आर्मीले उचाल्यो सिमरा गोल्डकपको उपाधि
सिमरा : नवौं सिमरा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले उचालेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीले बलियो प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई २-० गोलले हरायो । सिजनको पाँचौं उपाधि उचालेको आर्मीको जितमा दिनेश हेम्जन र नवयुग श्रेष्ठले गोल गरे । आर्मी सिमरा गोल्डकपको छैटौं संस्करणको विजेता पनि हो ।
रोमाञ्चक फाइनल भिडन्तमा आर्मीले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । आर्मीका दिनेश हेम्जनले ५८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । थ्रीस्टारका रक्षांपक्ति अल्मलिन पुग्दा हेम्जनले गरेको प्रहारले सिधै जाली चुमेको थियो । आर्मीका लागि ७४औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल थपे । भरत खवासको प्रहार थ्रीस्टारका रक्षापंक्तिले फर्काउने क्रममा नवयुगको खुट्टामा पुगेपछि उनले सोझै गोल गरे । आर्मीविरुद्ध उत्कृष्ट तालमेल देखाए पनि थ्रीस्टारले अवसरको सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।
उपाधिसँगै आर्मीले पाँच लाख ५१ हजार रुपैयाँ हात पार्यो । उपविजेता थ्रीस्टारले दुई लाख ५१ हजार रुपैयाँ पायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका दिनेश हेम्जन घोषित भए । उनले यामाहा मोटरसाइकल प्राप्त गरे । प्रतियोगिताको विधागत पुरस्कारमा पनि आर्मी हावी देखियो । सर्वोत्कृष्ट खेलाडी घोषित भएका दिनेशले सर्वाधिक गोलकर्ताको पुरस्कार पनि प्राप्त गरे । प्रतियोगितामा तीन गोल गरेका उनले १५ हजार रुपैयाँ प्राप्त गरे । खेलको म्यान अफ दी म्याच सन्तोष तामाङ घोषित भए ।
प्रतियोगितामा थ्रीस्टारका कप्तान नीराजन खड्काले उत्कृष्ट मिडफिल्ड, गोलरक्षक विकेश कुथु (आर्मी), उत्कृष्ट डिफेन्डर विमल पाण्डे (आर्मी), स्ट्राइकर जर्ज प्रिन्स कार्की (आर्मी) ले प्राप्त गरे । फेयर प्लेको अवार्ड आयोजक नवजनजागृति क्लब नीलोले हात पार्यो ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले टिमको प्रदर्शन उत्कृष्ट रहँदारहँदै पनि पराजय भोगेको बताए । आर्मीविरुद्ध टिमका खेलाडीले खेलेको खेल प्रशंसनीय रहेको उनको भनाइ थियो । आर्मीलाई राम्रो चुनौती दिएको भन्दै केसीले दर्शकको मन जित्ने गरी टिमका खेलाडीले खेल खेलेको बताए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले थ्रीस्टारविरुद्ध बनाएको रणनीतिअनुसार टिमले प्रदर्शन गरेको बताए । दुवै टिमले उत्कृष्ट सुरुवात गरेको भन्दै न्यौपानेले पहिलो गोल गर्नु नै खेलको टर्निङ पोइन्ट रहेको बताए ।