पूर्व मन्त्री अग्नि खरेल महान्यायाधिवक्ता नियुक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार महान्यायाधिवक्तामा पूर्वमन्त्री अग्नि खरेललाई नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम खरेललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। वरिष्ठ अधिवक्ता खरेल झापाको गौरादह निवासी हुन्। खरेलको बार काउन्सिलमा कानुन व्यवसायी लाइसेन्स नम्बर १४९४ रहेको छ।
खरेल २०६४ र २०७० को संविधानसभा सदस्य रहेका थिए। प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा खरेल कानुनमन्त्री थिए। हाल खरेल एमालेका पोलिटब्यूरो सदस्यसमेत हुन्। उनी नेपाल बारएशोसिएसनका पूर्व महासचिवसमेत हुन्। प्रधानमन्त्री शेरवहादुर देउवाले नियुक्त गरेका महान्यायाधिक्ता वसन्तराम भण्डारीको राजीनामासमेत स्वीकृत भएको छ।
महान्यायाधिवक्तामा नियुक्तिपछि खरेलले न्याय प्रसासनमा आमुल परिवर्तनको खाँचो रहेको बताउँदै आधुनिकिकरण र प्रविधियुक्त बनाउने कुरामा जोड दिइने बताए।
आगामी भदौ १ गतेदेखि फौजदारी संहितासहित तीनवटा नयाँ कानुन लागू हुने चरणमा रहेको भन्दै यस्को कार्यान्वयनका लागि थुप्रै कार्यक्रम ल्याउन आवश्यक रहेको पनि खरेलले बताए। ‘कानुन कार्यान्वयनमा चुनौती धेरै छन्। यसका लागि प्रभावकारी कार्यक्रम र योजना ल्याउनुपर्ने हुन्छ,’ खरेलले अन्नपूर्ण पोष्टसँग भने।
उनले महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका विकृति र व्यथितिमा छलफल गरेर टुंगो लगाइने बताए। ‘गम्भीर खालका विकृती छन् भने कारबाहीमा जानुपर्ने पनि हुनसक्छ,’ खरेलले भने।