भैरव–लालमाया स्मृति पुरस्कार प्रधानलाई
काठमाडौं : द्वाल्खा गुठीले यो वर्षको ‘भैरव–लालमाया स्मृति पुरस्कार’ आदर्श प्रधानलाई प्रदान गरेको छ । शनिबार राजधानीमा आयोजित एक समारोहमा जेष्ठ नागरिक डबलबहादुर श्रेष्ठले प्रधानलाई नगद सात हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।
दोलखाली नेवारी भाषा तथा संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा उल्लेखनीय योगदान गरेबापत प्रधानलाई उक्त पुरस्कार प्रदान गरिएको हो । डेढ दशकदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील प्रधानले दोलखाको पहिलो इन्टरनेट पत्रिका दोलखा डट कमको पनि सञ्चालन गरेका हुन् ।
त्यस्तै, संगीत क्षेत्रमा योगदान गरेवापत ‘मनकृष्ण टीकालक्ष्मी स्मृति पुरस्कार’ पूर्णनारायण श्रेष्ठलाई प्रदान गरिएको छ ।
गुठीको वार्षिक साधारणसभा एवं सम्मान कार्यक्रममा सांसद दिव्यमणि राजभण्डारी, गुठीका अध्यक्ष माधवमणि राजभण्डारी, कालिन्चोक युवा क्लबका अध्यक्ष निरेन्द्र मास्के, भैरब–लालमाया स्मृति पुरस्कारका संस्थापक आत्माकृष्ण श्रेष्ठलगायतले बोलेका थिए । रासस