सेनाको स्वास्थ्य शिविरमा सेवाग्राहीको घुइँचो (फोटोफिचर)
बर्दिबास : सेनाको मध्य पूर्वी हेडक्वाटरद्वारा धनुषाको धारापानीमा आयोजित स्वास्थ्य शिविरमा सेवा लिनेको घुइँचो लागेको छ । सेनाले भूतपूर्व सैनिकका परिवार र आम नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरेको हो ।
छाला, नाक, कान, घाँटी, आँखा, स्त्री रोग, लगायत विभिन्न रोगका २६ विशेषज्ञले शिविरमा स्वास्थ्य जाँच गरिरहेका छन् । फाल्गुण ६ गतेबाट सुरु शिविरमा महोत्तरी, धनुषा, सिरहा, सिन्धुली लगायत जिल्लाका एक हजार ६ सय ९५ जनाले स्वास्थ्य सेवा लिएको मध्यपूर्वी पृतना हेड क्वाटरका महासेनानी भोला थापाले बताए ।
उनका अनुसार शिविरमा २० जना रोगीको अपरेसन पनि गरिएको छ । शिविरमा डाक्टर, नर्स र मेडिकल स्टाफ गरी एक सय ३० जना खटिएका छन् ।
सेनाले आफ्नै मोबाइल गाडीमा एक्सरे, भिडियो एक्सरे, इन्डेसकोपी लगायतका उपकरणसहित सेवा दिँदा गरिब तथा विपन्न नागरिक दंग छन् ।
सेनाले संचालन गरेको स्वास्थ्य शिविरप्रति विश्वास भएरै सेवा लिनेको भिड लागेको उपचार गराउन आएकी अनिता परियारले बताइन् ।
शिविरमा स्वास्थ्य चेकजाँचका साथै बिरामीलाई निःशुल्क औषधी समेत वितरण गरिएको पृतना प्रमुख इश्वर हमालले बताए ।