नथिया : कोलाजका रङहरू

नथिया : कोलाजका रङहरू

टेबलमा ‘नथिया’ छ र म ‘नथिया’ चिन्तनको मुडमा छु। उसो त बजारमा पछिल्लोपटक प्रशस्त उपन्यास आएका छन्। न सबै उपन्यास पढ्ने जाँगर हुन्छ न त पढिसकेका सबै उपन्यासबारे चिन्तन गर्न नै। तर, नथियाको प्रसंग बेग्लै। गतिलो पुस्तकले मस्तिष्कमा एउटा तरंगको सिर्जना गर्छ। चिन्तन र विमर्शको लागि झकझकाउँछ।

नथियाको प्राक्कथनमा लेखक सरस्वती प्रतीक्षाले लेखन अनुभूति लेख्ने क्रममा लोसाको भनाइ सापट लिँदै लेखेकी छिन्— ‘पुस्तक लेखन ऐकान्तिक कर्म हो। बाँकी दुनियाँबाट आफूलाई पूर्णतः अलग्गाएर नितान्त आफ्नै पागलपन र यादहरूमा चुर्लुम्म डुब्नु हो।’ तर, लेखन क्रममा लेखक पूर्णतः एक्लो हुँदैन। भौतिक रूपले एक्लो भए पनि ऊ आफ्नो सिर्जनात्मक क्षमता, दार्शनिक चेत, कल्पनाशीलता र भविष्य दृष्टिसहित समाजसँग जीवन्त संवाद गरिरहेको हुन्छ। कतै समाजलाई मुसारिरहेको हुन्छ भने कतै भत्काइरहेको हुन्छ र कतै नवनिर्माणको जग बनाइरहेको हुन्छ। प्लेखानोवले भनेका थिए — ‘जिउँदा मानिसहरूले नै जीवन्त सवालहरूबारे सोच्ने गर्छन्।’ असल लेखक जिउँदो मानिस हो उसले जीवन्त सवालहरूबारे विमर्श गरिरहेको हुन्छ। ‘नथिया’मा सरस्वती प्रतीक्षा जीवन्त सवालहरूबारे सोचिरहेकी भेटिन्छिन्। त्यसैले उनी जिउँदो छिन्।

‘नथिया’ अनेकौं स–साना चित्रहरूले बुनिएको एउटा कोलाज हो। अनेकन् चित्रहरू पोतेर सरस्वतीले एउटा बृहत् कोलाज बनाएकी छन्। म तिनै चित्रहरू केलाउने प्रयास गर्छु।

शब्द : ऐतिहासिक प्रक्रिया

शब्द अक्षर र ध्वनिको संगममात्र होइन। शब्द भाव र अर्थमात्र पनि होइन। शब्द लामो ऐतिहासिक प्रक्रिया पनि हो। उपन्यासको शीर्षक ‘नथिया’ यस्तै एउटा शब्द हो। नथिया अर्थात् नाक छेडेर लगाउने गहना। नथिया सामान्यतः महिलामाथिको दमन, दासता र महिलाको वस्तुकरणको प्रतीक हो। खगेन्द्र संग्रौलाले नाक छेड्ने कर्मलाई पशुलाई नाकमा डोरी कस्नुसँग तुलना गरेका छन्। नथिया राख्नु पराधीनताको प्रतीक हो। तर, उपन्यासमा नथिया राख्नु र उतार्नुले साधारण मान्यताको विपरीत अर्थ व्यक्त गर्छ। यहाँ नथिया स्वाधीनता, उन्मुक्तता र स्वतन्त्रता हो। नथिया उतार्नु भनेको शरीरलाई वस्तुमा परिणत गर्नु हो। नथियाको यस्तो विरोधाभाषी परिभाषा कसरी निर्माण भयो ?  यसको पछाडि वादी जाति निर्माणको लामो ऐतिहासिक प्रक्रिया छ।

एन्डर्स होफरले सन् १८५४ (वि.सं. १९१०) को मुलुकी ऐनमा उल्लेखित जातीय प्रणालीको व्याख्या गरेका छन्। उनको चर्चित पुस्तक ‘द कास्ट हाइरार्की एन्ड स्टेट इन् नेपाल’मा वादी जातिलाई पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने जातिको तहमा वर्गीकरण गरिएको तथ्य छ। पेसाको हिसाबले वादी जाति मनोरञ्जन प्रदान गर्ने ‘कलाकार’ हुन्। उसो त मनोरञ्जनको क्षेत्र दमाईको पनि हो तर वादीलाई उनीहरूभन्दा तल्लो तहमा राखिएको छ। अर्थात्, वादी जातिको परिचयको इतिहास पुरानो जातीय व्यवस्थाको अध्ययनले मात्र प्रस्ट पार्छ।

