स्विफ्टको स्वर
ग्रामी अवार्ड पुरस्कार जित्न सफल गायिका टेलर स्विफ्टले सन् २००६ पछि ‘कन्ट्री म्युजिक’को बजारमा तहल्का मच्चाइदिइन्। म्युजिक क्षेत्रमा बिर्सनै नसकिने नाम बनिदियो— टेलर स्विफ्ट।१९८९ डिसेम्बर १३ मा अमेरिकाको पेन्सिलभानियामा जन्मिएकी स्विफ्ट कन्ट्री म्युजिकको क्षेत्रमा परिचित हुँदा १६ वर्ष लाग्दै थिइन्। उनको ‘लभ स्टोरी’, ‘यु विलोङ विथ मी’जस्ता गीत अहिले विश्वभरिका धेरै तन्नेरीले गुनगुनाउँछन्।
यी गायिकाले आफ्नो बाल्यकाल परिवारसँगै योमिसिङ नजिकैको क्रिसमस ट्री फार्ममा बिताइन्। उनकी हजुरआमा प्रोफेसनल ओपेरा सिंगर थिइन्। र, स्विफ्टले पनि त्यही बाटो अँगालिन् जुन उनकी हजुरआमाले रोजेकी थिइन्। उनी ९÷१० वर्षको हुँदादेखि नै स्थानीय कार्यक्रमहरूमा सहभागी हुन्थिन्, गीत गाउँथिन्। ११ वर्षको उमेरमा फिलाडेल्फियामा भएको एक कार्यक्रममा ‘द स्टार स्प्यांगल्ड ब्यानर’ बोलको गीत गाएर उनले धेरैलाई अचम्मित बनाइदिइन्। त्यसपछि उनी आफैं गीतहरू लेख्न थालिन् र त्यसमा म्युजिक भरिन्।
१२ वर्षको उमेरदेखि उनले गिटार सिक्न थालिन्। स्थानीय म्युजिसियन रोनी क्रिमरले उनलाई म्युजिक सिकाएका थिए। आफ्नो म्युजिक करिअर सफल बनाउन उनी बारम्बार नासभिल, टेनिसी पुग्थिन् जसलाई कन्ट्री म्युजिकको क्यापिटल भनेर चिनिन्छ। उनले त्यहाँ साथीहरूसँग मिलेर गीतहरू पनि लेखिन्।
स्विफ्टले सन् २००६ को अक्टोबरमा पहिलो एल्बम निकालिन् जुन ५ मिलियनभन्दा धेरै कपी बिकेको थियो। एल्बम भित्रैको ‘आवर सङ’ निकै चर्चित बनेको थियो। यो गीत अहिले युट्युबमा मात्र एक सय ६१ मिलियनले हेरिसकेका छन्। त्यस्तै ‘टियर ड्रप अन माई गिटार’, ‘पिक्चर टु बर्न’ र ‘सुड ह्याभ सेड नो’ निकै रुचाइएका गीत हुन्।
उनका गीतहरूले श्रोताहरूबाट प्रशंसा त पायो नै, पुरस्कारका लागि पनि हकदार भए। स्विफ्टले कन्ट्री म्युजिक एसोसिएसनबाट ‘होराइज अवार्ड’ र ‘टप न्यु फिमेल भोकलिस्ट’ २००७ को ‘एकेडेमी अफ कन्ट्री म्युजिक अवार्ड’समेत हात पारिन्। सन् २००८ मा स्विफ्ट ‘ग्रामी’का लागि सूचित भएकी थिइन्। यसबाट उनले अवार्डसमेत हात पारिन्। उनको ‘फेयरलेस’ एल्बम यसै वर्ष आएको थियो। यसले उनलाई सबैभन्दा धेरै रुचाइएको गायिकामा चित्रित गरेको थियो। यसै एल्बमले सन् २०१० मा उत्कृष्ट एल्बमका रूपमा ग्रामी अवार्ड जितेको थियो।
