अधुरो क्रान्ति
उपन्यास लेखनमा अझै पनि वामे सर्दैछ, थारू साहित्य। अझैसम्म थारू उपन्यास दर्जनकै हाराहारीमा छन्। प्रकाशित उपन्यासमा समयअनुसारको चिन्तन, समसामयिकताको अभाव छ। पश्चिम नेपालमा खासगरी थारू समुदायमा कमैया प्रथा विकराल थियो। २०५७ साल साउन २ गते कमैया मुक्त भए। तर थारू आख्यानमा अझै पनि जमिनदारको घरमा थारू कमैया बसेको, जमिनदारले कमैयालाई दिनसम्म दुःख दिएको कथावस्तु नै दोहोरिरहेको छ।
एक दशकको जनयुद्धमा हजारौं थारूहरूले बलिदानी दिए पनि त्यस विषय केन्द्रित आख्यानको नितान्त अभाव छ। साहित्यकार सुशील चौधरीको प्रश्न छ– थारू स्रष्टाहरूले अब युगको मागअनुसार कलम चलाउन सुरु गर्नु पर्दैन त ? निर्णायक तहमा थारूहरूको पहुँच नभएर उनीहरूको विकासको काम हुन नसकेको अवस्थालाई आत्मसात् गर्दै निगाहवादको विरोधमा आफ्नो शब्द किन नखर्चिने ? सम्मानपूर्ण जीवनको लागि, मानवअधिकारको लागि किन साहित्यिक आन्दोलन नछेड्ने ? थारू साहित्यमा सल्वार्टन पात्रहरू प्रशस्त छन्, तर तिनीहरू विद्रोही हुन सकिरहेका छैनन्।
कृष्णराज सर्वहारीको ‘फुटल करम’ (२०५५) थारू भाषाको पहिलो उपन्यास हो। मनिराम चौधरीको बिधवा (२०५७) थारू भाषाको दोस्रो उपन्यास हो। त्यस्तै, छविलाल कोपिलाको मुक्तिक खोज (२०५९) थारू भाषाको तेस्रो उपन्यास हो। २०६२ सालमा थारू भाषाको उपन्यास हरि आसमा महतोको ‘आत्मा भितरक गाथा भेलई जिन्गिक काथा’ र आदर्श बान्धबको ‘चमेलिया’ (२०६२) प्रकाशित छ। महतोले आफनो लघु उपन्यासमा गजल र खेलसंग्रहसमेत समावेश गरेर पुस्तकलाई खिचडी बनाएका छन्। कैलालीका भोजराज चौधरीले तिरिया जलम (२०६३) उपन्यास प्रकाशन गरेका छन्। यसमा पात्रहरूमार्फत थारू समुदायका सबै चाडपर्वका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ।
कैलालीकै शर्मिला चौधरी ‘सृष्टि’ले ‘दुःखके हल्कोरा’ (२०६४) लेखेर पहिलो थारू महिला उपन्यासकारको रूपमा नाम दर्ता गराएकी छिन्। यी बाहेक कैलालीकै राजकुमार कठरियाको ‘निराशी जीवन’ (२०६४), दाङका श्रीराम चौधरीको ‘झप्टल परेउना’ (२०६४), सञ्जीप चौधरीको ‘जलमके दुखियारी’ (२०६५), सञ्जीप चौधरी जहरको ‘भुलाइल डगर’ (२०६५) प्रकाशित छ। छविलाल कोपिलाको चुरिनियाँ (२०६९) उपन्यास नेपाली भाषामा समेत प्रकाशित छ। उनको भयावन रात (२०६६) उपन्यास कृतिको रूपमा नभई लौव अग्रासन साप्ताहिकमा धारावाहिक रूपमा प्रकाशित छ। गणेश चौधरी सवरियाको ‘जित्तल पटुहिया’ (२०७०), २०६३ सालमा लेखिएको सर्वहारीको ‘लाल केरनी’ उपन्यास २०७४ सालमा आएर बल्ल प्रकाशित भएको छ।
सर्वहारीको ‘गन्तव्य’ (२०५९) उपन्यास थारू समुदायअन्तर्गत मुक्त कमैयाको विषयवस्तुमा आधारित नेपाली भाषामा लेखिएको उपन्यास हो। उनले नेपाली भाषामा लेखिएको लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासलाई छारा शीर्षकमा थारू भाषामा अनुवाद साझाबाट प्रकाशोन्मुख छ। ‘गन्तव्य’ (२०५९) उपन्यास प्रकाशनपछि थारू समुदायको विषयवस्तु थारू समुदायको आख्यानकारबाट नेपाली भाषामा २०७४ सालमा आएर बल्ल अच्कच्र क्रान्तिको नाममा आएको छ। अच्कच्र क्रान्तिको स्रष्टा पुनाराम कर्यावरिक्का हुन्।
अच्कच्र क्रान्ति अनुभवन्यास हो। यसको मुख्य पात्र कमैयाको छोरो पुनाराम जमिनदारको भेँडा बाख्रा चराउँछ। विद्रोह गरेर कमैया छाडी काला पहाड पस्छ। फर्केर स्वेदश आई जनयुद्धमा सामेल हुन्छ।
