खगेन्द्र संग्रौला : पाठकको आँखाको लयमा
प्रसंग : एक हजुरबाको गाली
सम्भवतः मैले खगेन्द्र संग्रौलालाई पढ्न थालेको पचासको दशकदेखि हुनुपर्छ। एकाउन्न सालको कुनै एउटा घमाइलो बिहान उन्पचास सालतिरैको पुरानो ‘हिमाल’ मेरो हात लागेको थियो। मलाई सम्झना भएसम्म त्यो अंकमा उनको काठमाडौंको पर्यावरणबारे एउटा संस्मरणात्मक लेख आएको थियो। त्यसपछि संग्रौलासँगको पठनयात्रा ‘नवयुवा’, ‘मूल्यांकन’, ‘कान्तिपुर’ हुँदै आजसम्म अविराम जारी छ।
३० भदौ, २०५४ को जनएकता साप्ताहिकमा संग्रौलाको एउटा लेख आएको थियो। खासमा त्यो लेखलाई जनएकताले हिमालय टाइम्सबाट साभार गरेको थियो। ती दुवै अखबारको बिस्तार काठमाडौंबाहिर नगण्यप्रायः भएकाले उक्त लेख झापामा हामीसमक्ष चाहिँ मूल्यांकनमार्फत आइपुगेको थियो। आफन्तको मृत्यु पछिको कर्मकाण्ड बारेको त्यो लेखलाई प्रत्युत्तर लेख्दै झापाका पुण्यप्रसाद खरेलले पनि उक्त अन्तरक्रियामा आफ्नो सहभागिता जनाएका थिए। यहाँ यो फेहरिस्त प्रस्तुत गर्नुको निहितार्थ के हो भने अखबारी लेखनमा त्यति बेला संग्रौलाको प्रसिद्धि र चर्चाका विशिष्टताहरू देशव्यापी थिए। विगत बीस वर्षयता बागमतीमा फोहरै भए पनि थुप्रै पानी बगिसक्यो, तर संग्रौलाको जादुई र प्रवाहमय लेखनकौशल भने आजपर्यन्त उस्तै सामाजिक जिम्मेवारीका साथ अविचलित छ।
त्यसै सालको भदौको सुरुतिर संग्रौलाकी आमा बित्नुभएको थियो। आमा बितेपछिका उनका अनुभूतिहरू मैले ‘आमाको मृत्युपछिका क्षणहरूमा’ शीर्षकमा मूल्यांकनमा पढेँ। पत्रात्मक शैलीमा लेखिएको त्यो लेखमार्फत उनले विद्यमान पारम्परिक रूढिलाई जोडदार थप्पड लगाएका थिए। त्यसपछि संग्रौलाको लेखमा प्रतिक्रिया जनाउँदै झापाका प्रगतिशील लेखक पुण्य खरेलले त्यो अन्तरक्रियामा भाग लिएका थिए। संग्रौलाको थप्पडको एउटा सानो झलक यस्तो छ, ‘कथित लोकापवादका पाखण्डसामु बिनाप्रश्न, बिनातर्क, बिनाअर्थ चुपचाप शिर झुकाउँदै मैले जुल्फी मुण्डन गरिनँ। जनै र कन्दनीको पासो मैले लगाइनँ। आमाको अस्तित्वहीन हंशलाई पिण्डपानी दिन ढिकुरोसम्म म धाइनँ। मैले नुन बारिनँ, छाक छाडिनँ। कोरोभित्र परालमाथि म पसारो परिनँ। छोटोमा भनूँ, बिभत्स गरुड पुराणको कुटिल पिंजराभित्र परपीडक, ठगाहा कर्मकाण्डको क्रूर चक्रव्यूहमा म पसिनँ। बीपी कोइराला, देवीप्रसाद उप्रेती (उदारमना जिम्दार बा), चित्रबहादुर केसी, रामबाबु प्रसाईं आदि यस बागी बाटोका मेरा सामान्य प्रेरक हुन्।’
लेख पढेपछि हामीले घरमा हजुरबालाई यसो जिस्क्याउन खोज्यौं। मैले भनेँ, ‘हजुरबा खगेन्द्र संग्रौला भन्ने हाम्रो आठराई तिरकै एकजना लेखकले त आमाको क्रिया गरेनन् रे। ईः यहाँ हेर्नुस् त। मैले आमाको क्रिया गरिनँ भनेर लेख पो लेखेको रैछ त !’ हजुरबालाई केही हरफ पढेर पनि सुनाइदिएँ। आक्रोशित हुँदै उहाँले संग्रौलालाई गाली गरेको अहिले भर्खरैजस्तो लाग्छ। आफ्नो लेखनको प्रतिक्रियास्वरूप मेरा हजुरबामार्फत संग्रौलाले गाली खान थालेको उहिल्यैदेखि रहेछ।
