एमालेले मन्त्री छान्न नसक्दा प्रदेश ७ का मुख्यमन्त्रीको शपथ सर्यो
धनगढी : नेकपा (एमाले)ले मन्त्री छान्न नसक्दा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको शपथ कार्यक्रम सरेको छ। ३ बजेका लागि तोकिएको शपथ एमालेले मन्त्री छान्न नसक्दा ५ बजेका लागि सरेको हो। एमाले प्रदेश ७ का इन्चार्ज भीम रावल आफैँ बसेर मन्त्री छान्नका लागि तीनदिनसम्म कसरत गर्दा पनि मन्त्रीको नाम टुंगो नलागेपछि रावल सम्भावित मन्त्रीको नाम बोकेर राजधानी उडेका छन्।
रावलले राजधानी पुगेर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर मन्त्रीको टुंगो लगाएपछि मात्र मुख्यमन्त्री र मन्त्रीहरुको शपथ हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
प्रदेश ७ को मुख्यमन्त्री माओवादीको भागमा परेपछि प्रदेश ७ मा एमाले संसदीय दलको नेतामा पाँचजना नेता आकांक्षी थिए। दीर्घ सोडारी, प्रकाश शाह, बठानसिंह बोहोरा, तारा लामा तामाङ, लीलाधर भट्टले दाबी गरे पनि प्रकाश शाह संसदीय दलको नेता चयन भएका छन्। लामो कसरतमा संसदीय दलको नेता छनोट गरेको एमालेलाई मन्त्री छान्न सकस परेको हो।
प्रदेश ७ मा एमालेले चारजना मन्त्री पाएको छ। माओवादीले भने मुख्यमन्त्रीसहित तीन मन्त्रालय लिएको छ। एमालेलाई मन्त्री छान्न सकस भए पनि माओवादीले भने करिब करिब मन्त्रीको नाम टुंगो लगाइसकेको छ। कैलालीकी सांसद बिनिता चौधरी माओवादीबाट मन्त्री बन्ने पक्का भएको छ भने मन्त्रालय हेरेर झपड बोहोरा (अछाम) र मानबहादुर धामी (दार्चुला) मन्त्री बन्ने तयारीमा छन्।
माओवादीले अर्थमन्त्रालय पाए बोहोरा मन्त्री बन्नेछन् भने अन्य मन्त्रालय पाए धामी।