अहिले नेपाली साहित्यमा अन्य मातृभाषाबाट शब्द पैंचो लिएर पुस्तकको नाम जुराउने चलन बढ्दो छ। अच्कच्र थारू भाषाको शब्द हो, जसको अर्थ हुन्छ अधुरो। कर्यावरिक्काले ५६ पृष्ठको यस अधुरो क्रान्ति पुस्तकलाई उपन्यास भनेका छन्। कति शब्द, पृष्ठको लेखनीलाई उपन्यास मान्ने ? यो अर्को बहसको विषय हुन सक्छ। नारायण ढकालले ‘आत्महन्ता’ कथा संग्रहमा शीर्ष कथा नै ९० पृष्ठको लेखेका थिए।
कर्यावरिक्काको लघुउपन्यास एक किसिमको अनुभवन्यास हो। यसको मुख्य पात्र कमैयाको छोरो पुनाराम जमिनदारको भेँडा बाख्रा चराउँछ। विद्रोह गरेर कमैया छाडी काला पहाड पस्छ। फर्केर स्वेदश आई जनयुद्धमा सामेल हुन्छ उ। पहिले जनयुद्धमा होमिनेहरू अहिले सत्ताको चास्नीमा डुबेका छन्। तर उसले त्यता पहल गर्देन, वरु सानोतिनो जागिर खाएर, साहित्य लेख्दै त्यसैबाट देश परिवर्तन गर्नै अभियानमा जुट्छ। अब देश हतियारबाट नभई कलमबाट बनाइनुपर्छ भन्ने अभियानमा हिँड्छ ऊ।
यसैबीच, एउटा एकलवाचनमा उसको कुनैबेलाको जमिनदारको नाति पनि सहभागी हुन आइपुग्छ। उसबाट प्रभावित हुन्छ र पछि किताब लेखेपछि जमिनदारको नातिले कुनै समय उसको घरमा कमैया बसेको लेखकसँग आफ्नो पुस्तकको सम्पादन र भूमिका लेखाइ माग्छ। यसले समय फेरिएको छ र थारूहरू सधैं हरुवाचरुवामा मात्र घोटिने नभई स्थापित लेखक पनि हुन सक्छन् भन्ने दलिल पेस गरिएको छ।
मुख्य पात्र पुनारामको जनयुद्धको साथी कमरेड अग्राख जनयुद्धपछि सानोतिनो होटेल चलाएर गुजारा गर्छ। होटेलमा मदिरा नबेच्ने कुरै भएन तर जनयुद्धको क्रममा अरूहरूलाई मदिरा बेच्न नदिने, बेच्ने, खानेहरूलाई मदिराले नै नुहाइदिने कार्यबाट सटाइएकाहरूले उसलाई व्यंग्यबाण हान्छन्। गरिखान दिँदैनन् र ऊ खाडी मुलुक भासिन्छ तर त्यहाँ पनि राम्रो कमाइ हुँदैन। बरु लेखक पात्रले स्वदेशमै सानोतिनो काम गरेर लेखनमा अघि बढेकोमा प्रशंसा गर्छ उसले। मुख्य पात्रकी श्रीमतीले लोग्नेको लेखनको प्रशंसा गरेकी छिन्। उनले आफ्नो लेखक लोग्नेको मातृभाषा संरक्षण अभियानलाई टेवा दिँदै विभिन्न कार्यक्रममा परम्परागत पोसाकमै सजिने चाहना राखेकी छिन्। यसमा लेखकले ठाउँठाउँमा सर्वहारी भन्ने पात्र पनि उभ्याएका छन्, जसले उनलाई लेखनमा ऊर्जा दिन्छ।
उपन्यासकार कर्यावरिक्का थारू समुदायका हुन्। तर जनयुद्धमा थारू समुदायले भोग्नु परेको यथार्थ चित्रण गर्न चुकेका छन्। शोषक सामन्तहरूले सताएको कुनै दृश्य छैन यसमा। उनीहरूले सताउने गर्थे भन्ने सामान्य परिवेशमात्र समेटिएको छ। यसले आख्यानको मर्मलाई छुन सकको छैन। तर यसले सानो झिल्को भने दिएको छ। माओवादी उठाएको थारूवान, लिम्बुवान, ताम्सालिङ, तमुवान खै त ? भनेर प्रश्न उठाइएको छ।
कुनैबेला सबै थारूहरूलाई माओवादी ठान्थ्यो प्रशासनले। आख्यानकारले अब थारूहरूले बन्दुकलाई भन्दा दिमागलाई ठूलो सम्झिनुपर्छ भनेका छन्। थारूहरू दंगीशरणका सन्तान हुन्, षड्यन्त्रले मात्रै कमैयाजस्तो कुप्रथा झेले। अरूलाई दास राख्नुपर्नेमा आफैं दास बने। अब दासत्व नमान्ने, यसका लागि आर्थिक, सामाजिक, नैतिक, सांस्कृतिक, राजनीतिक सम्पूर्ण रूपमा अघि बढ्नुपर्ने उद्घोष गरिएको छ। अहिले थारूलगायत विभिन्न जातिका महिलाहरू संसद् भवन तताइरहेका छन्। यही कुरा इंगित गर्न खोज्दै अब छोराछोरीको विभेद होइन, छोरीहरूले नै अधुरो क्रान्ति पूरा गर्नुपर्ने भनिएको छ।
यस उपन्यासको सबैभन्दा कमजोर पक्ष यसले थारू गाउँको चित्रण गर्न सकेको छैन, न त पात्रहरूको संवादमा आञ्चलिकता झल्काउँदै थारू शब्द नै पस्किन सकेको छ। तर गजल, मुक्तक, हाइकुमा सीमित नवआख्यानकार कर्यावरिक्काले आख्यान लेखनमा राम्रो सम्भावना भने देखाएका छन्।