'फेसन डिजाइनिङ भल्ग्यारिटी होइन'
नर्सिङ गर्दागर्दै छाडेर वा इन्जिनियरिङ सकाइसकेर बसेकाहरू पनि फेसन डिजाइनिङको कोर्र्स गर्न आउने गरेका छन्। यहाँसम्म कि आफैंले लगाउने लुगाको डिजाइन गर्न पनि यो कोर्स पढ्न आउनेको संख्या बढेको छ।हालै पत्रिकाको पोसाक डिजाइन गरेर चर्चामा रहेका फेसन डिजाइनर नवीन लुइँटेल फेसन डिजाइनिङको क्षेत्रमा एक उदीयमान युवा हुन्। यसभन्दा अगाडि चार्ट पेपर, कार्डबोर्डलगायतका कागजका प्रयोग गरेर ड्रेस बनाएको भए तापनि एउटै पत्रिका प्रयोग गरेर बनाएको यो पहिलो पटक भएको उनको दाबी छ। पत्रिकालाई पट्याएर जापानी प्रविधि ओरिगामीको प्रयोग गर्दै उक्त ड्रेस बनाउन नवीनलाई धेरै दिन लागेको थियो।
कुपन्डोलस्थित सेन्ट्रल फेसन हबका प्रबन्ध निर्देशक नवीन सम्पूर्ण फेसन डिजाइनरहरूको हकहितमा काम गर्ने संस्था नेपाल फेसन महासंघका अध्यक्षसमेत छन्। फेसन डिजाइनिङ कोर्समा युवापुस्ताको क्रेज र नेपालमा यसको भविष्यबारे अन्नपूर्णकर्मी रामकला खड्काले अध्यक्ष लुइँटेलसँग गरेको शैली-वार्ता :
डिजाइनरहरूको संघ हुँदाहुँदै पनि, नेपाल फेसन महासंघको आवश्यकता किन ?
फेसन डिजाइनिङ पढेका र यसमा काम गरिरहेका व्यक्तिहरू नेपाल फेसन डिजाइनर्स संघमा आबद्ध हुन्छन्। तर कुनै पनि पहिरन बनाउन आवश्यक अल्लो, छालालगायतका कपडा उत्पादन गर्ने किसानदेखि त्यसलाई प्रशोधन गरेर बजारमा ल्याउनेसम्म काम गर्ने कपडा कम्पनी, कपडासँग सम्बन्धित विभिन्न संघसंस्था र सरकारसँग सहकार्य गरेर नेपाली फेसन उद्योगलाई माथि उठाउने काममा पहल गर्न महांसघ स्थापना गरिएको हो।
देशको समग्र अर्थतन्त्रलाई माथि उठाउन फेसन उद्योगको भूमिका कस्तो रहन्छ ?
पश्चिमा मुलुकको ६० प्रतिशत अर्थतन्त्र फेसन उद्योगले नै धानेको हुन्छ। यस क्षेत्रमा भएको आम्दानीले देशको अर्थतन्त्रमा अवश्य पनि ठूलो टेवा पुर्याउँछ। तर हाम्रो देशमा सरकारले फेसनलाई उद्योगको रूपमा मान्यता नदिएकाले पनि समस्या देखिन्छ।
फेसन डिजाइनिङको क्षेत्र अन्य के कस्ता क्षेत्रसँग सम्बन्धित छ ?
डिजाइनरले तयार पारेको पोसाक र त्यसलाई लगाउने मोडलको मात्रै कुरा आउँदैन, हामीले ‘ग्रासरुट’ तहदेखि नै हेर्नु जरुरी हुन्छ। भोजपुरतिर किसानहरू जंगलको काँडामा पसेर दाँतले च्यातेर अल्लो निकाल्छन्। यसो गर्दा भर्खर ३०÷३५ वर्षको उमेरमा पनि उनीहरूको दाँत कालै भएर झर्न थाल्छ। यतिमात्रै होइन, काँडाले घोचेर उनीहरूको हातैभरि घाउ नै घाउ हुन्छ। एउटा सानो चिम्टी र पञ्जा नहुँदा उनीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको हुन्छ। सानातिना औजार दिएर पनि स्वास्थ्य समस्या धेरै हटाउन सकिन्छ कि भनेर हामीले विभिन्न संघसंस्थासँग पहल गरिरहेका छौं।
नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न महासंघले के गर्दैछ ?
विदेशमा बेलाबेलामा हुने फेसन सोलगायतका अन्य कार्य डिजाइनरहरूलाई पठाउने गरेका छौं। विदेशमा सो गर्दा हामीले विशेषगरी नेपालको सांस्कृतिक विविधतालाई केन्द्रबिन्दुमा राख्छौं। देशमा उत्पादन हुने वस्तु र यहाँको कलालाई थिम मानेर बनाइएको पहिरनको प्रवद्र्धन गर्ने गरेका छौं।
फेसन डिजाइनिङप्रति आम मानिसको धारणा कस्तो पाउनुभएको छ ?
फेसन डिजाइनिङ एउटा सिर्जना हो। यसमा व्यक्तिमा भएको सोचलाई पहिरनमा ढाल्ने गरिन्छ। त्यसैले फेसन डिजाइनिङ ग्ल्यामर र भल्ग्यारिटी होइन, क्रियटिभिटी हो भन्ने कुराको जनचेतना जगाउनु आवश्यक छ। काठमाडौंवासीले यसबारे केही बुझे पनि काठमाडौं बाहिरकालाई यसबारे चेतना जगाउन विभिन्न सोहरू गरिरहेका छौं। ‘यो क्षेत्रमा आउनुभयो भने स्वरोजगार बनेर आफ्नो जीविकोपार्जन गर्न सक्नुहुन्छ’ भन्दै मोफसलका कलेजहरूमा अभियान नै चलाउने सोच राखेका छौं। कतिपय विद्यार्थीले कलेजमा पढेर राम्रो अंक ल्याउन नसके पनि उनीहरूमा सिर्जनशीलताको कमी हुँदैन। त्यसैले ‘माक्र्स होइन, तपाईंको ट्यालेन्ट चाहिन्छ,’ भन्दै हामीले काठमाडौं बाहिरका युवालाई पनि यस क्षेत्रमा आकर्षित गराउन खोजिरहेका छौं।
डिजाइनर बेयर महँगा हुन्छन् भन्ने डरले कतिपय त बुटिक छिर्न नै डराउँछन् नि ?
