मुख्यमन्त्री गेस्ट हाउसमा, मन्त्री होटलमा

मुख्यमन्त्री गेस्ट हाउसमा, मन्त्री होटलमा

विराटनगर : प्रदेश प्रमुखबाट नियुक्त भई पदभार ग्रहण नगरुन्जेल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बसाइ होटलमा भयो। एमाले संसदीय दलको नेतामा निर्वाचित हुने प्रक्रियासम्म केही सहयोगी र प्रदेशसभा सदस्य पनि सँगै होटलमै बसे।

विराटनगरको हाटखोलामा अवस्थित फन एन्ड फुड भिलेज होटलमा १५ दिन बिताएका राईले पार्टीको महत्वपूर्ण बैठक र संसदीय दलको चुनावी रणनीति पनि त्यहीँ बसेर बनाएका थिए। बिहीबार मुख्यमन्त्रीको कार्यभार सम्हालेलगत्तै अस्थायी बसाइका लागि नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरको गेस्ट हाउस सरेका मुख्यमन्त्रीको आवासको अझै टुंगो लाग्न सकेको छैन। बैंकको गेस्ट हाउस अस्थायी मात्र हो।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको बास पनि होटलमै छ। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो विराटनगर झरेदेखि होटलै बसिरहेका छन्। प्रदेशसभा बैठक र सरकार गठन प्रक्रियाअघिदेखि नै आङ्बो तथा माओवादी केन्द्रका प्रदेशसभा सदस्य पनि होटलमै बसिरहेका छन्। उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत सुनसरीस्थित आफ्नै निवासबाट विराटनगर आउजाउ गरिरहेका छन्।

त्यस्तै सामाजिक विकासमन्त्री जीवन घिमिरे शपथपछि पदभार ग्रहण गरेर विराटनगरस्थित निवास फर्किए।

मन्त्रिपरिषद् कार्यालयका सचिव सन्तोषकुमार श्रेष्ठले मुख्यमन्त्री तथा मन्त्रीहरू बस्ने आवासको खोजी भइरहेको जानकारी दिए।

प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा केही मन्त्रालय सञ्चालनमा आए पनि मन्त्रीहरूको आवासको व्यवस्थापन हुन नसक्दा उनीहरूलाई सास्ती भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले महानगरमा समाहित भएका कतिपय विषयगत कार्यालयलाई मन्त्री क्वार्टरको रूपमा व्यवस्थापन गर्ने तयारी गरेको छ।

तर, कतिपय पुराना भवनलाई मर्मतसम्भार गरी बस्न योग्य बनाउन सकिन्छ भन्ने तयारी गरे पनि धेरै खर्च लाग्ने देखिएकाले तत्काल के गर्ने भन्ने अन्योल भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए। उनले भने, ‘पुराना भवनलाई मर्मत गर्न उत्ति नै खर्च हुने भएकोले के गर्ने भन्नेमा हामी पुगिसकेका छैनौं, अझै छलफल गरिरहेका छौं।’ कार्कीका अनुसार कम खर्च हुने भए बरु भाडा लिएर बस्ने की भन्नेसम्मको तयारी भएको छ।

प्रदेश १ मा सात सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी छ। पहिलो चरणमा बिहीबार मुख्यमन्त्रीसहित पाँच जनाले कार्यभार सम्हालेका छन्। मुख्यमन्त्री राईले प्रदेश १ मा छरितो र परिणाममुखी काम गर्न सक्ने मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्। एमाले र माओवादी केन्द्रबीच केन्द्रमा भएको सहमतिअनुसार नै प्रदेशमा मन्त्रिमण्डल बनाउने तयारी गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सन्तोषकुमार श्रेष्ठले मुख्यमन्त्री तथा मन्त्रीहरू बस्ने आवासको खोजी भइरहेको जानकारी दिएका छन्। ‘मन्त्रालय रहने भवनको तयारी र कर्मचारी व्यवस्थापन गर्नसमेत निकै धौधौ परेको थियो। थोरै समयमा हामीले उपलब्ध साधन स्रोत प्रयोग गरेर सकेसम्म राम्रै तयारी गर्ने प्रयास गरेका हौं,’ उनले भने, ‘अब अझै धेरै काम बाँकी छन्।’

सचिव श्रेष्ठले सरकारकै सुझावअनुसार आवासको विषयमा थप गृहकार्य गरेर टुंगो लगाइने जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.