तीन संगीतकर्मीलाई ‘कृपा संगीत रत्न’
काठमाडौं : कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ रचनाकार तथा साहित्यकार रत्नशमशेर थापा र वरिष्ठ गायक योगेश वैद्यलाई सम्मान गरेको छ ।
फाउन्डेसन अध्यक्ष शिवकुमार लामिछाने, गायक प्रेमध्वज प्रधान, फाउन्डेसन संरक्षक वराह ज्वेलरी प्रमुख विष्णुमाया लामिछाने र वराह ज्वेलरी धरान प्रमुख मानबहादुर विकले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
मिर्गौलामा समस्या आएपछि अमेरिकामा उपचार गराइरहेका गायक ओमविक्रम विष्टलाई फाउन्डेसनले ५१ हजार रुपैयाँ प्रदान गरेको थियो । सहयोग उनका छोरा शिखरविक्रमले ग्रहण गरेका थिए । गायक विष्टले भिडियोमार्फत उपस्थितलाई सम्बोधन गरेका थिए ।
कार्यक्रमम गायक शिव लामिछानेले गीत प्रस्तुत गरेका थिए । उनले रत्नशमशेर थापाद्वारा रचना गरिएको तथा स्वरसम्राट् नारायणगोपालद्वारा संगीत तथा स्वर दिइएको गीत स्वर्गकी रानी, शिव अधिकारी लिखित तथा वरिष्ठ संगीतकार नातिकाजीद्वारा संगीत तथा योगेश वैद्यद्वारा स्वर दिइएको गीत सपना भुलाई सारा र एल्बर्ट सुब्बा लिखित, रोबर्ट सुब्बाद्वारा संगीतमा वरिष्ठ गायक ओमविक्रम विष्टद्वारा स्वर दिइएको गीत म मौनतामा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गायक ओमविक्रम विष्टको जन्मोत्सव केक पनि काटिएको थियो । सोही अवसरमा सगरमाथाको आरोहण गर्ने तयारीमा रहेका महिला पत्रकारको समूहलाई वराह ज्वेलरीको तर्फबाट नगद पाँच लाख प्रदान गरिएको थियो । आरोहणको तयारीमा रहेका महिला पत्रकार समूहमा रोशा बस्नेत, लक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य र देउराली चाम्लिङ रहेका छन् ।
फाउन्डेसनको पहिलो वार्षिकोत्सवकै अवसरमा ‘जय नेपाल’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ भने यसलाई शिव लामिछानेले गाएका छन् ।
सोही अवसरमा कृपा अन्प्लगडका आर्टिस्टलाई रोयल्टी प्रदान गरिएको थियो भने पहिलो र दोस्रो सिजनको सफलतापछि तेस्रो सिजन छिट्टै आउने जानकारी पनि गराइएको थियो ।