धरानमा ‘माङखिम’को चर्चा

धरानमा ‘माङखिम’को चर्चा

इटहरी : पत्रकार तथा साहित्यकार सचित राईको अनुसन्धानमूलक निबन्धात्मक कृति ‘माङखिम’माथि धरानमा परिचर्चा भएको छ। विमल गुरुङ स्मृति पुस्तकालयको आयोजनामा बुद्ध चोकस्थित फुड स्टोरीमा शनिबार यो कृतिमाथि प्रा. डा. टंक न्यौपाने, डा. मोहन तुम्बाहाङ र पत्रकार राजेश विद्रोहीले चर्चा गरेका हुन्।

प्रा. डा न्यौपानेले यो कृतिको नामले राई, लिम्बु भाषालाई समेटेको उल्लेख गर्दै प्रायः निबन्धमा राई बान्तवा भाषा आउनु सकारात्मक रहेको टिप्पणी गरे। उनले माङलाई देवताका रुपमा अथ्र्याइँदै आए पनि लेखकले पितृको संज्ञा दिँदै यसमाथि पुनर्विचार गर्न आग्रह गरेको सुनाए।

‘लेखकको भूमिका नपढी भित्रका शीर्षकसँग नामकरणको संगत मिल्दैन’, उनले भने, ‘जब मैले भूमिका पढें तब उहाँले गाउँ, छिमेक र घरपरिवारको बारेमा पनि लेखेको रहेछ भन्ने बुझेँ। भित्रका निबन्ध मात्र पढ्दा देवगृह भनेर बुझेको थिएँ।’ उनले माङबारे नयाँ व्याख्या आएको उल्लेख गर्दै यसले पुनविर्चार गर्न उत्प्रेरणा मिल्ने धारणा व्यक्त गरे। ‘धार्मिक–सांस्कृतिक हिसाबले पुनर्विचार गर्नुपर्‍यो कि माङ भनेको के हो’, उनले भने, ‘पितृ हो कि साँच्चै देवीदेउता नै हो ? यो निबन्ध संग्रहले पहिलो प्रश्न नै यही उब्जाएको छ।’

डा. तुम्बाहाङले माङखिममा नेपाली समाज प्रतिबिम्बित रहेको उल्लेख गर्दै विविध विषयवस्तु लेखकले शिष्ट, सरल र सन्तुलित भाषा शैलीमा समेटेको चर्चा गरे। ‘लेखनले मान्छेलाई वास्तविक मान्छे बनाउँछ’, उनले भने, ‘सचित राईजी पनि वास्तविक मान्छे हुनुभएको छ।’

पत्रकार विद्रोहीले यो कृतिमा समेटिएका विषयलाई विश्वसनीय बनाउन लेखकले खोजअनुसन्धान गरेको उल्लेख गर्दै यो कृतिले युवामा उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरे। ‘उहाँले निकै मेहनत गरेर इतिहासको खोज गर्नुभएको छ। कतिपय ऐतिहासिक व्यक्तिका बारेमा भएको द्विविधालाई पनि उहाँले समाधान गर्ने प्रयास गर्नुभएको छ’, उनले भने, ‘आफ्नो जाति, भाषा, धर्म, संस्कृतिप्रति सबै सचेत हुनुपर्छ। यसमा राज्यले पनि सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ भन्ने भावना यस कृतिका निबन्धमा पाइन्छ।’ यति हुँदाहुँदै पनि अरुका जाति, भाषा, धर्म, संस्कृतिप्रति घृणाको भावना नराख्नु लेखकको सबल पक्ष रहेको उनको भनाइ छ।

आफ्नो पुस्तकको विषयमा सोधिएका प्रश्नहरुको उत्तर दिँदै लेखक राईले माङखिम शब्दलाई नेपाली शब्दकोशले समेट्नुपर्नेमा जोड दिए। ओझेलमा परेका व्यक्तिका योगदान तथा विषयलाई माङखिममार्फत् दस्तावेजीकरणको प्रयास गरेको उनले बताए।

पुस्तकमा २००७ सालको क्रान्तिका योद्धा रामप्रसाद राईको जीवनी पनि समेटिएको छ। रामप्रसादले राजनीतिक तथा सामाजिक परिवर्तनमा पुर्‍याएको योगदानको कदर गर्दै राज्यले उनलाई सम्मान दिनुपर्ने धारणा लेखकको छ। जनस्तरबाट सम्मानका लागि आफूले उनको विषयमा आफूले खोजेर प्रस्तुत गरेको बताए। राष्ट्रपती विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, रामप्रसादको योगदानबारे जानकार रहेको उल्लेख गर्दै नयाँ सरकारले उचित सम्मान दिने विश्वास व्यक्त गरे।

पुष्पा लोहोरुङ प्रकाशक रहेका माङखिममा रामप्रसादको रामकहानी, त्यस बेलाका रत्न, सुन्तलाबारीमा बूढीआमा, फलासिंहको फैलावट, धर्मगुरुको गाउँ, छापामारलाई बयान, शाकाहारी माङमालुङ, कोसी बौलाएको बेला, घरको पिङलगायत १६ आलेख समेटिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.