प्रदेश १ को राजधानी विवाद : सहमती जुटाउने मन्त्री कार्कीको भनाइ
दमक : बृहत छलफल र सहमती जुटाएर मात्र प्रदेशको राजधानी तोकिने प्रदेश नम्बर एकका संघीय मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका छन्। स्थायी राजधानीका लागि विभिन्न ठाउँको नाम चर्चामा आए पनि सबै दलको सुझाव र सहमतीले मात्र राजधानी तोकिने उनको भनाइ छ।
शनिबार प्रेस चौतारी र प्रेस सेन्टर झापाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर एकको नामका बिषयमा विभिन्न अन्तर द्वन्द्व देखिएकाले प्रदेशको नामाकरण पनि यहाको भौगोलीक, प्राकृतिक, सांस्कृतिक , जातीय र धार्मिक आधारलाई विचार गरेर मात्र गरिने बताए।
‘सबै आधारलाई विचार गर्दा लिम्बुवान, विराट, कन्चनजंघा, सगरमाथा जे पनि नाम राख्न सकिन्छ। तर यस विषयको टुंगो सबैको सहमतिमा नै लाग्नेछ,’ मन्त्री कार्कीले भने। सबैभन्दा छिटो राजधानीको टुंगो लगाउनुपर्ने र त्यहा सोही अनुसारको भौतिक पूर्वाधारको विकाश गर्नुपर्नेमा मन्त्री कार्कीको जोड थियो। अहिले संघीयताको अभ्यासको पहिलो चरणमा रहेकाले सबै कुराको व्यवस्थापन राम्रो संग नभएको उनको भनाइ छ।
अहिले पनि आफ्नो बसाईको टुंगो नलागेको बताउदै उनले अस्थायी राजधानी विराटनगरमा सोचे अनुसार भवनको ब्यवस्थापन गर्न नसकिरहेको बताए। ‘सरकारले हाम्रा लागि भनेर मासिक घरभाडा मार्फत १२ हजार रुपैयाँ दिएको छ। यो पर्याप्त छैन। तर, पनि हामी बढाउने पक्षमा छैनौं,’ मन्त्री कार्कीले भने। पत्रकारको जिज्ञासामा सरकार निर्माणको बिषयमा उनले केही दिन भित्रै प्रदेश मन्त्रीपरिषदले पूर्णता पाउने बताए। महिलालाई सरकारमा सहभागी नगराएको असन्तुष्टि आइरहेको बेला गृहमन्त्रीसमेत रहेका कार्कीले महिलालाई पनि उचित मन्त्रालय दिएर सन्तुलन कायम गर्ने प्रष्ट पारे।