फेसन रहर
फेसन डिजाइनर बन्ने सपना बोकेर डिजाइनिङ इन्स्टिच्युट धाउनेको जमात पछिल्लो समय बढेको छ । यसरी धाउनेमध्येकी एक हुन् ललितपुर इमाडोलकी २२ वर्षीया निर्जला थापा । उनी प्रत्येक दिन फेसन इन्स्टिच्युट धाउँछिन् । उनको एउटै सपना छ, फेसन डिजाइनर बन्ने ।
१५ महिनाको कोर्सका लागि ६÷७ महिनादेखि इन्स्टिच्युट धाउँदै गरेकी निर्जला यसमा राम्रो सम्भावना देख्छिन् । यो पेसामा लाग्दा महिला आत्मनिर्भर बन्न सक्ने र आफ्नो छुट्टै पहिचान बनाउन सक्ने उनको विश्वास छ । प्रबल गुरुङ फेसन डिजाइङबाटै संसारभर चिनिन थालेपछि यो पेसामा युवा पुस्ताको आकर्षक झनै बढेको हो ।
फेसन डिजाइन एक किसिमको कला हो । यो पेसा ग्ल्यामरस फिल्ड भएका कारणले पनि युवा पुस्ताको आकर्षण बढेको हो । यो पेसामा राम्रो स्कोप देख्छन् उनीहरू । सानेपाकी २६ वर्षीया नीता आचार्य पनि राम्रो फेसन डिजाइनर बन्न चाहन्छिन् । उनी फेसन डिजाइनमा ठूलो सम्भावना देख्छिन् । ‘तर यो पेसा त्यत्ति सजिलो भने छैन’, नीता भन्छिन्, ‘विवाहित महिलाको लागि त झनै सहज छैन, समय पैसा र सिर्जनशीलता तीनै चिज आवश्यक पर्छ ।’ सुरुसुरुमा सिक्दा निकै गाह्रो भएको अनुभूति उन सुनाउँछिन् । कल्पनाशीतला र सिर्जनशीलता दुवै चाहिने उनी बताउँछिन् । तीव्र इच्छा शक्ति भएको व्यक्तिले मात्रै यो पेसामा स्थान बताउन सक्ने उनको मत छ ।
सानेपामा उनको रेडिमेट लुगा पसल छ । त्यहाँ रेडिमेट वेस्टर्न पहिरनहरू, आफैंले बनाएका लेहेंगा, गाउनहरू ह्यांगर र डमीमा सजाइएका थिए । ‘डिजाइनर भन्नेबित्तिकै गाउन, लेहेंगा चोलो बनाउँछन् भन्ने सोच मानिसमा छ । तर म त्यसमा मात्र सीमित हुन्न । मलाई वेस्टर्न पहिरनमा नेपाली कल्चरलाई मिक्स गरेर लुगा बनाउन मनपर्छ ।’
आजभोलि नीतालाई पार्टी र विशेष पर्वमा पहिरिने गाउन र लेहेंगाको बढी अर्डर आउन थालेको छ । विवाहअघि फेसन डिजाइनर बन्ने कुनै सोच नभएकी नीतालाई बिहेपछि भने केही गर्नुपर्छ भन्ने सोच आयो । विवाहअगाबै ब्युटिपार्लरको कोर्स गरेकी नीता भन्छिन्, ‘बाहिर हिँड्दा ठाँटिएरै हिँड्न रुचाउँछु ।’
‘फेसन एरा,’ ‘मुडस् फेसन रनवे २०१७’ र भर्खरै भ्यालेनटाइन सोमा आफ्नो क्षमता देखाइसकेकी नितालाई स्टेजमा कार्यक्रम प्रस्तोताले डिजाइनर नीता आचार्य भनेर सम्बोधन गर्दा संसारै जिते जस्तो लाग्छ ।
नीताले सरकारी विद्यालयमा पढिन् । आफ्नो अंग्रेजी अलि कमजोर लागेको छ उनलाई । सुरुमा यो पेसा अंग्रेजी भाषा जान्नेले मात्रै गर्ने हो कि जस्तो लाग्थ्यो नीतालाई । ‘तर, मैले हिम्मत हारिनँ । अंग्रेजी भाषा पनि सिक्दैछु । आई ह्याब कन्फिडेन्ट ।’ उनले उत्साहित हुँदै सुनाइन् । उद्यमशीलता रुचाउने नीता सानो व्यवसायबाट काम सुरु गर्नु पर्ने कुरामा विश्वास गर्छिन् । भन्छिन्, ‘सानो प्रयास नै भोलि ठूलो बन्ने हो ।’
