खुमबहादुर खड्का गम्भीर बिरामी, भोलि दिल्ली लगिँदै
काठमाडौँ: नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का गम्भीर बिरामी परेका छन् । शुक्रबार राति अकाष्मात स्वास्थ्यमा समस्या देखिएपछि खड्कालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिकमा राखेर उपचार गरिएको छ। 'माइल्ड स्ट्रोक' कारण अवस्था गम्भीर तर स्थिर रहेको नर्भिक अस्पताल प्रशासनले जानकारी दिएको छ।
खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । उनका स्वकीय सचिव चुडामणि कँडेलका अनुसार आइतवार दिल्ली लगेर खड्काको थप उपचार गरिनेछ ।
'चुनावका क्रममा दौडधुप धेरै भएकाले उहाँ बिरामी पर्नुभयो', कँडेलले अन्नपूर्ण अनलाइनसँग भने, 'भोलि उहाँलाई दिल्लीस्थित एपोलो अस्पतालमा लगेर थप उपचारको तयारी गर्दैछौँ ।
खड्कालाई आइतवार मध्यान्ह १२ बजे दिल्ली लाने तयारी गरिएको छ। मिर्गौला प्रत्यारोपण गरिए पनि खड्का निरन्तर कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनी अहिले पनि कांग्रेसको एउटा गुटको नेतृत्व गर्दै पार्टीमा राम्रो प्रभाव छाडिरहेका छन् ।