नेपाल नामको खोजी
नेपाल शब्दको उत्पत्ति कसरी भयो ? काठमाडौं उपत्यकाले किन र कहिले नेपाल नाम पायो ? इतिहासका यी प्रश्नमा रुचि हुने पाठकका लागि निकै उपयोगी हुने एउटा पुस्तक छ, इतिहासकार दिवाकर आचार्यको ‘नीपजन र नेपाल’।
आचार्यको दाबी छ, नेपाल शब्दको उत्पत्ति अन्य इतिहासकारले भनेजस्तै ने मुनिका नामबाट भएको होइन। बरु, नीप शब्दबाट नेपाल बनेको हो। यो दाबी नयाँ भने होइन। पुस्तकको उद्देश्य पनि यो दाबीलाई स्थापित गर्नु होइन। यसअघि इतिहासकार ज्ञानमणि नेपालले नै नीप शब्दबाट नेपाल बनेको दाबी प्रस्तुत गरिसकेका छन्। यसबारे विस्तृत व्याख्या पनि गरेका छन्। यसअघि सिल्भाँ लेभी र क्रिस्टियन लासेनले पनि यही अवधारण स्वीकारेका छन्। आचार्यको यो सानो पुस्तकको उद्देश्यचाहिँ नीप र नेपाल शब्दको व्यूत्पत्तिको व्याकरण केलाउनु हो जसमा ज्ञानमणि नेपाल चुकेको उनले दाबी गरेका छन्। पुस्तकको प्राक्कथनमै आचार्यले लेखेका छन्, ‘यतातिर सबैभन्दा लगनशील भई सघन प्रयास गर्ने लेखक ज्ञानमणि नेपाल हुन्। तर, उपयोगी सामग्री थुपारे पनि उनले सही र सटिक विश्लेषण गर्न सकेनन्।’
आचार्यका अनुसार नेपाल शब्दको उत्पत्ति संस्कृतको ‘अप्’ शब्दमा ‘नी’ उपसर्ग लागेर बन्ने ‘नीप’ शब्दमा फेरि ‘आल’ प्रत्यय लागेर भएको हो। ‘अप्’को अर्थ पानी हुने हुनाले ‘नीप’को अर्थ पानीसँग सम्बन्धित हुन्छ। यसमा ‘आल’ थपिएपछि पानीको स्रोत वरपर बसोबास गर्ने मानिस, जीवजन्तु र वनस्पतिसमेत बुझिने उनले उल्लेख गरेका छन्।
शब्दोत्पत्ति र अर्थ खुट्याउने क्रममा नेपालले गरेको कमजोरी देखाउँदै आचार्यले लेखेका छन्, ‘उनले आल शब्दको अर्थ प्रस्तुत गर्दा वाचस्पत्य र विश्वप्रकाशकोषको उद्धरण छ्यासमिस पारेका छन् र आलीकै अर्थमा आल शब्द रहेको पनि देखाएका छन्। ज्ञानमणि नेपालले प्रस्तुत गरेको अर्थ आलको होइन, आलीको मात्र हो।’
ज्ञानमणि नेपालले अघि सारेका नीपहरू गणजाति हुन् भन्ने अवधारणा पनि आचार्यले खण्डन गरेका छन्। यस्तै नीपहरूको मुख्य पेसा पशुपालन थियो भन्ने अवधारणालाई आचार्यले ‘रोचक कल्पना’ भनिदिएका छन्। आचार्यका अनुसार महाभारतकालमै भारतमा नीप जनपद थियो, जुन गणजाति मात्र नभएर अहिलेको देशजस्तै हो। महाभारतमा भारतका एक सय जनपदको नाम उल्लेख हुँदा नीप जनपद पनि परेको उनले उल्लेख गरेका छन्।
दक्षिण भारतका नीपहरू नै लडाइँका कारण बिस्तारै पहाडी भूभागतर्फ बसाइँ सर्दै आएको र गण्डकी र कोसी नदीबीचको क्षेत्रमा बसोबास गर्न थालेको दाबी पुस्तकमा छ। आचार्यको यो दाबीले एउटा प्रश्न सिर्जना गर्छ— कति क्षेत्रफल र कुनकुन साँधसिमाना भएको क्षेत्रलाई प्राचीनकालमा नेपाल भनिएको हो ?
