कविता : फूलको सम्बोधन
ए मुस्कुराउन भुलेर,
एकान्तमा टोलाइरहने साथी !
जीवनबाट भागेर कतै पुगिन्न नि !
अस्तित्वबोध पो त जिन्दगी
म पनि त एक्लै एक्लै हुन्छु
तिमीजस्तै
कहिले ओइलिएर झर्छु आफैं
कहिले मालीले झारिदिन्छ चुँडेर
कहिले आँधीहुरीले लछारपछार पारिँदा
हिलोमा मडारिन बाध्य,
सबै सहेर पनि,
बिहान सबेरै उठ्छु ताजगी लिएर,
मीठो मुस्कान छर्दै, सुवासमा
ती प्रायः मौसमैपिछे दोहोरिने,
अतीतका अत्याचार भुलेर,
तर
सम्हालिन नपाउँदै,
टन्टलापुर घामको घुम्टो ओढाइन्छ
घाँटी, मुख सुख्छ, छटपटी हुन्छ
खुट्टा लरबरिन्छ, आँखा तिरमिराउँछ,
तथापि,
म पटक्कै विचलित हुन्नँ,
आफ्नै ठाउँमा अडिग भएर उभिरहन्छु ।
समयको खेलमा,
परिवेशको जालझेलमा,
अहँ, पटक्कै झुकिनँ म,
मेरो त्यो आत्मबल देखेर
छट्पटिन्छ ऊ,
जसरी पनि मलाई ढाल्ने
उसको निर्णय तुहिने डरले,
ठूलाठूला असिना बोकेर
दर्किन्छ दर्के झरी
असिनाले छियाछिया पारिदिन्छ
मेरा कोमल अंगहरू,
सम्झिनेले त सायद,
कमजोर सम्झिएका थिए
तर म कमजोर छैन,
कति हिउँद वर्षा, बिनाछत बिनाछानो,
हाँसेरै बिताएकी छु,
हेर त,
म ओइलाएकी छैन, मुर्झाएकी छैन,
सौन्दर्यमा कुनै कमी आएको छैन,
उस्तै छ सुवास, उस्तै छ सुगन्ध,
अझ निखारिएको महसुस हुन्छ !
भन्नेले त भन्छन् नै
यी फूलहरू कमजोर छन् भनेर,
तर,
म त्यो फूल हुँ जुन कहिल्यै ओइलाउने छैन,
मग्मगाउन छोड्ने छैन,
ऊ अजर अमर छ
हार्नेछैन प्रकृतिसँग
म सधैं हाँसिरहने छु बाँचिरहने छु,
हरेक प्राणीले फेर्ने श्वास भएर
मायालु मनहरूमा माया भएर
आफन्तहरूको यादहरूमा
मेरो देशको कुना कन्दरामा,
उकाली ओराली लेक बेँसीहरूमा,
खेतका गह्रा अनि बारीका कान्लाहरूमा,
छाँगा छहरा, लहरा पहराहरूमा,
सुनाखरी, बाबरी र सयपत्रीहरूमा
अवतार लिइरहने छु,
म कहिल्यै मर्ने छैन
फुलिरहने छु लालीगुराँसहरूमा
पाखाभरि लाली छर्दै
अहँ, म मर्ने छैन
तब त हाम्रा सन्ततिहरूले भन्नेछन्,
हाम्रो सौन्दर्य कहिल्यै मर्ने छैन,
हाम्रो आभा–प्रभा मर्ने छैन,
वासना र मुस्कान मर्ने छैन,
हाम्रो शान्ति र समर्पणको गाथा
कहिल्यै मर्ने छैन !