प्रसंग दुई : मसँग गाडी भाडा थिएन
०५६ असारको अन्तिम साता संग्रौलाको ‘जूनकीरीको संगीत’ बजारमा आएको थियो। मूल्यांकनमा किताब अंश र विकास त्रैमासिकमा प्रत्यूष वन्तको छोटो किताब समीक्षा मैले पढिसकेको थिएँ। इतिहासकार वन्तले नपढी नहुने किताबको सूचीमा त्यसलाई समावेश गरेका थिए। आफ्नो छोटो समीक्षात्मक टिप्पणीमा अन्वेषक वन्तले संकेत गरेका कुराहरू अनौठा र चाखलाग्दा थिए। किताबमा सामाजिक परिवर्तनका लागि राजनीतिक दलको भूमिका, एनजीओको भूमिकाको सापेक्षमा गौण भएको वा बनाइएको छ भन्ने वन्तको टिप्पणी मलाई अनौठो लागेको थियो। समकालीन प्रगतिशील लेखनमा यो किताबले गम्भीर बहस आमन्त्रण गर्ने दाबी पनि गरेका थिए, उनले।
रोचक त के थियो भने, समाज परिवर्तनका निम्ति राजनीतिक दलहरूको भूमिका सर्वाधिक अहम् र महत्वपूर्ण हुन्छ भन्ने सिद्धान्त बोकेका कम्युनिस्टहरूसँग संग्रौला नजिक थिए। कुनै पनि समाजमा परिवर्तनको जग राजनीतिक आन्दोलनमार्फत नै स्थापित भएको हुन्छ। सांस्कृतिक रूपान्तरणको प्रकियामा पनि सम्भवतः राजनीति नै केन्द्रमा हुन्छ। जीवनयापनको दौरान आइलागेका कठिन र अप्ठ्यारा परिस्थितिको सामना गर्दै बडो यत्नले जोगाएको आफ्नो विश्वासको विरुद्ध लेख्न संग्रौलालाई केले प्रेरित गरेको थियो होला, अनौठो लाग्छ !
०४६ सालको आन्दोलनपश्चात् खै किन हो, पारिजात मानवअधिकार नाउँको एनजीओमा सक्रिय थिइन्। अस्पतालमा बिरामीले थला परेकी पारिजातलाई देखेर भावुकतावश संग्रौलाले लेखेका थिए, ‘आफ्नो स्वास्थ्यको पर्वाह नै नगरी दिदी मानवाधिकार भनेर कुद्नुहुन्छ, आखिर त्यो स्वांगे मानवाधिकारले के दियो ? ’ आफूले जीवन समर्पण गरेको पार्टीमा देखा परेको फुटको अनवरत शृंखलाले हतास र निराश बनेकी पारिजातले ती दिनहरूमा मन भुल्याउनकै लागि भए पनि मानवाधिकारका कतिपय कार्यक्रममा आफूलाई व्यस्त बनाएकी थिइन्। पारिजातको मानवअधिकारलाई स्वांगे भनेका संग्रौलाले आफ्नो किताबमा एनजीओको निर्णायक भूमिकालाई कसरी पुष्टि गर्लान् भन्ने उत्सुकताले किताब पढिहाल्ने हुटहुटीलाई बढाएको थियो थियो।
म खै त्यस्तै के काम परेर दमक आएको थिएँ। दमक आउनु अनि श्रेष्ठ पुस्तक पसलमा नछिर्नु, यस्तो त हुनै सक्दैन थियो। पसलमा छिरियो, डोरीमाथि तुन्द्रुंग झुन्डिएको ‘जूनकीरीको संगीत’ पनि देखियो, चीलले चल्ला झम्टा मारेझैं चिम्टीबाट किताब थुतेर पैसा निकाल्न खोज्दा पो झल्याँस्स भइयो। किताबको पोइसो तिरेर खल्तीमा जम्मा रु. पाँच बच्ने हिसाब निस्कियो। ती दिनहरूमा दमकबाट ग्वालडुब्बाको बस भाडा त्यस्तै दसबाह्र रुपैयाँ हुँदो हो। अब किताब किनिसकियो, बाँकी रहेको पाँच रुपैयाँले गाडीभाडा नपुग्ने ठहर भएपछि त्यो पाँच रुपैयाँ पनि चियामा खर्च गरेर बिनापैसा म गाडी चढेँ। गेउरिया पुल तरेपछि भाडा उठाउँदै आएको कन्डक्टरलाई मैले भर्खरै किनेको किताब देखाउँदै मेरो समस्या जस्ताको तस्तै बेलिबिस्तार लगाएँ र भनेँ, ‘भोलि या पर्सि कुनै बेला ग्वालडुब्बा आएर म तपाईंको पैसा तिर्छु।’ पहिला त उ छक्क पर्यो। अनि हाँस्दै हुन्छ भन्यो। सोच्यो होला यो पागल रहेछ, यस्ता किताबप्रेमी पागललाई नकार्न सकिन्न। रमाइलो त के भयो भने चारपाँच दिनपछि उसलाई पैसा बुझाउन जाँदा उसले पैसा लिएन। भन्यो, ‘यसमा थपथाप पारेर अर्को किताब किनेर पढ।’
प्रसंग तीन : प्रचण्डको धम्की
‘जूनकीरीको संगीत’ले सबैभन्दा धेरै घाटा कसैलाई पुर्याएको थियो भने त्यो माओवादी आन्दोलनलाई थियो। एकजना प्रतिबद्ध माक्र्सवादी लेखकले माओवादी आन्दोलनलाई चटके र राँके भूतको दर्जा देलान् भन्ने माओवादीहरूलाई कदाचित् लागेको थिएन। त्यसो त उ बेला माओवादी आन्दोलनको निरपेक्ष महिमा मण्डन गर्ने प्रायः लेखकहरू उक्त आन्दोलनमा प्रत्यक्ष संलग्न नै थिए। लेफ्ट धारका लेखकहरूका बीचमा यदाकदा ‘पार्टी पक्षधरता’को बहस पनि जोडतोडले उठाइन्थ्यो। पार्टी पक्षधरता नामको भुत्ते हतियारको सबैभन्दा धेरै प्रयोग भने माओवादी खेमाका लेखकहरू नै गर्थे।
आन्दोलनबारे अखबारमा छिटपुट आलोचना गरे पनि किताबै लेखेर संग्रौलाले माओवादी आन्दोलनलाई एनजीओको सापेक्षमा त्यस्तो पुड्को, निरीह र हास्यास्पद प्रमाणित गर्लान् भन्ने माओवादी सौन्दर्यविद्हरूलाई पटक्कै लागेको थिएन। पहिलो कुरा त आकारका दृष्टिले त्यत्रो भीमकाय किताबमा माओवादी आन्दोलनलाई दिइएको अत्यन्तै थोरै स्पेसले नै उनीहरू तिल्मिलाएका हुन सक्थे। र, दोस्रो थोरै स्पेसमा पनि आन्दोलनको सकारात्मक पक्षबारे उपन्यास लगभग मौन थियो। बस् अब के चाहियो, ‘कलम’मार्फत सुरुमा प्रचण्ड स्वयं र पछि त्यही पत्रिकामा माओवादी सौन्दर्यविद् चैतन्य (किरण)ले संग्रौलाको रामधुलाइ गरे। कलमसँगको आफ्नो अन्तर्वार्तामा जूनकीरीको संगीततर्फ संकेत गर्दै प्रचण्डले वामपन्थी आन्दोलनमा ‘संशोधनवादको जहर फैलाउनेहरू’लाई निर्मूल पार्न वैचारिक सांस्कृतिक र संगठनात्मक अस्त्रको अतिरिक्त आवश्यकताअनुसार भौतिक प्रतिरोधको प्रक्रियालाई निरन्तर अगाडि बढाउनुपर्ने निर्देशन जारी गरेका थिए। भौतिक प्रतिरोधको अर्थ माओवादी भाषामा सफाया हो भन्ने कुरा सर्वविदित नै छ।
चैतन्यको समीक्षाको शीर्षक थियो, ‘जूनकीरीको संगीतमा लामखुट्टेको स्वर र शब्दहरू’, त्यो समीक्षाबारे त्यति बेलै पनि र आजपर्यन्त मैले नबुझेको एउटा कुरा छ। चैतन्यले उपन्यासमा प्रयुक्त पात्र लामखुट्टेको कुरा गरेका हुन् वा हाम्रो कानमा भुनभुनाउने लामखुट्टेको ? संग्रौलाले यो टुक्रे लेख पढ्नुभयो भने उहाँको एकजना पाठकको जिज्ञासा मेटाउनुहुनेछ भन्ने आशा गरेको छु।