अब यी गायिका यति रुचाइएकी छन्, जसलाई हेर्न र उनका गीत सुन्न मात्र मान्छेको भीड नै लाग्छ। उनी उपस्थित हुने कार्यक्रममा बुकिङ खोलिएको केही मिनेटभित्रै टिकट ‘सोल्ड आउट’ भइदिन्छ। चर्चित कमेडी सो ‘सटर्डे नाइट लाइफ’मा समेत केही समयअघि उनी देखिएकी थिइन्।
यिनै गायिकालाई सन् २०१२ मा फोब्र्सले ३० महँगा सेलिब्रेटीहरूको सूचीमा राखेको थियो। ‘सीएमटी हट २० काउन्टडाउन’सँगको कुराकानीमा उनले भनेकी छन्, ‘म्युजिक शिक्षा मेरो जिन्दगीमा एकदमै महत्वपूर्ण छ। मेरो जिन्दगी त्यसपछि मात्र फेरियो जब मैले आफैंले गीत लेख्न थालेँ र गिटार बजाउन जान्ने भएँ।’
अमेरिकी मिडियाले बारम्बार भन्ने गरेको ‘अमेरिकन स्विटहर्ट’ यी गायिका अलिअलि राजनीतिमा पनि चासो राख्छिन्। सन् २००८ को प्रसिडेन्सियल क्याम्पियनमा उनले महिलाहरूलाई राजनीतिप्रति थोरबहुत चासो राख्न र भोट हाल्न उक्साएकी थिइन्। उनी महिलावादी छिन्। अर्थात, पुरुष सत्ताको विरोध गर्छिन्, ‘एलजिबिटी’प्रति गरिने भेदभाव उनलाई मन पर्दैन।
म्युजिकका पारखीहरू धेरै त ड्रिङ्स नै मन पराउँछन्। विश्वचर्चित गायक÷गायिका भनेर चिनिने जेनिस जोप्लिन्, जिम मोरिसन, जिम्मी हेनिड्रक्सहरूका लागि ड्रिङ्स एकदमै प्यारो थियो। २७ वर्षमै मृत्यु भएका यी गायकहरू हरदम रक्सीमै रमाइरहेका हुन्थे। म्युजिसियन टेलर स्विफ्टले १९ वर्षको उमेरसम्म एक थोपा पनि ड्रिङ्स गरिनन्, न त स्मोक लिन्थिन्।
यी गायिकाले स्कुल छँदै ‘मोन्स्टर इन माई क्लोजेस्ट’ नामक कविता लेखेर राष्ट्रिय कविता प्रतियोगिता जितेकी थिइन्। रमाइलो कुरा त के छ भने स्विफ्टले १२ वर्षको छँदै तीन सय ५० पेजको उपन्यास लेखेकी थिइन् जुन उनले प्रकाशित गरेकी छैनन्। र, त्यो उपन्यास अहिले बजारमा नल्याउने उनले बताउँदै आएकी छन्।
यी परिचित गायिकाको पहिलो अफेयर सन् २००८ मा जोइ जोनाससँग भएको थियो। त्यसपछि उनी टेलर लौथनर, जोन मेयर, जेक गिलेनहल, ह्यारी स्टाइल्स र क्याल्भिन ह्यारिसँग पनि डेटिङ गइसकेकी छन्। २०१६ मा टम हिडल स्टोनसँग सम्बन्धमा थिइन् उनी। पछि आफ्नो र टमको सम्बन्ध सकिएको उनले बताएकी थिइन्।
एल्बम
टेलर स्विफ्ट (२००६)
यारप्सोडी ओरिजिनल (२००७)
आइट्युन लाइभ फ्रम सो हो (२००८)
ब्युटिफुल आइज (२००८)
फियरलेस (२००८)
स्पिक नाउ (२०१०)
स्पिक नाउ वल्र्ड टुर लाइभ (२०११)
रेड (२०१२)
नाइन्टिन एट्टिनाइन (२०१४)
द नाइन्टिन एट्टिनाइन वल्र्ड टुर लाइभ (२०१५)
रिपुटेसन (२०१७)