धादिङमा बन्दको प्रभाव सामान्य
धादिङ : नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले आह्वन गरेको नेपाल बन्दको असर धादिङमा पनि देखिएको छ। जिल्ला सदरमुकामका पसलहरु बिहानैदेखि बन्द भएका छन् भने बिहानी सत्रमा संचालन हुने विद्यालय पनि बन्द भएका छन्।
सदरमुकाममा फाट्टफुट्ट रुपमा पसलहरु खुलेको र सवारीका साधनहरु चलेको भएपनि सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन पुरै बन्द छन्। बन्द सफल बनाउनको लागि सोमबार साँझ विप्लव कार्यकर्ताले मसाल जुलुस समेत निकालेपछि स्थानीयहरुमा बन्दको प्रभाव देखिएको हो।
बन्दको असर राजधानी जोड्ने पृथ्वीराजमार्गमा समेत परेको छ। राजमार्ग भएर गुड्ने सवारीका साधनहरु थोरै संख्यामा चलेका छन् भने बन्दको प्रभाव नगरी राजमार्ग क्षेत्रमा गुडेका सवारी साधनहरुलाई १५/२० वटाको समुह बनाइ राजमार्ग क्षेत्रका प्रहरी युनिटहरुले स्कर्टिङ गरेको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यलयले दिएको जानकारी अनुसार यो समाचार तयार पार्दासम्म बन्दका कारण धादिङ जिल्लाभर कुनैपनि अप्रिय घटना नभएको र राजमार्ग क्षेत्र तथा बजारक्षेत्रहरुमा प्रहरी गस्ती बढाइएको छ।