ढकालको हजार 'माइल टाढा'
काठमाडौं : लेखक नारायण ढकालको उपन्यास ‘हजार माइल टाढा’को शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा लोकार्पण गरिएको छ। भूगोलविद् प्रा.डा. पिताम्बर शर्मा, लेखक तथा नेता विश्वभक्त दुलाल ‘आहुति’ तथा लेखक ढकालले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए।
पुस्तकबारे विचार राख्दै प्रा.डा. शर्माले जनयुद्धसम्मको यात्रा कसरी तय भयो भन्ने विषयलाई आख्यानकार ढकालले निकै राम्रोसँग उपन्यासमा उतार्न सफल भएको बताए। उपन्यासको अन्तिम सय पृष्ठको स्वैरकल्पना पुस्तकको सार माइलस्टोनको रूपमा रहेको छ। जनयुद्धले नेपाली समाजलाई रूपान्तरित गर्न नसकेको कुरालाई उपन्यासमा उठाइएकोले प्रत्येक राजनीतिक दलका नेताहरूले उक्त उपन्यास पढ्नैपर्ने विचार शर्माले राखे। प्रत्येक पार्टीका मुखियाहरूले आफ्ना कार्यकर्तालाई माथि चढ्ने भर्याङ मात्र बनाएको विषयवस्तु उपन्यासमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको पनि उनले बताए।
अर्का लेखक आहुतिले भने उपन्यासले काँठ क्षेत्रको राम्रो चित्रण गरेको जनाए। उनले भने, ‘तर, पात्रहरूको चित्रण गर्दा काँठका उपाध्याय बाहुन समुदायको जति सफल चित्रण छ, त्यस्तो चित्रण नेवार र दलित समुदायको छैन।’ हाल कुनै योगदान नभएकाहरूका बारेमा पनि पैसाका लागि पुस्तक लेख्ने परिपाटी चलेको छ। यस्तो बेला लेखक ढकालले देशमा सबैभन्दा बढी मानिसले ज्यानको आहुति दिएको माओवादी जनयुद्धको कथालाई उपन्यासमा उतारेर यसमा भएका विकृति र विसंगतिका पाटाहरूलाई राम्ररी केलाएको आहुतिले बताए। उनले भने, ‘हरेक लेखकको आआफ्नो विचारधारा हुनुपर्छ। विचारधारामा आख्यानकार ढकाल सफल छन्। उनी राजनीतिमा पनि भएकाले त्यो पक्ष हावी हुँदा उपन्यासको सौन्दर्य केही खस्किएको छ।’ उपन्यासमा प्रेतको रूपमा पुष्पलालले जनयुद्ध गलत थियो भन्न लगाइएकोमा आहुतिको टिप्पणी थियो, ‘माक्र्सले युद्ध गलत या ठीक भन्दैन। अवस्थाअनुसार युद्धको आवश्यकता पनि पर्छ।’
लेखक ढकालले आफ्नो नवीनतम उपन्यासमा माओवादी जनयुद्धको विषयलाई उठाइए पनि किताबभित्र अहिलेको परिवर्तनले कुन वर्गको सेवा गर्यो भन्ने विषयको प्रमुख उठान गरेको उनले बताए। कार्यक्रमको अन्त्यमा पत्रकार तथा लेखक शिखर घिमिरेले लोकार्पित पुस्तककेन्द्रित छोटो प्रश्न उत्तर लेखक ढकालसँग गरेका थिए। कुनैबेला आफ्नो गुरु रहेका प्रा. डा. शर्माको टिप्पणीले लेखनमा आफूलाई ऊर्जा दिएको ढकालले बताए।
राजनीतिलाई ठाँटी राख्दै लेखनलाई अघि बढाएका ढकाल चार दशकदेखि निबन्ध, कथा र उपन्यास लेखकको रूपमा बढी चिनिन्छन्। समय चेत र इतिहासबोध भेटिने उनको पुस्तकमा इरफान अली, सहरयन्त्र, बहिर्गमन, आत्महन्ता, नारायण ढकालका कथा संग्रह, तीन संवत्सर, शोकमग्न यात्री निबन्ध संग्रह, प्रेतकल्प, वृषभ वध उपन्यास प्रकाशित छन्। लोकार्पित उपन्यास ‘हजार माइलको बाटो’को प्रकाशन फोनिक्स बुक्सले गरेको हो।