फेसन डिजाइनिङ भन्नेबित्तिकै राम्राराम्रा लुगा बुझिए पनि यसमा ग्राफिक डिजाइनदेखि हेयर डिजाइनिङ्, मेकअप, फोटोग्राफी, मोडलिङ, कोरियोग्राफी, र्याम्प वाकिङलगायत विषयहरू समावेश हुन्छन् । फेसन डिजाइनिङको कोर्स पढ्दा यी सबै विषयको पढ्नुपर्छ । यो विषयको अध्ययन १२ कक्षा पढिसकेपछि मात्रै पढ्दा राम्रो हुने नीताको सुझाव छ ।
फेसन डिजाइनिङ भन्नेबित्तिकै राम्राराम्रा लुगा बुझिए पनि यसमा ग्राफिक डिजाइनदेखि हेयर डिजाइनिङ, मेकअप, फोटोग्राफी, मोडलिङ, कोरियोग्राफी, र्याम्प वाकिङलगायत विषय समावेश हुन्छन् ।
आईईसी कलेज अफ आर्ट एन्ड फेसन इन्स्टिच्युटको कक्षा कोठामा स्पाइनल हेयर कट फिजाउँदै टाइट जिन्स र लुज टिसर्टमा लिना गुरुङलाई भेट्दा उनी आफ्नो नयाँ डिजाइनलाई स्केचमा उतार्न कलम चलाइरहेकी थिइन् । सोह्रखुट्टे बस्दै आएकी २३ वर्षीया लिना प्राइम कलेजमा ब्याचलर पढ्दैछिन् । उनको फेसन डिजाइनिङ सिक्न विदेश जाने इच्छा छ । ‘नेपालमा फेसन डिजाइनिङ भन्ने बित्तिकै कसरी लेहेंगा र गाउन बनाउने भन्ने मात्र सिकाइन्छ’, उनले भनिन्, ‘म केही फरक गर्न चाहन्छु ।’ नेपालमा फेसन डिजाइनिङको पेसा मौलाउँदै भए पनि सोचेअनुसार विकास हुन नसकेको लिनाको जिकिर छ ।
‘म डिजाइनिङमा जुन क्रिएटिभिटी दिन चाहन्छु, त्यो नेपालमा अहिले सम्भव छैन । विदेश जान खोज्दैछु । त्यहाँ सिकेर नेपालमा नयाँ कुराको थालनी गर्न चाहन्छु’ उनले गइन् । भर्खरै कोर्स सिक्दै गरेको र पूरा भएपछि आफैंले डिजाइन गरेको लुगा नेपालका ठूला ठूला हस्तीले लगाएको हेर्न चाहेको उनले बताइन् । भन्छिन्, ‘फेसन डिजाइङ सिक्न आउने धेरैले बीचैमा छाडेर हिँडेका छन् । तर म पूरै कोर्स सकाउँछु । यसैमा नाम कमाउँछु ।’
झट्ट सुन्दा फेसन डिजाइनिङ मोर्डन पेसा जस्तो लाग्छ तर यो हाम्रो सामाजिक संस्कृति र परम्परासँग सम्बन्धित रहेको उनीहरूको धारणा छ । हामी कस्तो समाजमा बस्छौं ? त्यहाँ कस्ता कस्ता पारम्पारिक पहिरन छन् ? समयअनुसार कस्ता भेषभूषामा मानिसहरू आकर्षित हुन थालेका छन् ? यी विषयहरूले नयाँ नयाँ डिजाइनका लुगाहरू बन्ने गर्छन् । नेपालमा प्रायः भारतीय, कोरियन र वेस्टर्न डिजाइनका पहिरन बढी रुचाइन्छ । फेसन डिजाइनरहरूले पनि यसमा नै बढी पहिरनहरूको डिजाइन गरेको पाइन्छ, तर आजभोलि नेपाली पहिरनलाई पनि फ्युजन गरेर नयाँ डिजाइन गर्ने चलन मौलाउँदै गएको छ । जसलाई राम्रो भन्छन् उनीहरू ।
नेपालमा फेसन डिजाइन मौलाएको लगभग डेढ दशक मात्र भयो । यद्यपि फेसिनेवल पहिरनमा सजिने जमात राणाकालीन समयका तस्बिरहरूमा पनि देख्न सकिन्छ । फरक यति हो कि आजभोलि आम मानिस पनि आफूले लगाउने पहिरनमा विशेष ध्यान दिन्छन् । आखिर मीठो खाने र राम्रो लगाउने इच्छा सबै मानिसमा हुन्छ नै ।
यो पनि पढ्नोस् ः फेसन डिजाइनिङ भल्ग्यारिटी होइन