अष्ट्रेलियन राजदुत र मुख्यमन्त्रीबीच भेटघाट
हेटौँडा : प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल र अष्ट्रेलियन राजदुत पिट वडबीच बुधबार बिहान भेटवार्ता भएको छ। मुख्यमन्त्रीको कार्यालयमा भएको भेटवार्तामा राजदुत वडले प्रदेश सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएको मुख्यमन्त्री कार्यालयका सचिव रमेश शिवाकोटीले बताए। राजदुत वडले संघीय नेपालको पहिलो मुख्यमन्त्री भएकोमा पौडेललाई बधाई दिएका थिए।
भेटको क्रममा अष्ट्रेलिया र प्रदेश सरकारबीच सहकार्य सहितको कामहरु गर्ने विषयमा छलफल भएको सचिव शिवाकोटीले जानकारी दिए। मुख्यमन्त्री पौडेलले अष्ट्रेलियाले नेपाललाई हालसम्म गरेको सहयोगको प्रशंसा गरेका थिए।
नेपाल पहिलो पटक संघीय अभ्यासमा रहेको भन्दै मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले गरेको पहिलो निर्णय अन्तर्गतको टेक्निकल विषयको शिक्षालय स्थापनाको लागि अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।
साथै उनले नेपालमा गुणस्तरीय उच्च शिक्षा अध्यापनका लागि शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह समेत गरेका थिए। भेटमा अष्ट्रेलियन राजदुत वडले आफूहरु नेपाल सरकार र प्रदेश सरकारसँग शिक्षा, स्वास्थ्यसहितका अन्य विषयमा काम गर्न तयार रहेको बताए। भेटमा प्रदेश तीनका मुख्य सचिव रेश्मिराज पाण्डेको सहभागीत थियो।