नयाँ एजेन्डा बनाउँदै नयाँ शक्ति
बुटवल : नयाँ शक्ति पार्टी नेपालको आगामी कार्यदिशा तय गर्ने संघीय परिषद्को विस्तारित बैैठक लुम्बिनीमा सुरु भएको छ। बैठकले अबको राजनीतिक कार्यदिशा, सांगठनिक स्वरूप, आर्थिक एजेन्डा तथा महाधिवेशनको मिति तय गर्नेछन्। आगामी ५ वर्षको राजनीति कार्यदिशा तय गर्न पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बैठकमा प्रतिवेदन पेस गरेका छन्। सोही प्रतिवेदनमा रहेर आगामी कार्यदिशा तय गर्ने नयाँ शक्तिका महाधिवेशन आयोजक समितिका सदस्य मनिकर कार्कीले जानकारी दिए।
बैठक उद्घाटन गर्दै संयोजक डा. भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने दाबी गरे। नयाँ विचारसाथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्ने उल्लेख गर्दै संयोजक भट्टराईले नयाँ विचारसाथ अगाडि बढ्न जरुरी रहेको दाबी गरे। मुलुकका दुई ठूला राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसलाई कोकाकोला र पेप्सीकोलाको संज्ञा दिँदै यी दुवै काम नलाग्ने बताए। ‘देशमा कांग्रेस र कम्युनिस्ट कोकाकोला र पेप्सीकोलाजस्ता ब्रान्ड बनेर बसेका छन्। कोकाकोला वा पेप्सी कुनैले पनि मानव शरीरलाई हित गर्दैन’, भट्टराईले भने, ‘हामीले जनतालाई हित हुने नयाँ पेय पदार्थ दिनुपर्छ।’
संयोजक भट्टराईले भर्खर सम्पन्न चुनावमा पुराना राजनीतिक शक्तिले जित हासिल गरे पनि उनीहरूले देशलाई निकास दिन नसक्ने दाबी गरे। केही वर्ष सत्तामा हालीमुहाली गरे पनि उनीहरूले मुलुकलाई दुर्घटनामा पार्ने खतरा रहेको उनको दाबी छ। भट्टराईले कांग्रेस र कम्युनिस्टको सट्टा नयाँ विचारसहित तेस्रो धु्रव खडा गर्ने बताए।
‘डाक्टरले मात्र क्यान्सर रोग पत्ता लगाउन सक्छ, सामान्य आँखा र सामान्य व्यक्तिले देख्न र पत्ता लगाउन सक्दैन। मैले देखिरहेको छु यी दलले मुलुकलाई पार लगाउँदैन’, नेता भट्टराइले भने, ‘यी दुई पार्टीले गर्न नसक्ने काम हामी गरेर देखाउँछौं।’
छिटो सत्तामा पुगिन्छ भन्ने सोचले पार्टीका केही नेता पलायन भएको उनले टिप्पणी गरे। ‘आफूलाई क्रान्तिकारी भन्नेहरू कमिसनखोरसँग भोजभतेर गरेका छन्’, भट्टराईले भने। बैठकमा बुधबारदेखि एजेन्डामा आधारित समूहगत छलफल सुरु भएको छ। फागुन १२ गतेसम्म चल्ने परिषद् बैठकले पार्टीको भावी रणनीति तथा कार्यक्रम तय गर्ने प्रदेश ५ का संयोजक दानबहादुर चौधरीले जानकारी दिए।