो हुनुहुन्थ्यो, चार वर्षका हरिबहादुर बस्नेत । हाल उहाँ विराटनगरमा बस्दै आउनुभएको छ । उहाँलाई भेट्न गएँ । उहाँ निकै वृद्ध भइसक्नुभएको थियो । आफ्ना बुवाआमाका बारेमा कुरा गरिरहँदा सानैमा टुहुरो हुनु परेकोमा यति धेरै रुनुभयो कि म पनि सँगै रोएँ ।
योगमायाको सान्दर्भिकता अहिलेको समाजमा कति छ ?
त्यो बेलाको योगमायाको सोच मात्रै पनि सम्बोधित हुन सक्यो भने आज समाज अति सुन्दर हुन्छ । उहाँ त्यो बेला पनि छुवाछूतको कट्टर विरोधी हुनुहुन्थ्यो । अहिले पनि छुवाछूतका नाममा कुटपिट गरिएका समाचार आइरहेकै छन् ।
तपाईंको पुस्तकले योगमायालाई कत्तिको न्याय गरेको छ ?
योगमाया लेख्नुको उद्देश्य चर्चित हुनु होइन । योगमायाको वास्तविक स्वरूपलाई सबैले पढ्नुपर्छ भन्ने लागेर लेखेकी हुँ । न्याय गर्न सकूँला नसकूँला, सबैभन्दा चिन्ताको विषय नै त्यही थियो । तर, अहिले पाण्डुलिपि पढ्नुभएका व्यक्तिबाट पाएको प्रतिक्रियाअनुसार न्याय गर्न सकेँजस्तो लागेको छ । मूल्यांकनको बाँकी जिम्मा त पाठकको हुनेछ ।
कुनै विशिष्ट ऐतिहासिक पात्रका बारेमा लेखेर लेखकले आफूलाई सदा पाठकको आँखामा चिरञ्जीवी हुने काइदा पनि यदाकदा समाजमा पाइन्छ । तपाईं आफूलाई त्योभन्दा भिन्न कुन अर्थमा राख्नुहुन्छ ?
यो प्रश्नले मलाई साँच्चै झस्कायो । मैले योबारे कहिल्यै सोचेको थिइनँ र सोच्ने पनि छैन । म नेपाली स्नातकोत्तर तहको विद्यार्थी हुँदा प्रभा भट्टराईले ‘लेखनको धेय’ शीर्षकमा तालिका बनाएर अति मीठो गरी लेक्चर दिनुभएको थियो । लेखनको पृथक् पृथक् धेय अवश्य हुन्छ । अब यहाँसम्म आइपुग्दा मेरो लेखनको धेय के हो भन्ने पाठकले बुझिसक्नुभएको छ भन्ने लाग्छ ।
तपाईंको रिसर्चले त्यस बेला योगमायाले गल्ती गरेको ठहर्यायो कि सही ?
यहाँको संकेत समाधितर्फ होला । त्यस बेला योगमायाले अँगाल्नुभएको बाटो सही थियो कि थिएन, सोच्ने जिम्मा पाठकको हातमा छाड्न चाहन्छु । म बहस गर्ने वकिल हुन सक्छु तर न्यायाधीश त प्रत्येक पाठक नै हुन् ।
आजका नारीमा योगमाया कत्तिको देख्नुहुन्छ ?
आंशिक देख्छु । तर, एउटै नारीमा पूरा योगमाया भने भेटेकी छैन । डा. स्वामी प्रपन्नाचार्यले पनि भन्नुभएको रहेछ, ‘योगमाया पुनः जन्मिनुपर्छ !’ यसको तात्पर्य उहाँले पनि देख्नुभएको रहेनछ