छलिया अर्थात् छलछामको सिकार

छलिया अर्थात् छलछामको सिकार

छलिया भनेको छलेर खेल्ने नृत्य हो। यसमा हातहतियारले सुसज्जित जोडीहरू सहभागी हुन्छन्। दमाहामा छलिया बाजाको ताल बजेसँगै उनीहरूले छलिया नृत्य देखाउँछन्। परापूर्वकालमा राजारजौटाहरूले लडाइँमा विजयी भएपछि देखाइने छलिया नृत्य पछिल्लो समयमा शुभकार्यमा देखाउने प्रचलन सुरु भएको हो। छलियामा गाइने गीतहरू उति बेलै रचना गरिन्छन्। छलियामा पहिला गीत गाउने अनि बाजागाजाको तालमा नाच्ने गरिन्छ। विवाह, व्रतबन्ध तथा धार्मिक कार्यमा गाइने गीतहरू बेग्लाबेग्लै हुन्छन्।

प्रदेश नम्बर ७ का पहाडी जिल्लाको सांस्कृतिक तथा ऐतिहासिक छलिया नृत्य हिजोआज कम मात्रामा देख्न पाइन्छ। विवाह अथवा अन्य कुनै शुभकार्य गर्दा छलिया नृत्य खेल्ने चलन थियो। देउडा गायक महेशकुमार औजीको बुझाइमा पाश्चात्य संस्कृतिको प्रभावले छलिया नृत्य लोप हुन थालेको छ। कुनैकुनै ठाउँमा मात्रै छलिया नृत्य हेर्न पाइन्छ। दशरथचन्द नगरपालिका-५ का विनोदबहादुर चन्द भन्छन्, ‘छलिया यो क्षेत्रको प्रख्यात संस्कृति हो। पहिलापहिला दमाहा बाजाको तालमा छलिया खेल्नेको संख्या धेरै हुन्थ्यो। तर, हिजोआज डीजेमा डिस्को डान्सको चलनले युवालाई छलियाले तान्न सकेन।’

पहिलापहिला बलवान् पुरुषहरू हातहतियार र विछट्ट पोसाकले सुसज्जित भई दमाहाको तालमा छलिया खेल्ने चलन एकादेशको कथा हुने अवस्था छ। बाइसेचौबीसे राज्यमा राजाहरूले आफूहरूले गर्ने गरेका ठूला कार्यमा छलिया देखाउने चलन थियो। तर, पछि विवाह, ब्रतवन्ध लगायतका समारोहमा छलिया देखाउने चलन चल्यो। ‘गाउँमा कसैको विवाह भयो भने छलिया जोडीको खोजी हुन्थ्यो।

छलिया नृत्य हेर्न गाउँमा भीड लाग्थ्यो। स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले भने, ‘तर अब दमाहा बाजा नै लोप हुने अवस्था छ। नयाँ पुस्तालाई दमाहा बजाउनसमेत आउँदैन। यस्तोमा छलिया जोगाउन गाह्रो छ।’ उनका अनुसार छलिया जोडीसँग गाउँका अन्य मानिसहरूले समेत पैताला मिलाएर खेल्दा निकै रमाइलो देखिन्थ्यो। तर अब भने छलिया नाच कस्तो होला भन्ने अवस्थामा पुगिसकेको छ।

सुर्नया-६ का सोभान टेलरका बाबुबराजुले छलियाबाटै आम्दानी गरेर घरखर्च चलाउँथे। तर सोभानको पालामा आइपुग्दा छलिया नृत्यको सोधीखोजी नै हुन छोडेको छ।

छलिया नृत्यको महत्व, यसको मौलिकताका बारेमा नबुझ्दा यो लोप हुन थालेको जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए। भन्छन्, ‘हाम्रो समाज अर्काको संस्कृति ग्रहण गर्नमा जति लागेको छ, त्यति आफ्नो संस्कृति संरक्षणमा लागेको पाइँदैन।’ स्थानीय संस्कृतिका बारेमा पाठ्यक्रममै विषयवस्तु समावेश गर्न सके यसले केही हदसम्म छलिया जस्ता संस्कृति जोगाउन मद्दत गर्ने शंकर संस्कृत माविका शिक्षक परमानन्द अवस्थीको बुझाइ छ।

दमाहा, झ्याली बज्नेबित्तिकै खेलिने छलिया नृत्य हेर्न नपाएको धेरै भएको सुर्नया-६ का नन्दराम अवस्थी बताउँछन्। छलियाका नर्तक सुर्नया-५ का प्रकाश टेलरका अनुसार छलिया नृत्यका पनि विभिन्न रूप हुन्छन्। उनले भने, ‘पहिलापहिला छलियाअन्तर्गत खुकुरी नाच, कृपि नाच, आँकडा, बागचाली, चर्खा लगायतका नाच देखाउने गरिन्थ्यो। तर, हामीहरू साधारण छलिया मात्रै देखाउन सक्छौं। यो पनि लोप हुने अवस्थामा छ।’

विवाह मात्रै होइन, धार्मिक कार्यमा समेत छलिया नृत्य देखाइन्थ्योे। तर, धार्मिक कार्यमा देखाउने छलिया भने पूर्ण रूपमा लोप भइसकेको छ। सुर्नया-६ का सोभान टेलरका बाबुबराजुले छलियाबाटै आम्दानी गरेर घरखर्च चलाउँथे। तर, सोभानको पालामा आइपुग्दा छलिया नृत्यको सोधीखोजी नै हुन छोडेको छ। सोभानका अनुसार उनले आठजनाको बाजा बजाउने सहितको छलियाको जोडी बनाएका छन्। तर छलियाको माग नै हुँदैन। माग भएको ठाउँमा तीस हजार रुपैयाँ पारि श्रमिक लिने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.