मनोरञ्जन अभौतिक संस्कृतिको अभिन्न तत्व हो। समाज वर्ण र वर्गमा विभाजित हुँदै जाँदा मनोरञ्जनलाई जातीय पेसामा वर्गीकरण गरेको पाइन्छ। तर, समाज पुरुषप्रधान हुँदै जाँदा माथिल्लो वर्गको पुरुषको लागि बाजा र गीतको मनोरञ्जनले मात्र पुगेन। उनीहरूको लागि आफ्नो यौनाकांक्षा पूर्ति गर्ने जातिको पनि आवश्यक पर्‍यो। त्यसैले संगीतज्ञ जातिलाई धकेलेर आफ्नो यौनाकांक्षा पूर्ति गर्ने जातिमा पुर्‍याएको हुनुपर्छ। आखिर उत्पादनका साधनबाट वञ्चित, सामाजिक पुँजीविहीन, राज्यसत्ताको पहुँचबाट टाढा भएका परिधिकृत जाति–समुदायलाई वस्तुकरण गर्नु नै जातीय व्यवस्थाको चरित्र हो।

समाज पुँजीवादीकरण हुँदै जाँदा वादी जातिका महिलाको लागि यौन बिक्रीयोग्य बन्न पुग्यो। वादी किशोरीको कौमार्य कमोडिटीमा परिणत भयो। नथिया उतार्नु त्यसैले शरीर खरिदबिक्रीको उद्घाटन बन्न पुग्यो। सत्ता, अर्थ र संस्कृतिमा आधिपत्य जमाएको पुरुषले कुनै वादी कन्याको नथिया उतार्नुलाई आफ्नो पुरुषत्वको र उपलब्धिको रूपमा प्रस्तुत गर्न थाल्यो। अनि नथिया न शृंगारको मूल्यमा सीमित रह्यो न त दासताको प्रतीक नै। नथिया बजार मूल्यसँग जोडिन पुग्यो र बन्यो, मांसबजारको कमोडिटी भ्यालु। नथिया राख्नु त्यसैले स्वतन्त्रताको विम्ब बन्न पुग्यो। उपन्यासकी मूल पात्र सामलीको नथिया मोह केवल सौन्दर्यको कारण होइन बरु उसको स्वतन्त्रताको चाहना, स्वाधीनताको भोक र जीजिविषाको सुन्दर प्रतीक हो। नथिया केबल शब्द होइन भोग्याकरण र त्यसको विरोधको लामो ऐतिहासिक प्रक्रियाको शीर्षक हो। नथिया नियति र चाहनाको द्वन्द्व हो। अस्तित्वको खोज हो।

जेन्डरः फरक भूमिका

जेन्डर अर्थात् सामाजिक लिंग। समाजले पुरुष र महिलाको लागि बेग्लै तह र भूमिका तोकिदिएको छ। प्रायः समाजमा कमाउने काम पुरुषको हो। त्यसैले छोरा जन्मियो भने हर्कबढाइँ र छोरी जन्मे रुवाबासी अझै पनि हुन्छ। तर, यो आम जेन्डर रिलेसन वादी जातिमा पुग्दा पूरै उल्टिन्छ। ‘नथिया’मा जेन्डरको यो फरक भूमिका सामली र उसको भाइ बुधेको जन्मको विभेदपूर्ण प्रसंग, पुरुष वादी र महिला वादीप्रतिको सामाजिक मनोविज्ञानबाट चित्रित भएको छ। पुरुष वादीहरू आत्मपीडामा छन्। उनीहरूको काम माछा मार्ने र आफ्ना छोरी चेलीको लागि ग्राहक खोज्ने मात्र हो। वादी महिला त उत्पीडन र दमनका प्रत्यक्ष सिकार भएकै छन् तर पुरुषहरू पनि कम पीडामा छैनन्। उनीहरूले आफ्नो श्रीमती गुमाएका छन्। आफ्ना दिदी–बहिनी गुमाएका छन्। अन्य समाजको आँखामा ती निरीह र अभागी पात्रहरू हुन्। उनीहरूको भूमिका अन्य समाजमा दबिएका महिलाको भन्दा पनि तल्लो तहमा छ। त्यो पीडालाई भुलाउन उनीहरू रक्सी खान्छन् र झगडा गर्छन्। महिला र पुरुषको परिभाषा सबै समाजमा एउटै हुँदैन भन्ने यहाँ पुष्टि भएको छ।

