कविता : रोहिंग्या र आहत बुद्ध
यस्तै पूर्णिमाको रात हुनुपर्छ जब
छिमेकीको ठेलागाडीमा
दुईवटा कुम्लो लादेर
दुई बालखा नानीलाई काखी च्यापी,
छोडेको थियो रखाइनको पुर्ख्यौली थलो
रिजवानुलले ।
फर्केर जब हेरिपठायो उसले
उसको जल्दै गरेको बस्ती
ठिम्याउन सकेन धूवाँको मुस्लोबीच
उसले आफ्नो घरको धुरी
सम्झ्यो उसले खोरमा थुनेको
एक जोर कुखुराको भाले–पोथी
भुल्न सकेन उसले भर्खरै दाइँ गरिएको
सुनजस्तै दुई मुरी धान ।
ठूलो सास फेर्दै सम्झ्यो उसले
मस्जिदको ठूलो आँगन,
इमामबाडा र गाउँबीचको चबुतरा
अनि घरछेउको पोखरीजस्तै
जलमग्न दुई आँखाबाट
खसाल्यो बिदाइको आँसु ।
यस्तै एक रात थियो जब
खुला आकाशमा इदको नयाँ जून र ताराले
साटासाट गर्दैथिए प्रेमिल चुम्बन
त्यही चबुतराअघि टक्र्याएथ्यो उसले
अमिनालाई रातो गुलाब
अनि यस्तै औंसीको रात थियो जब
उसकी बेगम अमिना बिबीमात्र होइन
सलिमा, फिरोजा, मुमताज र जियाहरूका
बलात्कृत लास भेट्टाइयो त्यही चबुतराअघि ।
अमिनाका सुरमा भरेका ठूलाठूला आँखा
बेस्सरी सम्झेको छ अहिले घरि रिजवानुलले ।
रिजवानुलको आस्था
अहिले घरि बूढो पीपलको रूखमा झुन्ड्याइएका
रहिम र करिमको क्षतविक्षत
मुर्दा शरीरजस्तै छ
एकदमै मुर्दा ।
जँघार र सँघार तर्दै
खेप खेपको नरसंहार सहँदै
मानौं रिजवानुलको अल्लाह
अहिले अन्धो र बहिरो भएको छ
पृथ्वीको बोझ भएको छ
मुहाजिर भएको छ ।
बंगालको गहिरो खाडी अहिले घरि
एथ्निक क्लिन्जिङका मासुल चुकाउँदै
रगताम्मे भएको छ ।
मानचित्रका रातो दाग मेट्न नसक्दा
एउटा भिक्टिम बुद्ध पीपलमुनि बसेर
चुपचाप पलायनको आँसु बगाइरहेछ ।
यादको पोखरीमा डुब्दै निस्कने
रिजवानुलहरूसित
भ्रम र भोकमात्र छ
रोग र शोकमात्र छ
अहिले घरि रिजवानुलको कुनै देश छैन
अहिले घरि रिजवानुलको कुनै ईश्वर छैन ।