मस्ट वान्टेड कोरियाली पोखरामा पक्राउ
काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका दक्षिण कोरियाली नागरिक सेउङ वन ली पोखरामा पक्राउ परेका छन्।अवैध लागुऔषध कारोबार गरेको अभियोगमा लीविरुद्ध इन्टरपोल महासचिवालयले सन् २०१६ को सेप्टेम्बरमा रेडकर्नर नोटिस जारी गरेको थियो। अवैध तरिकाले फिलिपिन्सबाट दक्षिण कोरियामा विभिन्न प्रकारका लागुपदार्थ आयात गर्दै आएका उनी ६ दिनदेखि अध्यागमन विभागको हिरासतमा छन्।
नेपालमा ली पक्राउ परेको थाहा पाएपछि दक्षिण कोरियाबाट सुरक्षाकर्मीसहितको उच्चस्तरीय टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको स्रोतले जनाएको छ। उक्त टोलीले लीलाई सम्भवतः आगामी शनिबार सोल लैजाने छ।
अध्यागमन विभागका प्रवक्तासमेत रहेका निर्देशक राजुप्रसाद पौडेलले लीलाई फिर्ता पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए। ‘प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको हो’, उनले भने, ‘उनलाई दक्षिण कोरिया पठाउने प्रक्रियाबारे छलफल भइरहेको छ।’
फिलिपिन्समा रहेका एक व्यक्तिले २०७२ भदौ १६ गते लीलाई २५ ग्राम एमफेटामाइन नामक प्रतिबन्धित लागुऔषध कुरियरमार्फत दक्षिण कोरिया पठाएका थिए। लीले उक्त परिमाणको प्रतिबन्धित लागुऔषध निकटस्थ एक महिलालाई निःशुल्क दिएका थिए। उनी झन्डै १७ महिनादेखि इन्टरपोलको खोजी सूचीमा थिए। ड्र्यागन एयरको जहाजबाट गत पुस २६ गते नेपाल आएका लीलाई त्यसपछि प्रहरीले खोज्न थालेको थियो।
अवैध तरिकाले फिलिपिन्सबाट दक्षिण कोरियामा विभिन्न प्रकारका लागुपदार्थ आयात गर्दै आएका ली ६ दिनदेखि अध्यागमनको हिरासतमा छन्।
नेपाल आएर पोखरा घुम्न गएका लीले त्यहाँस्थित अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा (भिसा) थप गरेका थिए। इन्टरपोलले अध्यागमन विभागलाई लीबारे जानकारी दिनासाथ अध्यागमनले उनको भिसा रद्द गरेको थियो। प्रहरीले पोखराबाट पक्राउ गरी उनलाई फागुन ६ गते अध्यागमनमा बुझाएको हो। अध्यागमन र इन्टरपोलको डेटाबेस नजोडिएकाले रेडकर्नर नोटिसमा आएका कोरियाली नागरिक ली सहजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन सफल भएका थिए।
इन्टरपोलको कुनै पनि डाटा अध्यागमनका डाटासँग जोडिएको छैन। जसका कारण लीजस्ता रेडकर्नर नोटिस जारी भएका कतिपय अपराधी नेपाल प्रवेश गर्ने जोखिम बढ्दै गएको छ। इन्टरपोल र अध्यागमनको डाटा जोडिएको भए ली विमानस्थलस्थित अध्यागमन कार्यालयमै तत्काल पक्राउ पर्ने थिए। इन्टरपोलले तयार पारेको मोबाइल इन्टरपोल नेटवर्क डाटाबेस (माइन्ड) र फिक्स्ड इन्टरपोल नेटवर्क डाटाबेस (फाइन्ड) का डाटा अध्यागमन विभागको पहुँचमा छैन। यसमा पहुँच नहुँदा अध्यागमन विभागले इन्टरपोलको डाटाबेसमा रहेका संदिग्ध व्यक्तिको पहिचान गर्न सक्दैन।
माइन्डमा हराएका वा चोरी भएका राहदानी र हराएका सवारी साधनको विवरण राखिएको हुन्छ भने फाइन्डमा आपराधिक व्यक्तिको व्यक्तिगत विवरण (फोटो, औंठाछाप, डीएनए) राखिएको हुन्छ।