कठघरामा विवाह संस्था

‘नथिया’मा सरस्वतीले विवाह संस्थालाई कठघरामा पुर्‍याएकी छिन्। यसको अर्थ र मूल्यमाथि प्रश्न खडा गरेकी छिन्। कथाकी नायिका सामली प्रेमको पर्याय नै धोका भएको समाजमा रेन्जरसँग विवाह गर्न पुग्छे। उसको बुझाइमा विवाह प्रेमको उच्चतम रूप हो। उसले रेन्जरबाट सबै पाउँछे। पैसा, सुरक्षा र देहव्यापारबाट मुक्ति पनि। तर, उसले प्रेम पाउँदिन। ऊ जहिल्यै शंकाको घेरामा हुन्छे। खासमा ऊ रेन्जरको वैवाहिक वेश्यामा मात्र परिणत हुन्छे। उ फेरि पनि भोग्या हुन्छे।

त्यसपछि उसले विवाह गर्छे मोहम्मदसँग। यो विवाह प्रेमको आशक्तिभन्दा पनि सुरक्षाको खोजी थियो। विवाहले यौनलाई सामाजिक वैधता प्रदान गर्छ, जीवन यात्रामा सहयात्री दिन्छ, एक्लोपनाबाट मुक्त गराउँछ, सन्तान उत्पादन र वंशलाई निरन्तरता दिन्छ र दिन्छ सामाजिक सुरक्षा पनि। विवाह संस्थाका यी गुणमध्ये मोहम्मदसँगको विवाहमा सामलीले सबैभन्दा बढी सामाजिक सुरक्षाको खोजी गरेकी छे। यहाँनेर महिलाद्वारा चाहना गरिने पुरुष गुणको खोजी पनि छ। सामाजिक लिंग (जेन्डर) निर्माणको लामो इतिहासमा महिला र पुरुषका मान्यताहरू स्थापित गरिएका छन्। महिलाको लागि पुरुष सुरक्षा हो। बलियोपन हो। अलिकति जिराहापन र जबर्जस्ती पनि हो। ती मान्यताबाट सामली पनि गाँजिएकी छ। तर, मोहम्मद असफल हुन्छ सामाजिक मान्यतामा स्थापित पूर्ण ‘पुरुष’ हुन। र, विवाह संस्था फेरि धरापमा पर्छ।

सामली त खासमा जय नेपाललाई प्रेम गर्छे। एउटा अव्यक्त प्रेम। तर, विवाहको लागि न त सामलीले न त जय नेपालले नै प्रस्ताव गर्छन्। किन ?        किनभने विवाह संस्थाका तमाम आधारहरू पूरा भएका छैनन्। मुख्यतः जय नेपालबाट सुरक्षा प्रत्याभूत हुन सक्दैन। जब सामली साँच्चै प्रेम गर्न थाल्छे दिवाकरलाई उसले विवाहमाथि नै प्र्रश्न गर्न थाल्छे। दुई–दुई विवाहबाट पीडित सामलीले आफ्नो तीतो विगतको पाठबाट शिक्षा लिएर पत्रमा लेख्छे—‘प्रेम र विवाह फरक–फरक कुराहरू हुन्।...बिहाले प्रेमलाई मार्छ र हजुरसँगको प्रेम मर्‍याको कम्तीमा मु देख्न सक्दोनइ।’ प्रेम र विवाहको यो विरोधाभासले विवाह संस्था संकटमा परेको छ।

नथिया केबल शब्द होइन भोग्याकरण र त्यसको विरोधको लामो ऐतिहासिक प्रक्रियाको शीर्षक हो। नथिया नियति र चाहनाको द्वन्द्व हो। अस्तित्वको खोज हो।

भत्किँदा सामाजिक विम्बहरू

समाज ढोंगी छ। बाहिर सुन्दर पर्दा टाँगेर भित्र रित्तै छ। आवरणमा चमक भित्र पूरै खोक्रो। समाजको यस्तो ढोंगी विम्ब ‘नथिया’मा पटक–पटक भत्किएको छ –रत्नमानको विवाहमा सामलीलाई मुसार्न बाबु साहु बेखामान र छोरा रत्नमान आउँदा, विवाहबन्धनमा बाँधिदै गरेको रत्नमानको सामलीप्रतिको आशक्ति झल्किँदा, युवा भिक्षुले कोकिलाको नथिया उतार्दा, सामलीलाई देखेर मन्दिरको पुजारी झस्किँदा। पटकपटक तथाकथित सामाजिक मर्यादा धुजाधुजा भएका छन्।