हो, डिजाइनरले तयार पार्ने लुगा महँगा हुन्छन् भन्ने आतंक अझै पनि व्याप्त नै छ। पहिले आफूलाई लगाउन मन लागेको लुगा र आफ्नो बजेटको बारेमा डिजाइनरसँग राम्रोसँग छलफल गरेपछि मलाई लाग्छ, कुनै पनि डिजाइनरले आफ्नो ग्राहकलाई निराश बनाएर फर्काउन चाहँदैन होला।
डिजाइनरका लागि कपडाको समस्या कत्तिको पर्छ ?
हाम्रो देशमा कपडा उद्योग त्यति धेरै र राम्रा पनि छैनन्। त्यसैले हामीले धेरैजसो भारतीय र चिनियाँ बजारमा नै निर्भर रहनुपर्ने हुन्छ। केहीले कोरियन कपडाहरू पनि मगाउँछन्। सिस्नो, अल्लोलगायतका नेपाली उत्पादनलाई हामीले ‘स्पेसियल फेब्रिक’का रूपमा लिने गरेका छौं। यस्ता वस्तुको अझै ‘मास प्रडक्सन’मा जान सकिएको छैन।
नवीन लुइँटेल
गाउँघरमै पाइने ह्यान्डलुम र पावर लुममा बुनेर त्यति कपडा निस्कँदैन। त्यसैले कहिलेकाहीँ सांस्कृतिक थिम भएको बेलामा मात्रै यस्ता कपडा प्रयोग गरिन्छ। अझै भन्नुपर्दा यस्ता वस्तुको प्रयोग लुगामा भन्दा ह्यान्डिक्राफ्टको सामानमा बढी गरिन्छ। सिस्नोको कोट र ब्लेजर बनाउन सकिन्छ। विशेषगरी यस्ता वस्तुको पश्चिमी कपडाहरूमा फ्युज गरेर बनाउँदा लुगा अझै सुन्दर देखिन्छ। यस्ता लुगाको मूल्य पनि हुन्छ।
फेसन डिजाइनिङ कोर्सप्रतिको आकर्षण कस्तो छ ?
प्लस टु होस् या स्नातक गरिरहेका व्यक्तिहरू पनि दिनको केही घन्टा मिलाएर यो कोर्स गर्न आउँछन्। नर्सिङ गर्दागर्दै छाडेर वा इन्जिनियरिङ सकाइसकेर बसेकाहरू पनि फेसन डिजाइनिङको कोर्र्स गर्न आउने गरेका छन्। यहाँसम्म कि आफैंले लगाउने लुगाको डिजाइन गर्न पनि यो कोर्स पढ्न आउनेको संख्या बढेको छ। पढाइ छाडेको करिब २२ वर्षपछि पनि एक गृहिणी आएर यो कोर्स गरेर हाल भक्तपुरको लोकन्थलीमा बुटिक नै खोल्नुभएको छ। फेसन डिजाइनिङको कोर्स गरिसकेपछि अरूको जागिर कुरेर बस्नु पर्दैन। बुटिक वा अन्य इन्स्टिच्युट खोलेर पनि स्वरोजगार बन्न सकिन्छ। हाम्रा विद्यार्थीमध्ये धेरैले हेटौंडा, सिन्धुली, हेटौंडालगायतका ठाउँमा गएर बुटिक खोलिसकेका छन्। त्यस्तै धेरैले सिनेमा र म्युजिक भिडियोमा पनि काम गर्दैछन्।
नेपालमा फेसन डिजाइनरको भविष्य कस्तो देख्नुभएको छ ?
फेसन डिजाइनर भन्नेबित्तिकै सबैले बुटिक नै खोलेर बस्नुपर्छ भन्ने पनि छैन। अहिले विभिन्न क्षेत्रमा उहाँहरूलाई काम गर्ने अवसर छ। हाल नेपालमा गार्मेन्ट र कपडा उद्योगहरू विस्तारै बढ्दै गएका छन्। त्यसैगरी ड्रेसका सोरुमहरू खोल्ने क्रम पनि बढ्दो छ। यस्ता सोरुमलाई कसरी सजाउने, कस्तो रङ लगाउने, डमी कहाँ, कसरी राख्नेलगायतका विषयमा काम गर्ने ‘भिजुयल मच्र्यानडाइजर’को रूपमा काम गर्न सकिन्छ। त्यस्तै, गार्मेन्टमा ग्राहकसँग डिल गर्ने, अर्डर लिने, स्याम्पल पास गरेर रेट फिक्स गर्नेलगायतका काम गर्ने एपेरल मर्चेन्डाइजर, प्रडक्सन म्यानेजर, क्वालिटी म्यानेजरलगायतका पदमा पनि बसेर फेसन डिजाइनरले काम गर्न सक्छन्। यो क्षेत्रमा लागेर नाम कमाउने युवायुवतीलाई पैसा कमाउन विदेश पलायन हुनै पर्दैन। विदेश गए पनि राम्रो तलबमा धेरै काम पाइन्छ।
यो पनि पढ्नोस : फेसन रहर