एकता वार्ता ‘अप डाउन’

एकता वार्ता ‘अप डाउन’

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको पार्टी एकता वार्ता सेयरबजारमा ‘नेप्से’ घटबढ भएजस्तै ‘अप-डाउन’ हुन थालेको छ।

पार्टी एकता संयोजन समितिको बुधबार साँझको बैठक ‘एकीकृत पार्टीको सैद्धान्तिक आधार’ (जबज र एक्काइसौं शताब्दीको जनवाद) मा अड्किँदा अप्ठ्यारोमा पर्न थालेको आशंका उब्जिएको थियो। तर, दुई अध्यक्षबीच शनिबारको वार्ता फेरि सकारात्मक भएको नेताहरूले बताएका छन्। ‘एकता प्रक्रिया अप-डाउनको चरणमा छ, बुधबार बिग्रेको वातावरण शनिबार बिहानको छलफलपछि केही सकारात्मक देखिएको छ,’ माओवादी केन्द्रका नेता मणि थापाले बताए।

प्रधानमन्त्री ओली र दाहालबीच शनिबार बिहान बालकोटमा करिब पौने घण्टा छलफल भएको थियो। माओवादी केन्द्रले पार्टी एकतालगायत अन्य पदीय भागबन्डामा समेत प्याकेज सहमति गरेर मात्रै सरकारमा सहभागिताको विषयमा निर्णय लिने बताइरहँदा ओली-दाहालबीच शनिबार छलफल भएको हो। बुधबार अड्किएको वार्तालाई बिहीबार नै निरन्तरता दिएर छलफलका बाँकी विषय टुंगो लगाउने बताए पनि ओली प्रधानमन्त्री चुनिएका कारण बस्न सकेको थिएन।

त्यसयता अनौपचारिक संवादमा रहेका ओली-दाहालले शनिबार भने आइतबार एकता संयोजन समितिको बैठक बसेर बुधबारकै बैठकमा भएका सहमतिलाई निरन्तरता दिँदै नमिलेका विषयमा सहमति खोजी गरी एकता र सरकार गठनलाई निष्कर्षमा पु¥याउने निर्णय गरेका हुन्। ओलीसँगको छलफललगत्तै महोत्तरीको ‘हात्तीलेक’ पुगेका दाहालले त्यहाँ पुगेका पार्टीका केही केन्द्रीय नेतालाई छलफल सकारात्मक भएको संकेत गरेका थिए।

‘उहाँहरू पहिले जबजको विषयमा छलफल नै गर्न चाहनुहुँदैनथ्यो तर अहिले छलफल गर्न सकिन्छ भन्नेसम्म आउनुभएको छ।’
मणि थापा, माओवादी नेता

‘अध्यक्षले ओलीसँगको वार्ता सकारात्मक भएको संकेत गर्नुभयो,’ थापाले महोत्तरीबाटै अन्नपूर्णसँग टेलिफोनमा भने, ‘तर छलफलको विषय भने समय अभावका कारण खुलाउनुभएन।’

ओलीसँगको छलफल सकारात्मक भएपछि दाहालले आइतबार बिहान पार्टी शीर्ष नेताहरूलाई ब्रिफिङ गर्न खुमलटार बोलाएका छन्। ‘मोटामोटी ओलीजीसँग विषयमा सहमति भएको छ, अब फेरि अस्तिकै एकता संयोजन समितिको बैठकबाट निरन्तरता दिने गरी संयोजन समिति बैठक अगाडि बढ्छ,’ दाहालले महोत्तरीको कार्यक्रममा पुगेका पार्टी नेताहरूलाई व्यक्त गरेको संक्षिप्त ‘अपडेट’ उद्धृत गर्दै माओवादीका अर्का नेताले भने, ‘आइतबार बिहानै पार्टीमा ब्रिफिङ हुन्छ, सरकारमा जाने कुरा पनि हुन्छ, समझदारी लिखित गर्ने गरी जाने तयारी छ।’

एमाले स्रोतका अनुसार आउने सातासम्म माओवादीले आफ्ना नेतालाई सरकारमा पठाउनेछ। ओली-दाहालबीच जबजको विवाद हल गर्ने विषयमा सहमति जुटिसकेकाले अब एकता प्रक्रिया र सरकारमा माओवादीको सहभागिताको विषय टुंगिने चरणतिर पुगेको एमाले स्रोत बताउँछ। शुक्रबार दुवै पार्टीका नेताहरूका अनौपचारिक छलफल र शनिबारको दुई अध्यक्षको छलफलमा एमाले लचिलो बनेर आउने संकेत देखाएका कारण वार्ता सकारात्मक बनेको माओवादी पक्षको भनाइ छ।

ओली-दाहाल वार्ताको निचोड

- दुवै पार्टीका सिद्धान्त महाधिवेशनमा लैजाने

- एकता र भागबन्डामा प्याकेज सहमति गर्ने

- आउने सातासम्ममा माओवादी सरकारमा जाने

‘उहाँहरू पहिले जबजको विषयमा छलफल नै गर्न चाहनुहुँदैनथ्यो तर अहिले छलफल गर्न सकिन्छ भन्नेसम्म आउनुभएको देखिन्छ,’ माओवादी नेता थापाले भने, ‘एमाले लचिलो बन्ने संकेत देखाए पार्टी एकता सकारात्मक ढंगले अगाडि बढ्छ।’

ओलीसँग दाहालले अब प्याकेज सहमति खोजेका छन्। उनले पार्टी एकता, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्षदेखि मन्त्रालय बाँडफाँटसम्मका सबै विषयको प्याकेज सहमति गरेर जानुपर्नेमा जोड दिएका छन्। अब (आइतबार) हुने एकता संयोजन समिति बैठकमा यी सबै विषयमा प्याकेज सहमतिको प्रयासका लागि छलफल हुने ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए। अधिकारीका अनुसार आइतबार एकता संयोजन समिति बैठक बस्नुअगाडि पुनः दुई अध्यक्षबीच छलफल हुनेछ।

ओलीसँग छलफलपछि बाहिरिने क्रममा दाहालले पनि छलफल पार्टी एकता र सरकारमा सहभागिताका विषयमा केन्द्रित रहेको बताए। ‘एकता र सरकार गठनमा केन्द्रित रहेर ओलीजीसँग छलफल भयो,’ दाहालले सञ्चारकर्मीसँग भने, ‘वार्ता सकारात्मक ढंगले नै अगाडि गइरहेको छ, एकताको पहल भइरहेको छ।’

पार्टी एकताअगाडि सरकारमा सहभागिता नजनाउने माओवादीको संकेतपछि प्याकेज सहमति खोज्न एमाले तयार भएको बताइएको छ। अब दुवै पार्टीका सिद्धान्तलाई दस्ताबेजमा लेखेर महाधिवेशनबाट टुंगो लगाउनुपर्नेमा एमालेभित्रै पनि दबाब बढ्न थालेपछि ओली लचिलो बन्न खोजेका हुन्।

पार्टी एकता संयोजन समितिकै सदस्यद्वय एमाले वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले अहिले दुवै पार्टीका सिद्धान्तलाई महाधिवेशनबाट टुंग्याउने गरी लचिलो बनेर जानुपर्ने बताउँदै आएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.