विप्लवका कार्यकर्तामाथि कडा निगरानी

विप्लवका कार्यकर्तामाथि कडा निगरानी

काठमाडौं : गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ। पछिल्ला दिनमा भौतिक संरचनासहित व्यक्तिगत सम्पत्तिमाथि विप्लव नेतृत्वको माओवादीले आक्रमण गरी आतंक फैलाइरहेको छ।

गृहले विप्लवका कार्यकर्ता हिंसात्मक गतिविधिमा उत्रिएपछि उनीहरूलाई सभा, सम्मेलनलगायत गतिविधि गर्न नदिन र संगठित भएको पाइए तत्कालै पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

गृहले हिंसात्मक गतिविधिमा संलग्न भएको पाइए विप्लवका नेता–कार्यकर्तामाथि तत्काल मुद्दा चलाउनसमेत निर्देशन दिएको छ।

मंसिरमा भएका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला यो पार्टीका नेता–कार्यकर्ताले मुलुकका विभिन्न स्थानमा हिंसात्मक घटना गराई आतंक फैलाएका थिए।

केही समय साम्यजस्तो देखिएका उनीहरू पुनः भौतिक संरचना र भ्रष्टाचारीका नाममा व्यक्ति विशेषका सम्पत्तिमाथि आक्रमण गर्न थालेपछि गृहले उनीहरूमाथि कडा निगरानी गर्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ।

गृहले संविधान र कानुनविरोधी काम गर्ने समूह वा व्यक्तिका गतिविधि माथि कडा निगरानी गरिएको जनाएको छ। उसले त्यस्ता अवाञ्छित गतिविधिमा सक्रिय हुने जोकोहीमाथि मुद्दा लगाइने र निगरानीका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको जनाएको छ।

गृहप्रवक्ता नारायणप्रसाद दुवाडीले शान्ति सुरक्षामा खलल पार्न खोज्ने व्यक्तिउपर कडा निगरानी गरिएको बताए।

दवाडीले अन्नपूर्णसँग भने, ‘जनमानसमा अशान्ति र भय सिर्जना गर्न खोज्नेमाथि सुरक्षा कारबाहीसमेत हुन्छ।’ उनले एनसेललगायत संरचनामा आक्रमण गर्ने विप्लव कार्यकर्ताको खोजी भइरहेको जनाए।

गृहले मुलुकभरका विप्लवका नेता–कार्यकर्ताको अभिलेख बनाई सोहीबमोजिम निगरानी र आवश्यक कारबाही गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिएको छ।

विप्लव कार्यकर्ताले मंगलबार उपत्यकालगायत मुलुकका केही स्थानमा शंकास्पद वस्तु राखेर सर्वसाधारणलाई आतंकित गरेका थिए।

प्रहरीले फागुन ६ मा विराटनगरको गुद्री बजारबाट नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र पोलिटब्युरो सदस्य पदमबहादुर राईलगायत कार्यकर्तालाई नियन्त्रणमा लिएपछि उनीहरूको हिंसात्मक गतिविधिमा बढोत्तरी आएको हो।

शान्ति सुरक्षामा खलल पार्न खोज्ने व्यक्तिउपर उपर कडा निगरानी गरिएको छ। जनमानसमा अशान्ति र भय सिर्जना गर्न खोज्नेमाथि सुरक्षा कारबाहीसमेत हुन्छ। नारायणप्रसाद दुवाडी, गृहप्रवक्ता

विराटनगरमा आइतबार हुन तय भएको नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवक सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी ओली र राईसहित झन्डै २ सय नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो। नेकपाले माघ १५ देखि चैत २४ सम्म तीनमहिने मेची–महाकाली जागरण अभियान चलाइरहको छ।

निर्वाचनविरोधी हिंसात्मक गतिविधि चलाएका विप्लव माओवादीका केन्द्रीय नेता त्यसपछि सार्वजनिक भएका थिएनन्। उनीहरू भूमिगत शैलीमा गतिविधि सञ्चालन गर्दै आएका छन्।

पछिल्लो पटक प्रज्ञा भवनमा विद्यार्थीै संगठनले आयोजना गरेको एक समारोहमा सहभागी हुने कार्यक्रमसमेत विप्लवले अन्तिम समयमा स्थगन गरेका थिए। अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतभित्र मोसो दल्ने दुई कार्यकर्तालाई विप्लवको हातबाट सम्मान गराउन उक्त कार्यक्रम आयोजना गरिएको थियो।

नेकपाका कार्यकर्ताले मुलुकका अधिकांश स्थानमा रहेका एनसेलका टावर तथा संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनामाथि समेत आक्रमण गरेका थिए।

भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको घरमा समेत विप्लवका कार्यकर्ताले आक्रमण गरेका थिए।

समानान्तर सरकार चलाएको दाबी गर्दै आएको विप्लवनिकट कतिपय जिल्लाका कार्यकर्ताले खुला रूपमै स्थानीय सरकारलाई कर नतिर्न भन्दै आएका छन्।

गृह मन्त्रालयले विप्लवका कार्याकर्ताले हिंसात्मक बाटो रोजेपछि शान्ति–सुरक्षा कायम गर्न उनीहरूका गतिविधि नियन्त्रणमा लिई त्यस्ता व्यक्तिउपर तत्काल मुद्दा चलाउन सुरक्षा निकायलाई निर्देशन दिएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.