सुटुक्क बालुवाटार छिरेर निस्किए उपेन्द्र यादव
काठमाडौँः नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको अन्तिम कसरत चलिरहेका बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सुटुक्क बालुवाटारमा पसेर बाहिरिएका छन् ।
सोमबार साँझदेखि एमाले र माओवादीबीच एकतालाई निचोड दिने गरी एकता संयोजन समितिको बैठक बसिरहेका बेला एक एमाले नेताको गाडीमा चढेर यादव बालुवाटार पुगेका थिए ।
एमाले नेता अग्नि खरेलसँगै बालुवाटार पुगेर अध्यक्ष यादव करिब पौने घन्टा बसेपछि त्यहाँबाट सुटुक्क बाहिरिएका छन् । दुई वाम घटकबीच एकता वार्ता जारी रहेका बेला यादवको बालुवाटार आगमनलाई अर्थपूर्णरुपमा लिइएको छ ।
यादव र वाम दलका नेताहरुबीच सरकार निर्माणबारे छलफल भएको स्रोतले जनाएको छ । तर यसबारे वाम घटकका नेताले केही कुरा खोलेका छैनन् । दुई वाम दलले फोरमलाई पनि सरकारमा ल्याउने कोशिश गरिरहेका छन् ।
यादव निकट स्रोतले उनी बालुवाटार गएको पुष्टि गरे भेटवार्ताको विस्तृत विरण भने खुलाउन चाहेन । सुरुमा एमालेको राजनीति गरेका यादव दोस्रो जनआन्दोलनपछि फोरम स्थापना गरेर सक्रिय राजनीतिमा छन् ।