२०५७ चैतको मूल्यांकनमा जूनकीरीको संगीत उपन्यासबारे संग्रौलाको प्रतिवाद ‘प्रचण्डको प्रचण्ड फैसलामाथि एक सादा टिप्पणी’ छापियो। मूल्यांकनका दुईवटा अंकमा क्रमशः आएको त्यो प्रतिवाद प्रचण्ड र चैतन्यलाई गम्भीर जवाफ त हुँदै हो, ती लेखमार्फत मजस्ता थुप्रैलाई तत्कालीन माओवादी आन्दोलनका यावत् सकारात्मक र नकारात्मक पक्षहरूबारे धारणा बनाउन पनि ठूलो सहयोग पुगेको थियो। समकालीन लेखनमा माओवादी आन्दोलनबारे एकदमै सटिक र यथार्थ विश्लेषण कमै पढ्न पाइएको थियो। स्तुति र निन्दाभन्दा पर बसेर, आफूलाई लागेको सत्य उद्घाटन गर्न पनि डराउनुपर्ने कठिन समयमा दुवैखाले बन्दुकको त्रासबाट विचलित नभई लेखिएका निर्भीक र सुन्दर आवाजहरू थिए ती आलेख, यस्तो मेरो बुझाइ थियो।। एकजना सामान्य पाठकको हैसियतमा त्यस्तो बुझाइको म अद्यापि बचाउ गर्छु।
युद्धकलामा निपूण प्रचण्डले जब आफू कला समीक्षक पनि भएको कलाविहीन नाटक मञ्चन गरे, संग्रौलाका निर्भीक आवाज यसरी मुखरित भए, ‘कमरेड प्रचण्ड आफ्ना वास्तविक योग्यता र कर्महरूका आधारमा यसै महान् हुनुहुन्छ। त्यस महानतामा नक्कली रङ र मिथ्या उचाइ थप्न उहाँले सौन्दर्यशास्त्री वा साहित्यिक समीक्षक भएको कलाविहीन नाटक गर्नु जरुरी छैन भन्ने म ठान्छु। गत आधा दशकमा माओवादी विद्रोहले नेपाली समाजमा जे जति सकारात्मक संवेदना र चेतनाको निर्माण तथा सञ्चार गरेको छ, माओवादी पार्टीका औपचारिक प्रमुखको हैसियतले प्रचण्ड त्यसको श्रेयको निकै ठूलो भागको अधिकारी स्वतः हुनुहुन्छ। तर, प्रचण्डको व्यक्तित्वमा विचार संश्लेषण, निर्देशक विचार र प्रचण्डपथजस्ता नक्कली सिङ जुराहरू जोडेर उहाँको महानताको वास्तविकतामाथि आशंका जन्माइदिने कलाविहीन नाटक अरूहरूले होइन, प्रचण्ड प्रमुख रहनुभएको पार्टी स्वयंले गरेको छ।’
प्रचण्ड र चैतन्यलाई संयुक्त रूपमा फर्काइएको त्यो शानदार जवाफ पछि माओवादी शिविरबाट फेरि कसैले संग्रौलालाई लक्षित गरेर लेखे कि लेखेनन्, त्यो चैं थाहा भएन।
र, अन्त्यमा ‘खेलौना’
राजेन्द्र थापाको उपन्यास ‘खेलौना’ बजारमा आएपछि २०६९ चैतको कुनै एउटा ‘नागरिक’ परिशिष्टांकमा उक्त किताबलाई लिएर संग्रौलाको टिप्पणी आएको थियो। ‘मृत लेखकको कथन’ शीर्षकमा आएको त्यो समीक्षात्मक टिप्पणी एकदमै तिखो थियो। जस्तो कि अपेक्षित नै थियो, त्यसपछि तुरुन्तै राजेन्द्र थापाको प्रतिक्रिया ‘खगेन्द्र दाजु नमर्नुस् प्लिज’ आयो। गम्भीर पठनमा रुचि राख्ने र यसो पत्रपत्रिका हेर्ने प्रायः सबैलाई यो रोचक प्रसंग थाहा छ।
