सत्यम् इफेक्ट
सामान्य मान्छेले भुइँमा खुट्टा बजार्दा धुलो र पत्कर उड्दैन। एकै मुड्कीमा कंक्रिटको भित्ता पनि गल्र्याम्मै भत्कँदैन। तर, फिल्ममा हिरोले मुक्का हान्दा त्यस्तो देखिन्छ। हिँड्दा धुलो बुङ्ग उड्छ र चराहरू भुरुरु उड्छ। बञ्जर भूमिमा सल उडाउँदै नाच्छन् फिल्मका कलाकार। तर, पर्दामा देखिन्छ हिमालको काख। छङ्छङ् झरिरहेको झरना। यतिमात्रै होइन फिल्मको दृश्यले नै पुर्याउँछ ‘स्वर्ग नर्क।’
यो सबै चमत्कार ‘भिज्युअल इफेक्ट’ हो। काल्पनिक दुनियाँमा दर्शकलाई पुर्याउन प्रविधिले दिएको एउटा अनुपम उपहार हो। जसको प्रयोग हलिउडमा दशकौं अघिदेखि नै भइरहेको छ। बलिउडसमेत भिज्युअल इफेक्टको सहयोगमा चामत्कारिक फिल्म बनाउन लालायित देखिन्छ। त्यो उपहारको प्रयोग गर्न नेपाली सिनेमेकर्स पनि पछि परेका छैनन्। नेपाली फिल्म प्राविधिज्ञहरूले पनि दशकौंदेखि भिज्युअल इफेक्टको प्रयोग गर्दै आएका छन्।
यस्तै प्रयोग गर्नेमध्ये एक हुन् सत्यम् राना। काठमाडौं मध्यबानेश्वरस्थित उनको अफिसमा भेट्दा उनी काम गरिरहेका थिए। उनी हिरोइनको इन्ट्रीसँगै इ“टाहरू बुरुरु खसेको दृश्य बनाउँदै थिए। सत्यम् हाँस्दै सुनाउँछन्, ‘निर्देशकहरू हिरोको इन्ट्री हुँदा यहाँनिर इ“टा झार्नुस्, यहाँनिर पत्कर उडाउनुस्, यो बगरमा नीलो गंगा देखाउनुस् भन्छन्। के गर्नु गर्नै पर्यो।’
नेपालगन्जका यी ३० वर्षीय युवा आठ वर्षदेखि यस्तै काम गर्दै आएका छन्। नेपाली फिल्म इडस्ट्रीमा उनी अब्बल भिज्युअल इफेक्ट आर्टटिस्टका रूपमा चिनिन्छन्। उनको काम दृश्यहरूलाई अझ प्रभावकारी र सुन्दर बनाउनु हो। युनिभर्सल कलेजबाट व्यवस्थापन विषयमा १२ कक्षा उत्तीर्ण गरेका सत्यम्लाई सुरुमा भिज्युअल आर्टिस्ट बन्छु भन्ने लागेकै थिएन।
‘निर्देशकहरू हिरोको इन्ट्री हुँदा यहाँनिर इँटा झार्नुस्, यहाँनिर पत्कर उडाउनुस् भन्छन्, के गर्नु गर्नै पर्यो।’
एक दशकअघि काठमाडौं आउँदा उनीसँग केही ठोस सपना थिएन। एसएलसी पास गरेर भविष्यको खोजीमा काठमाडौं छिरेका सत्यम् साथीको लहैलहैमा भिडियो एमिमेसन सिक्न जमल पुगे। करिब ५० हजार तिरेर ६ महिना सिके। त्यसले उनलाई धीत मरेन। उल्टै प्यास जगायो। त्यसपछि उनी इन्टरनेटमा भिज्युअल इफेक्टबारे सिक्न थाले। घन्टौं कम्प्युटर अघि बस्न थाले। त्यसले उनलाई भिज्युअल इफेक्टमै करिअर बन्छ कि भन्ने लाग्न थाल्यो।
केही समय भिज्युअल इफेक्टमै काम गरिरहेका सिनियरसँग काम गरेपछि उनले पहिलो पटक झरना थापाको फिल्म ‘फेसबुक’ मा भिज्युअल इफेक्ट मिलाउने काम पाए। त्यो उनको पहिलो क्षमता देखाउने काम बन्यो। त्यसमा सत्यम्ले आफ्नो खुबी देखाए। ‘त्यसपछि त काम धेरै नै पाइयो। भ्याइँनभ्याइ छ अहिले।’ उनले सुनाए। उनी अहिले एउटा फिल्म बराबर ७० हजारसम्म लिन्छन्। एउटा फिल्मको काम सकाउन उनलाई २० दिनदेखि एक महिनासम्म लाग्छ। उनीसँगै केही साथीहरू पनि छन्। सत्यम्ले एलजी फिल्म अवार्ड-२०१६ र २०१७ मा उत्कृष्ट भिजुवल इफेक्ट आर्टिस्टको अवार्ड जितिसकेका छन्।
ड्रिम्स, ए मेरो हजुर-२, जय परशुराम, बाटो मुनिको फूल-२ लगायत उनले चार दर्शकभन्दा धेरै फिल्ममा काम गरिसकेका छन्। ड्रिम्सको एउटा दृश्यमा आफूले गरेको काम उनी हाँस्दै सुनाउँछन्, ‘साम्राज्ञीको खुट्टातिर लाइट नपुगेर पूरै अँध्यारो थियो। त्यो जस्ताको जस्तै देखाइएको भए राम्रो देखिने थिएन। त्यो हटाएँ। त्यसपछि राम्रो देखियो।’