'पुरुषलाई सरापेर समस्याको समाधान हुन्न'
आख्यानकार कल्पना श्रेष्ठ कल्पपुञ्जको नयाँ उपन्यास 'सञ्जीवनी' प्रकशित छ। कितावमाथि केन्द्रित भएर उनीसँग भुवनहरि सिग्देलले गरेको सम्वादः
तपाईंको ‘सञ्जीवनी’ उपन्यासमा पूजा नाम गरेकी बोल्न नसक्ने केटी नायक छे। केटीलाई नै नायकत्व दिनुको कारण ?
यो आवाजविहीन पात्रको मनोवैज्ञानिक, उसले पाएको हिंसा र विकलांगले पनि गर्न सक्ने सामाजिक उत्तरदायित्वका कार्यप्रति केन्द्रित भएर लेखिएको सामाजिक विषयको उपन्यास हो। बोल्न नसक्ने पात्रसँग घुलमिल भएर उनीहरूको समस्या, उनीहरूमा भएको हिंसा, उनीहरूको क्षमता बुझ्न मलाई नारी नायकत्व नै थोरै सहज हुन्थ्यो र मैले बाल्यकालमा यस्तै आवाजविहीन संगीहरूको समस्या आँखा नजिकबाट देखेर, भोगेर आएकी छु। त्यसैले पनि मैले केटी पात्रलाई यसमा मुख्य पात्र बनाएँ।
विकलांग केटा र केटीमा सामाजिक दृष्टिकोण, मनोविज्ञान र जीवन संघर्षका सवाल फरक हुन्छन् र ?
केही समस्या उस्तै उस्तै रहे पनि, विकलांग मात्र होइन, सवालांगको सवालमा पनि महिला पुरुषको प्राकृतिक, सामाजिक कारणले संघर्षका केही पाटाहरू भिन्न हुन्छन् नि।
आमाको प्रौढावस्था भएपछि पूजाको जन्म विकलांग अवस्थामा भएको भन्ने सन्दर्भ उपन्यासमा छ। त्यसमाथि विद्रोहको आवाज पनि हुन सक्थ्यो नि, होइन र ?
यस उपन्यासको यो प्रसंग करिब तीसको दशकअघिको कुरालाई उठाइएको छ। त्यतिबेला एउटा नारीको इच्छा अनिच्छा एउटा सिंगो परिवारसँग गाँसिएको हुन्थ्यो। त्यो समय मात्र होइन, अहिले पनि तपाईं गाउँगाउँमा देख्नुहुन्छ, आफ्नो इच्छा अनिच्छाले जन्मेका बग्रेल्ती केटाकेटी।
यसमा बहुरुपिया, स्त्रीलम्पट, प्रमेश पात्रको जालमा पूजा फसेकी छे। उपन्यासमा पूजा हरेक कुराले आफू सचेत छ भन्ने पनि देखाइएको छ। सबै हिसाबले पारख नगरी ऊसँग पूजा किन फसेकी होली ?
विवाह गर्नु फस्नु होइन। विवाहपूर्व नै मुख्य पात्र आफ्नो समस्याबारे अवगत गरेर प्रमेशसँग टाढिन खोजेको छ। प्रमेशको प्रेमिल सम्बन्धको बारेमा उसले धेरै पटक बहस गरेकी छे। विवाह भइसकेपछि विशेषगरी नेपाली परिवेशमा झगडा, पारिवारिक समस्या हुना साथ छुट्टिएर रहन हाम्रो समाजले त्यति सहज मान्दैन र त्यति सजिलो पनि छैन।
प्रमेश अन्तमा पूजामाथि नै पराश्रितजस्तो, पूजाले आफ्नो पुनस्र्थापन गरेको सन्दर्भ छ। यसको अन्त बढी महत्वाकांक्षी भएन र ?
मानिसको भोगाइको विविध घटना हुन्छन्। पूजा पढेकी, सक्षम छे र उनले आफ्नो जीवनको पुनस्र्थापन गर्नु कुनै असम्भव कार्य गरेको जस्तो लाग्दैन। प्रमेशजस्ता पुरुषहरू हाम्रो समाजमा भेटिन्छन्, जसले महिलाको परि श्रममा मज्जाले डकारिरहेका छन्। त्यसैले, टुंग्याउनी महŒवाकांक्षी लाग्दैन।
घर व्यवहारसँगै जागिरेले यसरी साहित्य लेख्नु कत्तिको चुनौतीपूर्ण भयो ?
यो मेरो पहिलो औपन्यासिक कृति हो। धैर्यबिना लेखक हुन खोेज्नु असम्भव नै छ। जागिर, परिवार र लेखनलाई सँगसँगै लग्नु धेरै गाह्रो विषय रहेछ। हिजोका नारी लेखकहरूलाई म सम्मान गर्छु। आज म स्वयम् उनीहरूको पीडा महसुस गर्ने भएकी छु। सिर्जनाको निम्ति एकान्त अत्यावश्यक कुरा हुन्। तर घरव्यवहारसँगै जागिरे महिलाले कहाँ एकान्त स्थान प्राप्त गर्नु नेपाली परिवेशमा।
नारीवादी लेखन भनेको पुरुषलाई होच्याउनु र आफू स्वेच्छाचारी हुनु समानताको द्योतक हो र ?
समाज चल्न पुरुष नारी दुवै चाहिन्छ। नराम्रा कुरालाई पुरुषले पनि विद्रोह गर्न सक्छन्। सरापेर मात्र समस्याको समाधान बिल्कुलै हँदैन। सहकार्यमा चल्नु नै सहज जीवनयापनको प्रमुख पाटो हो। समस्यालाई उजागर गर्दै लेखकले सचेतना फैलाउनु आवश्यक पनि छ।
अर्को उपन्यास पनि लेख्ने योजना छ कि ?
अवश्य। सञ्जीवनीको पाठकीय समालोचना, उत्प्रेरणा ममाथि छ। जति नै दुःख भए पनि अर्को आख्यान सिर्जना गर्न यसले घचघच्याएको छ।