किताबमाथि टिप्पणी गर्ने क्रममा संग्रौलाको झापड खाएका चारजना धुरन्धर क्रमशः अभि सुवेदी, बैरागी काइँला, गोविन्द भट्टराई र जगदीश घिमिरेमध्ये सुवेदी, काइँला र भट्टराई चुपै लागे। प्रत्यक्ष भेट गर्दाका रसिक र मीठो बोल्ने संग्रौला र कलम हातमा लिएका दुर्वासा संग्रौलाको भेद र वास्तविकता उनीहरू सबैलाई थाहच थियो। त्यति भएर पनि जगदीश भने चुप लागेनन्। संग्रौलालाई सम्बोधन गरेरै लेखिएको जगदीशको जवाफ पढ्दा यस्तो प्रतीत हुन्छ, मानौं उनलाई संग्रौलाबाट व्यंग्यार्थमा पाएको ‘सेक्सन अफिसर’को उपाधिले भयानक पीडा दिएको थियो। उनी संग्रौलाको कटु आलोचनाले तिल्मिलाएका थिए। जगदीश मेरा प्रिय लेखक हुन्। ‘संग्रौला र जगदीशमध्ये कसलाई रोज्छस्’ भन्ने खाले प्रश्न म आत्मादेखि नै खारेज गरिदिन्छु, मसँग यसको जवाफ छैन। तर ‘युद्धभूमिमा मुर्कुट्टा किन नाच्छ ?’ भन्ने त्यो जवाफी लेखमा जगदीशले आफूमा निहित अपार विद्वताको दुरुपयोग गरेका हुन् कि झैं प्रतीत हुन्छ। एउटा उदाहरण हेरौं, ‘राम्रा र नराम्रा पुस्तक लेखिन्छन्। त्यो आआफ्ना मान्यताको कुरा हो। के सबैजना माओवादीका ‘थट पुलिस’ हुन्छन् ? के माओवादीका थट पुलिसको अर्कालाई मनपरी व्यक्तिगत गालीगलौज गर्ने अधिकार छ ? यस्तो कुरा थट पुलिसहरूमध्ये पनि क्षुद्रबाट मात्र सम्भव छ।’
मेरो क्षुद्र बुझाइमा साहित्यका बडेबडे महारथीले तथाकथित नवीन प्रयोगका नाउँमा ‘लिंगरस र भगरस’को भरमार प्रयोग भएको किताबलाई प्रोत्साहन गर्नु हुँदैन थियो भन्ने खगेन्द्र संग्रौलाको आग्रह थियो। संसारमा सबैखाले किताब लेखिन्छन्, सबैखाले किताब पढिन्छन्। व्यक्तिगत सम्बन्धलाई आधार बनाएर, कसैलाई खुसी पार्नकै लागि एकजना जिम्मेवार र स्थापित लेखकले ‘जस्तोसुकै’ किताबको प्रशंसा गर्दै हिँड्ने होइन। कसैलाई खुसी पार्नकै लागि गरिने त्यस्तो प्रशंसा, आग्रह र सिफारिसले भर्खरै पठनतर्फ प्रवृत्त भएका नयाँनयाँ पाठकहरू दिग्भ्रमित हुने खतरा हुन्छ र उनीहरूको पैसा, समय र दिमाग सबै व्यर्थैमा भुटिने डर हुन्छ।
प्रतिबद्ध, उत्तरदायी र जोखिम मोल्न सक्ने लेखनको विशेषता के हो भने, त्यस्तो लेखनले या त आफ्नो पक्षमा सचेत र ऊर्जाशील पाठकको ठूलो संख्यालाई आफूतर्फ आकर्षित गर्छ वा अनेक थरीका विरोधीहरूलाई अहोरात्र गाली गर्ने मैदान तयार पारिदिन्छ। जिम्मेवार लेखन जहिल्यै हस्तक्षेपकारी हुन्छ। त्यस्तो लेखनले व्यक्ति वा संस्थाभित्र देखिने सूक्ष्म वा स्थूल मूल्यहीनतालाई नग्न बनाएर तिनको वास्तविक चरित्र पाठकसामु जस्ताको तस्तै राखिदिन्छ। भनिरहनु पर्दैन, यस्तो लेखनमा तर कलात्मक सुगन्धको सुवास महसुस भएन भने त्यो प्राणहीन, निर्जीव र जड हुन्छ।
जिम्मेवार लेखक डराउँदैन। सम्झौतापरस्त हुँदैन। ऊ आफूलाई सत्य लागेको कुरा निर्धक्क लेख्छ र त्यसको लागि मूल्य चुकाउन सधैं तयार हुन्छ। ‘खेलौना’को कटु आलोचना गर्दा संग्रौलाले त्यस्तै मूल्य चुकाउनु परेको थियो।