एउटै गाउँका स्थानीय, प्रदेश र राष्ट्रिय सभाका तीन सांसद सम्मानित
अर्घाखाँची : मालारानी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय र शान्ति मावि बाँगीले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खडका, प्रदेससभा सदस्य निर्मला क्षेत्री र मालारानी गाउ“पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीलाई सम्मान गरेको छ ।
बाँगीबाट नीति निर्माण तहमा पुगेका प्रतिनिधिलाई आरुखोरमा शनिबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान व्यक्त गरेको हो । विशेष कामले जिल्ला बाहिर भएकाले कार्यक्रममा प्रमिला उपस्थित भइनन् ।
सम्मानपछि बोल्ने वक्ताले बाँगीबाट संघीय संरचनाको तीनै तहमा प्रतिनिधित्व भएको भन्दै खुसी व्यक्त गरे । खड्का माओवादी केन्द्रीय सचिवालय सदस्य, निर्मला कांग्रेस नेतृ र प्रमिला एमाले नेतृ हुन् ।
सम्मानपछि खडकाले एउटै गाउँबाट तीनै तहमा तीन पाटीबाट प्रतिनिधित्व गर्न पाउनु खुसीको कुरा भएको बताउँदै गाउँको विकासको लागि सबै एकजुट हुनुपर्ने बताए ।
शान्ति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खडकाले बाँगीलाई प्राथमिकतामा राखेर विकासमा नमूना गाउँ बनाउने उदघोष गरे । पाटी भन्दा माथि उठेर गाउँ, जिल्ला र देसको विकास गरेर सम्बृद्ध र विकसित राष्ट्र बनाउनु पर्ने बताए ।
५ नम्बर प्रदेससभा सदस्य निर्मला क्षेत्रीले बाँगीमा के कस्ता विकासका समस्या छन, के गर्नुपर्छ खाका बनाएर पेस गर्न जनप्रतिनिधि र स्थानीयलाई आग्रह गर्दै विकास योजनाको बजेट पार्नमा आफूले महत्वपूर्ण भूमिका खेल्ने बताए । बांगी कृषि उत्पादनमा राम्रो संभावना बोकेको भन्दै क्षेत्रीले सबै सहकारीमा आबद्ध हुनुपर्ने र कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउने र ठाउँ–ठाउँमा तरकारी संकलन केन्द्र बनाएर बजार पठाएर आम्दानी भित्राउने व्यवस्थाको लागि आफु लागि पर्ने बताइन् ।
एमाले जिल्ला सचिव रामबहादुर चौहानले मुलुकमा राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिबाट सम्बृद्ध राष्ट्र बनाउन सबै दल र नेता एकजुट भएर लाग्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य मानबहादुर पाण्डे, कांग्रेस बाँगीका सभापति मणिराम खनाल, एमालेका पूर्वअध्यक्ष हुमबहादुर महत लगायतले सांसदलाई बधाई तथा शुभकामना दिएका थिए ।