शताब्दी पुराना तस्बिर प्रदर्शन
सौराहा : चितवनमा बस्ती बसाेबासकाे सुरुवात थारु समुदायबाट भएकाे मानिन्छ । उक्त इतिहासलाई चित्रण गर्ने शताब्दी पुराना चित्र संकलन गरी प्रदर्शनमा राखिएको छ।
सौराहामा रहेको थारु सांस्कृतिक सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रमा वर्षौं पुराना ऐतिहासिक तस्बिरहरु प्रर्दशनमा राखिएको छ।सङ्ग्रहालयमा थारु समुदायसँग जोडिएका १०६ वर्ष पुरानो तस्बिरहरु राखिएको छ ।
थारु सङ्ग्रहालयमा आउने पर्यटकको आकर्षणका लागि पुराना तस्बिर राखिएको हो। रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सङ्ग्रहालयमा पुरानो फोटो प्रदर्शनीको उद्धघाटन गरे ।सोमबारदेखि सबैका लागि हेर्ने व्यवस्था मिलाइएको छ।
सन् १९११ को दशकमा शाही परिवारले चितवन अाएर सिकार गरेका तस्बिर यहाँ छन् । त्यसबेला थारु समुदायले नियन्त्रणमा लिएर पालेका(कैदी हात्ती) ,जंगली हात्तीमा चढेर राणाकालीन तथा शाहवंशीय राजाहरुका दुर्लभ तस्बिरहरु हेर्न सकिन्छ। सङ्ग्रहालयमा थारु जातीको रीतिरिवाज, रहनसहन तथा थारु संस्कृति झल्कने विभिन्न सामग्रीहरु रहेका छन्। संग्रहालयका संरक्षक वासुदेव चाैधरीले भने,' लाेप हुन लागेको र हराउँदै गएकाे संस्कृतिबारे नयाँ पुस्तालाई बुझाउन सजिलाे हुनेछ।'
ब्रिटिस तथा राणाकालीन राजाहरुले चितवनको जंगलमा शिकार गरेको १०७ वर्ष पुरानो तस्बिर संकलन गरिएको हो। मलेरिया उल्मुलन हुनु अघिका र उल्मुलन भएपछि चितवनको अवस्था देखिने तस्बिर राखिएका छन्।
पहिलो चरणमा ४८ वटा ऐतिहासिक महत्वका बोकेका तस्बिरहरु समावेश गरिएका छन्। करिब एक सय फोटो राख्ने योजना रहेको संङ्ग्रहालयका अध्यक्ष विरेन्द्र चौधरीले बताए। धेरै वर्ष अघि यहाँ कस्तो थियो भन्ने फोटोबाट सजिलै थाहा पाउन सकिन्छ, उनले भने ‘ इतिहासबरे धेरै पछिसम्म काम लाग्ने ठानेका छौ।' दीर्घमान फाउण्डेसनका किरण चित्रकार र अष्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयले उपलब्ध गराएको हो। तस्बिर खिच्नका लागि निषेध गरिएको छ।
राष्ट्रिय निकुञ्ज स्थापना अघि राजाहरु सिकार गर्न आउँदाका तस्बिर संकलन गरिएको छ। राजा र राणा प्रधानमन्त्रिका तस्बिर देख्न सकिन्छ। चितवनको इतिहासबारे जानकारी गराउन तस्बिर राखिएको छ। औलो उन्मुलन हुनु अघि र राप्ती दुन परियोजनापछि बस्ती विकासका तस्बिर संकलन गरेर प्रदर्शनका लागि राखिएको छ।
थारु भाषा र संस्कृतिको अनुसन्धान गरिरहेका अमेरिकी अनुसन्धनकर्ता टम रोवर्टसनले चितवनको इतिहाससँग थारु समुदायको इतिहास जोडिएको बताए। ‘ चितवनको इतिहास थाहा पाउन थारु बरे जान्न जरुरी छ , त्यसको लागि यी फोटा उपयोगी छन्, टमले भने ‘ यो सुरुवात मात्रै हो पुरानो फोटो संकलनको अभियान अझै बाँकी छ।'
राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा हरियाली युवा क्लब बछौलीले २०५८ सालमा सो सङ्ग्रहालय स्थापना गरी सञ्चालनमा ल्याएको हो। सङ्ग्रहालयमा थारु संस्कृति, भेषभूषा, रीतिरिवाजसँगै थारु समुदायले प्रयोग गर्ने सामग्रीहरु सङ्ग्रहित गरिएको छ।
थारु समुदायले विवाह, मृत्यु संस्कारदेखि दैनिक काममा प्रयोग गर्ने ढिँकी, जाँतो गाडालगायतका सामग्रीहरु राखिएको छ। सङ्ग्रहालयमा परम्परागत पोशाकमा सजिएका थारु पुरुष र महिलाको मूर्ती समेत राखिएका छन्।