किताबमार्फत ने मुनिले पालन अर्थात् संरक्षण गरेको हुनाले यो भूभागको नाम नेपाल रहन गएको भन्ने मिथकलाई तथ्यसंगत ढंगले खारेज गरिदिएका छन्।
केही इतिहासकारले केही कालदेखि यक्ष मल्लको पालासम्म नेपाल विशाल मुलुक थियो भन्ने दाबी गरेका छन्। तर, यो दाबी विवादित छ। प्रमाणित हुन सकेको छैन। प्रमाणित इतिहासअनुसार परापूर्वकालको नेपाल वर्तमान काठमाडौं उपत्यका नै हो। यता आचार्यले भने नीपजनहरू गण्डकी र कोसी नदीको बीचमा बसोबास गरेका दाबी गरेका छन्। के नीपजनहरू बसोबास गरेको यो सबै क्षेत्रले नै नेपाल नाम पाएको हो अथवा वर्तमान काठमाडौं उपत्यकाले मात्र ? सबै क्षेत्रले नेपाल नाम पाएको भए त्यो कसरी काठमाडौं उपत्यकामा मात्र सीमित हुन गयो ? यो प्रश्नको जवाफ भने पुस्तकमा छैन। काठमाडौं उपत्यकाले मात्र नेपाल नाम पाएको भए नीपजनहरूको बसोबास भएको कोसी र गण्डकी नदीबीचको सम्पूर्ण क्षेत्र किन नेपाल भएन ? यी प्रश्नको जवाफ केलाउन झन्झटबाट आचार्य जोगिएका छन्।
नेपाल शब्दको उत्पत्ति र नीपहरूको इतिहास केलाउने क्रममा आचार्यले ऋग्वेद, महाभारत, पताञ्जलिप्रणित व्याकरण, पाणिनी व्याकरण आदिलाई सन्दर्भसामग्रीका रूपमा प्रयोग गरेका छन्। उनी आफैं अधिकांश स्थानमा महाभारतलाई उद्धृत गर्छन्। तर, उनको दाबी प्रतिकूलका उद्धरण अन्य इतिहासकारले गर्छन्, त्यसलाई उनी सहजै ‘रचनाकारको कल्पना’ भनी खारेज गर्छन्। महाभारतका कुन प्रसंग सत्य हुन् र कति रचनाकारका कल्पना हुन् खुट्याउन सकिँदैन।
त्यसैले, कि महाभारतलाई महाकाव्य मात्र नमानेर इतिहास मान्नुपर्छ र उद्धरण लिनुपर्छ, कि त यसलाई साहित्यिक रचना मानेर सीमित र अन्यत्रबाट प्रमाणित प्रसंगलाई मात्र उद्धृत गर्न सकिन्छ। आचार्यले भने अनुकूल पर्दा उद्धृत गर्ने र प्रतिकूल हुँदा ‘रचनाकारको कल्पना’ मान्ने गरेका छन्। ज्ञानमणि नेपालले महाभारतबाट लिएका कतिपय उद्धरणलाई उनले यसैगरी खारेज गरिदिएका छन्। तर, त्यसलाई महाभारतका रचनाकारको कल्पना हो भन्ने कुनै आधार भने पेस गरेका छैनन्।
संस्कृत व्याकरण केलाउन निकै मेहनत गरे पनि नेपाल र नीपहरूको इतिहास खोज्ने क्रममा भने उनले तथ्यभन्दा भावनालाई धेरै महत्व दिएका छन्। आफ्नो कल्पना र अनुमानलाई पनि उनले प्रमाणित इतिहास जत्तिकै महत्व दिएर लेखेका छन्। एक प्रसंगमा उनले लेखेका छन्, ‘यसरी नीपहरू अन्तिमपल्ट छिन्नभिन्न भएपछि कुनै बेला यिनको नियन्त्रण र नेतृत्वमा रहेका जनपद र जनसमूहहरू स्वतन्त्र हुन पुगे होलान्। गोपालराज वंशावलीजस्ता स्रोतबाट हामीलाई थाहा हुन आएका लिच्छविहरू अघिका गोपाल र किराती राजाहरू यस्तै जनपदका राजा थिए होलान्।’ यो उद्धरण नै इतिहास लेखनमा उनको कल्पनाको बलियो उदाहरण हो। बिनाआधार उनले होला/होलान् शब्दको प्रयोगमार्फत आफ्नो दाबीलाई पुष्टि गर्न खोजेका छन्।
यो पुस्तकमार्फत ने मुनिले पालन अर्थात् संरक्षण गरेको हुनाले यो भूभागको नाम नेपाल रहन गएको भन्ने मिथकलाई तथ्यसंगत ढंगले खारेज गरिदिएका छन्। नेपाल नाम रहनुको कारणमा मिथकको सट्टा आधारसहित वैज्ञानिक व्याख्या गर्ने क्रममा अर्को एउटा खुट्किलो बनाएका छन्। नेपाली इतिहासमा यस्ता थुप्रै विषय छन्, जहाँ वैज्ञानिक व्याख्या र दशीप्रमाण होइन; मिथकको बोलवाला छ।
वैज्ञानिक व्याख्यामार्फत मिथकलाई इतिहासबाट अलग्याउने उनको यो प्रयासले इतिहासका अरू प्रसंगमा पनि निरन्तरता पाउनु जरुरी छ। नेपालको इतिहास अध्ययन गर्ने क्रममा कस्ताकस्ता मिथकलाई इतिहासमा कसरी कसरी सन्दर्भका रूपमा प्रयोग गर्न सकिन्छ र कस्ता मिथक इतिहास अध्ययनका लागि उपयोगी हुन्नन् भन्ने विषयमा छुट्टै अध्ययनको आवश्यकता यो पुस्तकले महसुस गराएको छ।
केही भावनात्मक व्याख्या भए पनि यो पुस्तकले नेपाल शब्दको उत्पत्तिबारे अध्ययन गर्न यो पुस्तकले थप आधार दिएको छ। आचार्यले भनेझैं यही पुस्तक नै अन्तिम समाधान भने हुन सक्दैन।