फागुन ७ को सार्थकता
नेपालको लोकतान्त्रिक अभ्यासको ढोका खुलेको दिन थियो, ७ फागुन ००७। यो ऐतिहासिक दिन फेरि आएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक घुम्ती मानिएको यो दिन अब नितान्त औपचारिक बन्दै गएको छ। केही वर्षयता फागुन ७ आएपछि एउटा गम्भीर प्रश्न उठ्ने गर्छ। ७ फागुन बिदा कि दिवस ? प्रजातन्त्र दिवस मनाइँदै गर्दा यो प्रश्नमाथि गम्भीरतासाथ घोत्लिनु आवश्यक छ।
हामीले पटकपटक लोकतान्त्रिक आन्दोलन लडेका छौं र पटकपटक सफलता प्राप्त पनि गर्यौँ, जसको परिणति त्यस्ता सफलतासँग जोडिएका दिवसहरू पनि अनेक छन्। वर्षैभरि अनेक दिन औपचारिकताका लागि दिवस मनाइनुभन्दा एउटा महत्वपूर्ण तिथिलाई राष्ट्रिय दिवसका रूपमा घोषणा गर्नु उचित हुन्छ। राष्ट्रिय पर्व घोषणा गर्ने र त्यसलाई औपचारिक वा बिदा मनाउने पर्वका रूपमा मात्रै सीमित गर्दा त्यसको ऐतिहासिक महत्व र गरिमाको अवमूल्यन हुन्छ।
कुनै पनि समाज वा राष्ट्रका लागि इतिहासको विशेष महत्व हुन्छ। इतिहासको पाठ सही ढंगले सिक्न सके त्यसबाट पूरै समाज लाभान्वित हुन सक्छ, यद्यपि हाम्रो सन्दर्भमा इतिहासका उपलब्धिका बखान त गरिन्छ, तर व्यवहारमा उतार्ने विषयमा हामी चुक्छौं। विगतको स्मृति गर्ने, त्यसको गुणगान गाउने पक्षमा हामी कन्जुस्याईं गर्दैनौं, तर त्यसबाट सिक्नेभन्दा औपचारिकतामै रमाउने प्रवृत्ति बलशाली हुँदै जाँदा ७ फागुनको सान्दर्भिकताको खोजी हुन थालेको छ।
नेपाली राजनीतिमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या यसका पात्रहरूका अभ्यास र आचरणमा छ। ठूलाठूला राजनीतिक संघर्षका विगत छन् हामीसँग। ऐतिहासिक तथा राजनीतिक उपलब्धिका लागि लडेका अन्दोलनका अनेक दृष्टान्त छन् तर लोकतन्त्र प्राप्त गरिसेकेपछि त्यसको मूल्य, मान्यता र आचरण अपनाउने कुरामा नेतृत्व चुक्दै आएको छ। लोकतान्त्रिक मूल्य र आचरणमा चुक्दा त्यसको सोझो असर राजनीतिक स्थायित्वमा परेको छ।
राजनीतिक स्थायित्व नहुँदा त्यसले समग्र नेपाली समाजलाई लाभान्वित गर्न सकेको छैन। हामीले धेरै ठूलो राजनीतिक फड्को मार्दै नयाँ पद्धति स्थापना गरेका छौं। तर अझै राजनीतिक स्थिरता र स्थायित्व कायम गर्ने कुरा चुनौतीकै रूपमा रहेको छ। गर्न सकेका प्रजातन्त्र वा लोकतन्त्र जे भनिए पनि ती आन्दोलनको मर्म र मूल्यअनुसार राजनीतिक नेतृत्व व्यवहारमै हिँड्न नसक्नुले यो अवस्था आएको हो। त्यसकारण प्रजातन्त्र दिवस मनाइँदै गर्दा राजनीतिक नेतृत्वले भाषण मात्रै गर्ने होइन, यसबीच यसको विकासका क्रममा भएको त्रुटि/कमजोरीमाथि गम्भीर समीक्षा गर्दै सच्याउने अठोट लिनुपर्छ।
लोकतान्त्रिक उपलब्धि संस्थागत हुने प्रक्रिया बढेको छ। लामो संक्रमणपछि मुलुकमा वाम गठबन्धनको बहुमत सरकार बनेको छ। ००७ साल फागुनमा प्रजातन्त्रको उदयदेखि अहिले वाम गठबन्धनको सरकार बन्दासम्मका झन्डै सात दशकको नेपाली राजनीति आन्दोलन र अस्थिरताको गोलचक्करमै रुमलियो। यसबीच हामीले राजासहितको र अहिले राजारहितको गणतन्त्रको अभ्यास पनि थालिसक्यौं।
फागुन ७ को उपलब्धि राजासहितको प्रजातन्त्रको थियो र त्यसबखत त्यो उपलब्धि अत्यन्तै महत्वपूर्ण थियो। राजनीति अग्रगामी बाटोमा बढ्नुपर्छ। त्यस अर्थमा अहिले प्राप्त गणतन्त्रको संस्थागत विकास गर्ने कुरा हाम्रो प्रमुख लक्ष्य हो। यद्यपि यसको अर्थ लोकतन्त्र र गणतन्त्रको जग बनेको फागुन ७ को सान्दर्भिकता र महत्व कम छैन।
७ फागुन ००७ सालमा प्राप्त प्रजातन्त्र, ०४६ मा त्यसको पुनर्स्थापना, ०६३ मा पुनः लोकतन्त्रको स्थापना र त्यसपछि गणतन्त्रको स्थापना हुँदै गर्दा ती सबै उपलब्धिले पूर्णता पाएका हुन्। यी उपलब्धिलाई संस्थागत गर्दै राजनीतिक स्थायित्व अनि आर्थिक समृद्धि दिशातर्फ मुलुक बढ्नुपर्छ। अनि मात्रै यस्ता राष्ट्रिय दिवसहरू मनाएको सार्थकता प्रमाणित हुन्छ।