औद्योगिक नीति परिमार्जन हुन्छ : मुख्यमन्त्री पौडेल
हेटौंडा: प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गलत औद्योगिक नीतिहरु परिमार्जन हुने बताएका छन्।हेटौंडाबाट सञ्चालित अनलाई तुखबर डटकमको प्रथम वार्षिकउत्सव उद्घाटन गर्दै मंगलबार मुख्यमन्त्री पौडेलले उद्योगमैत्री नीति नियमहरु बनाइने बताएका हुन्।
गलत औद्योगिक नीतिकै कारण धेरै उद्योगहरु धरासायी भएको उनको भनाई छ।‘प्रदेशलई समृद्ध बनाउने पहिलो आधार उद्योग, व्यवसाय हो', उनले भने, ‘पर्याप्त औद्योगिकरण गर्न हामीले उपयुक्त वातावरण तयार गर्नुपर्छ।' त्यसको लागि बाधक बनेका ऐन नियमहरु परिमार्जन हुने पौडेलले प्रष्ट पारे।
उनले प्रदेश सरकार सञ्चालको लागि ऐन नियम नहुँदा समस्या परेको बताए। ‘हामी कहाँबाट काम सुरु गर्ने अन्यौलमा छौं', उनले भने, ‘दुई तीन महिनाभित्र फाष्टट्रयाकबाट ३०/३५ वटा कानून बनाएर नियमित काम सुरु गर्छौ।'
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले शान्ति सुरक्षा चुस्त बनाएर औद्योगिक बातावरण निर्माण गरिने बताए।साथै आर्थिक कारणले नै संघीयत कमजोर हुने अवस्था आउन नदिने समेत उनले बताए।
प्रदेश तीनका प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले सरकारले गर्ने विकास र समृद्धिको काममा आफूहरु हातेमालो गर्न तयार रहेको बताए। ‘हामी गलत कुराको विरोध गर्छौ, तर प्रतिपक्षमा भएपनि यो प्रदेशको विकास र समृद्धिको लागि हामी सहकार्य गरेर अघि बढ्छौं',उनले भने। कार्यक्रममा पत्रकार स्वागत नेपाल र शिव चौँलागाईलाई पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो।
कार्यक्रम उद्घाटन गर्दै प्रदेश तीनका मुख्य मन्त्री डोरमणि पौडेल। तस्बिर : कृष्ण सारु मगर