एमाले–माओवादी एकतामा सहमति, नयाँ पार्टीको नाम नेकपा

एमाले–माओवादी एकतामा सहमति, नयाँ पार्टीको नाम नेकपा

काठमाडौँः नेपालका दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको हो ।

दुई दलबाट गठित एकता संयोजन समितिको करिब चार घण्टासम्म चलेको बैठकपछि पार्टी एकताका लागि सात बुँदे सहमतिपत्र हस्ताक्षर भएको हो ।सहमतिपत्रमा एमालेका अध्यक्ष ओली, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष पामदेव गौतम र ईश्वर पोखरेल तथा केन्द्रका अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा हस्ताक्षर गरेपछि बाहिरिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले दुईजना अध्यक्ष रहने गरी एकताको सहमति भएको बताए । 'नयाँ पार्टीमा दुईजना अध्यक्ष रहने गरी हामीले सहमति जुटाएका छौँ', उले बैठकपछि पत्रकारहरुसँग भने,'बैठककको अध्यक्षता पनि ओलीजी र मैले पालै पालो गर्नेछौँ ।'

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सहमतिका ७ बुँदा पढेर सुनाएका थिए। उनले सहमतिका बुँदा वाचन सक्ने बित्तिकै पत्रकारले प्रश्न तेर्स्याए- एकता कहिले गर्ने? आलोपालो नेतृत्वको कुरा के हो ? राष्ट्रपति, सभामुख, उपसभामुख लगायतको बाँडफाटका विषयमा के भयो? पत्रकारका प्रश्नको जवाफ एमाले महासचिव ईश्वर पोखरेलले दिए। उनले भने- ‘हाम्रो बीचमा जे सहमति भएको छ, औपचारिक ढंगमा लिखितरुपमा सार्वजनिक गरेका छौँ। यो समझदारी बाहेक कतिपय कामहरू गर्ने शिलशिलामा भोलि छलफल गर्दै टुंगो गर्दै जानुपर्ने हुन सक्छ। जे समझदारी गरिएको छ जस्ताका तस्तै प्रस्तुत गरिएको छ।‘
 
ओली र प्रचण्डसहितको एकता संयोजन समितिले एमालेले अपनाउँदै आएको “जनताको बहुदलीय जनवाद” अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा केन्द्रले पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता समान रहेको स्पष्ट पारेको छ ।

सहमतिमा एमालेको “जबज” र केन्द्रको “माओवाद र एक्काइसौँ शताब्दीको जनवाद” सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने तथा उक्ता आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने उल्लेख छ ।

प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिकरुपान्तरणमार्फत् समाजवादको आधार निर्माण गर्ने सहमतिमा जनाइएको छ ।

उक्त प्रारम्भिक आधारहरुमा एकता समितिका रहनुभएका  हस्ताक्षर गर्नुभएको छ ।

ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु

१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।

३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।

४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।

६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रीयता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.