बालबालिकाले देखाए उड्कीमुड्की
काठमाडौं : कुमारीगालस्थित मोक्षदा स्कुलमा अध्ययनरत कक्षा ३ देखि ६ सम्मका ११ जना छात्रछात्राको अभिनय रहेको नाटक उड्कीमुड्कीले एउटा स्कुलको कक्षाभित्रको कथाव्यथा बोकेको छ ।
विद्यार्थीका चकचक, अबोध जिज्ञासादेखि गम्भीर पाटालाई लेखक तथा निर्देशक सुरेश चन्दले रंगमञ्चमा उतारेका छन् । नाटकभित्र एउटी शिक्षिकाको विद्यार्थीप्रतिको माया, समर्पण र प्रेरणा पनि देखाइएको छ । नाटकले हँसाउँछ, द्वन्द्वकालीन समयमा पुर्याएर जुम्लाकी एकजना महिलाको पीडा सुनाएर रुवाउँछ पनि ।
शिक्षिकाको भूमिकामा कक्षा ६ की छात्रा उपहार लिम्बूले राम्रो अभिनय गरेकी छिन् । नाटकमा उनी साँच्चैकी शिक्षिका देखिएकी छिन् । विद्यार्थीको भूमिकामा आकृति तिमल्सेना जुम्लाकी महिलाको कथाव्यथामार्फत दर्शकलाई भावुक बनाउन सफल छिन् । तारा लामा, खुसी हमाल, सामना श्रेष्ठ, संगीत श्रेष्ठ, आर्यन चन्द, अधीश चन्द, समृद्धि दाहाल, भवेश पौडेल, प्रिन्स वाग्लेलगायतको अभिनय पनि प्रशंसनीय छ । बीचबीचमा आउने देउडादेखि विभिन्न नेपाली तथा अंग्रेजी गीत संगीत पनि श्रवणीय छन् ।
नाटक प्रदर्शनीपश्चात आयोजित अन्तक्र्रियामा सांसद गगन थापाले नाटक हेर्दै गर्दा आफूलाई आफ्नो स्कुलका दिनहरूको सम्झना आएको बताए । ‘उड्कीमुड्की हेर्दै गर्दा म मेरो स्कुलका दिनहरूलाई सम्झिरहेको थिएँ,’ थापाले भने, ‘नाटकले कतिखेर हँसायो र कतिखेर रुवायो पत्तै भएन ।’ सो अवसरमा गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोख्रेलले नाटक आफूले सोचेभन्दा निकै राम्रो भएको बताए ।
निर्देशक चन्दले आफूले विगतमा गुरुकुलमा बस्दा सिकेको ज्ञान अहिले स्कुले भाइबहिनीलाई बाँड्ने जमर्को गरेको बताए । शुक्रबार सुरु भएको नाटक उड्की-मुड्की यही १९ फागुनसम्म हरेक दिन ४ः३० बजे मञ्चन हुनेछ । नाटक मञ्जरी थिएटर, स्पेस नाट्य संस्था र मोक्षदा स्कुलले प्रस्तुत गरेका हुन् ।