भाइरल नभएका एक गायक

भाइरल नभएका एक गायक

 

तिम्रो सामु सबै कुरा माइनर भइदियो
यो दिलमा तिम्रै नाम फाइनल भइदियो
मैले त खोजेकै हो रोक्न आफूलाई
के गर्नु तिम्रो याद भाइरल भइदियो...

युट्युबमा अप्लोड गरिएको दुई साता पनि नबित्दै यस गीतले झन्डै ३० लाख भ्युअर कमाएको थियो। यो संख्या बढेर अहिले सवा करोड नाघिसकेको छ। पार्टीदेखि सार्वजनिक गाडीसम्म यही गीत घन्किन थालेको छ। तन्नेरीहरूले यही गीत गुनगुनाउँदै हिँड्न थालेका छन्। सामाजिक सञ्जालमा यही गीतलाई लिएर थुप्रै कभर सङ बनिसकेका छन्।

यो गीतको शब्द, संगीत र स्वर मानसराजको हो। मनसराज अर्थात् मानसराज बोहरा।गीतका पारखी यी गायक सानो छँदा खुबै कविता लेख्थे। देशभक्तिका कविता। भन्छन्, ‘देशप्रेमका बारेमा लेख्थेँ। देशलाई माया गर्नुपर्छ भनेर लेख्थेँ।’ त्यस्ता कविताले साथीमाझ खुबै चर्चा पाउँथ्यो। कुनैकुनै कविताले त स्कुलमा हुने कार्यक्रममा पुरस्कार पनि जितेका थिए।

कविता लेख्दै र गाउँदै हिँड्ने मानसराजको गीत÷संगीतप्रतिको लगाव पनि उस्तै थियो त्यति बेला। टुटेफुटेको स्वरमा बाटाबाटा गीत गाउँदै हिँड्थे। ठूल्ठूलो स्वरले गीत गाउँदै हिँडेको सुनेर छेउछाउका मानिस उनलाई हेरिरहन्थे। त्यति बेला खुबै गाएको एउटा गीत याद छ उनलाई, ‘ओराली लागेको हरिणको चाल भो, बाँचुन्जेलसम्म पनि मरेकै हाल भो...’। रामकृष्ण ढकाल, नवीन के भट्टराई उनलाई मन पर्ने गायक हुन्। उनीहरूको धेरै गीत त मानिसलाई याद नै थियो।

घरमा बस्दा पनि उनी हरबखत गीत नै गुनगुनाइरहेका हुन्थे। खाना खाँदा होस् या अरू केही काम गरिरहँदा, गीत नै गाइरहेका हुन्थे। कहिलेकाहीँ त आमाले गाली पनि गर्थिन्, ‘पढ्नुपर्ने मान्छे जति बेला पनि गीत गाएरै बसेको छ।’ सुत्ने बेलामा मानसले कहिलेकाहीँ चिच्याएर गीत गाउँथे। त्यसैले बुवाले झपार्थे पनि। उनलाई त्यति बेला लागेको थियो, ‘भविष्यमा ठूलो गायककार बन्छु।’

म्युजिकतिरको उनको आकर्षणचाहिँ पहिलोपटक गिटार देखेपछि भएको हो। २०५४ सालतिरको कुरा हो। उनी त्यति बेला ८ कक्षा पढ्दै थिए। भक्तपुर घर भएका मानस बेलाबेला बाँसबारी, काठमाडौंस्थित मामाघर पुगिरहन्थे। एक दिन उनले मामाको कोठामा गिटार ठडिएको देखे। औंलाले त्यसका तारहरू चलाए। एउटा सुरिलो धुन उनको कानमा गुञ्जियो।

‘म्युजिकप्रति रुचि जगाउन मामाघरमा भएको गिटारले पनि निकै ठूलो भूमिका खेल्यो’, उनले भने, ‘गिटार बजाउनचाहिँ आउँदैन थियो मलाई।’ उनले मामालाई भनेका थिए, ‘यो गिटार मलाई दिनुस्।’ मामाले उनलाई एसएलसी पास भएपछि मात्र गिटार दिने बाचा गरे। मामाले नै गिटार दिन्छु भनेपछि उनले मामाघर जाँदैपिच्छे गिटार दिन्छु भन्नुभएको छ नि’ भन्दै सम्झाउन थाले।

गिटार पाउने समय गन्थे— अझै दुई वर्ष बाँकी छ।

२०५६ सालमा उनले एसएलसी पनि पास गरे। मामाले पनि उनलाई गिटार थमाइदिए। उनको खुसीको सीमा रहेन। त्यसपछि सुरु भयो उनको गायन यात्रा। एसएलसी दिएपछिका दुई वर्ष त गिटार बजाउने तरिका पढ्दैमा गयो उनको। गिटार बजाउने तरिका सिक्न पुस्तक पनि किनेका थिए। तर, केही गर्दा पनि गिटार बजाउन आएन।

पछि गायक मोहन भुसालको सहयोगमा गिटार बजाउन पनि सिके। त्यति बेला भुसाल भक्तपुरतिरै बस्थे। आफू पनि भक्तपुर नै बस्ने मानसराजले एक दिन भुसाललाई फोन गरेर भेट्ने जिज्ञासा व्यक्त गरे। भेट्ने टुंगो पनि भयो। मानस आफूले लेखेको गीत लिएर भुसालसमक्ष पुगेका थिए। ‘मैले राम्रो गीत लेखेको छु भनेर देखाउन लगेको थिएँ’, मानसले भने, ‘यो कविता मात्रै भयो, गीत भएन भन्नुभयो उहाँले।’

त्यति बेलैदेखि मानस अलि नजिक हुन थालेका थिए, भुसालसँग। भुसालले उनलाई गीतबारे धेरथोर बुझाएका पनि थिए।

गीतसंगीतबारे अलिअलि जानकारी भएपछि उनको गायक बन्ने सपना झनै मौलाएर गयो। २०६८ सालतिर उनले आफ्नै आवाजमा पहिलो गीत रेकर्ड गराए, ‘अरू केही चाहिँदैन भन्छ यो मन...।’ मानस भन्छन्, ‘त्यो गीत राम्रो चलेन।’ बीचमा अरू गीत पनि लेखिरहेका थिए। केही गीत चर्चित पनि भएका थिए। २०७३ सालमा उनले ‘भाइरल भइदियो’ गीत निकाले।

मानस गायक मात्र हैनन्, थिएटरमा अभिनय पनि गर्छन्। अभिनय उनलाई अर्काे मन पर्ने विधा हो। केही नाटकमा त उनले अभिनयसमेत गरिसकेका छन्। ‘रातचिन्र्या भानु’मा मानसको भूमिका देख्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.