पुरुष : बाहिर पोषिला भित्र रित्ता

‘स्वास्नीमान्छेको मन ओखरजस्तो न हो। बाहिर कठोर भित्र नरम।’ एक ठाउँमा यस्तो लेखेकी छिन् सरस्वतीले। तर, ‘नथिया’का विभिन्न कथाहरूले देखाउँछन्– पुरुष बाहिर पोषिलो, भित्र रित्तो हुँदोरहेछ। पुरुषप्रधान समाजले थोपरिदिएको मर्यादा, सत्ता, इज्जत, प्रतिष्ठा आदिको जलपले पुरुषबाहिर चम्किलो देखिँदोरहेछ। पुरुषप्रधान समाजले पुरुषलाई मान्छेपनबाट पर लैजान्छ भन्ने यसैबाट पुष्टि हुन्छ। समाज भन्छ— पुरुष कठोर हुन्छ उसले आँसु झार्नु हुँदैन। पुरुषलाई मानवीय संवेदना प्रदर्शन गर्न कथित मर्यादाले रोक लगाउँछ। तर, पुरुष आफैं यो सामाजिक बन्धनबाट भागिरहेको छ। ऊ भाग्छ, भाग्छ र भाग्दै आफूलाई पोख्ने ठाउँमा पुग्छ। आडम्बरले टिलपिल टिलपिल लोग्नेमान्छेलाई पोखिने ठाउँ चाहिन्छ। बाहिर क्रूर देखिने शेरे डन सामलीको काखमा रुन्छ। स्वास्नीले कुटेको कवि चेतनाथ इन्दे्रणी पनि पोखिन सामलीसम्मै पुग्छ। त्यसैले त सामली निष्कर्ष निकाल्छे— ‘बाहिरबाट हेर्दा जति बलवान् लागे पनि लोग्नेमान्छेहरू साह्रै डरपोक हुँदा रहेछन्।’ तर, पुरुषप्रधान समाजले बलियोपनको अभिनय गर्न बाध्य पारिरहेछ। बिचरा लोग्नेमान्छेहरू !

सिर्जनात्मक बदला र परिवर्तनको दियो

युगौं युग लामो उत्पीडनले दासता स्वभाव बनिदिन्छ, सायद। स्वभावले यथास्थितिलाई कायम राख्दछ। नथिया उतार्ने बलात्कार काण्डपछि सामली महिना लामो बिरामी हुन्छे। नथिया उसको लागि स्वाधीनताको सुन्दर गुलाफ थियो तर त्यो किचिमिची पारियो। उसको एकांकीपन र पराजित मानसिकतालाई सुक्मेली र कोकिलाले आफ्ना विगत सुनाएर भत्काइदिन्छन् र यथार्थको धरातलमा उतार्छन्। आफ्नो भाग्यलाई दोष दिँदै सामली यथार्थको कटु वर्तमानमा फर्किन्छ। राजापुरको यात्रापछि यथास्थितिप्रतिको उसको समर्पण अझै बढ्छ। यहीँनेर भाग्यवादले कसरी यथास्थितिवादी गराउँछ भन्ने पुष्टि हुन्छ।

वादी हुनु नियतिको खेल हो। र नियतिले वादी महिलाको पोल्टोमा शरीरको सौदागारी थोपरिदिएको भन्ने भाग्यवादी चिन्तनले सामलीबाट सामली वादीको निर्माण भएको छ। जसमा काम गरेका छन्, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाले। ‘वादीले टेकेको जमिन बाँझो हुन्छ’ भन्ने मान्यताको स्थापना, उत्पादनका साधनमा स्वामित्वबाट वञ्चितीकरण, सामाजिक श्रेणीक्रममा तल्लो अछूत स्थान र राज्यसत्तासँगको पहुँचविहीनता – यी सबैसबैले सामलीको ‘वादीकरण’ भएको छ (यो सन्दर्भमा वादीकरणको अर्थ जातीगत रूपमै देहव्यापारको बाध्यता बुझियोस्, यद्यपि यो शब्द प्रयोगले बृहत्तर छलफलको माग गर्छ। निश्चित जाती–समुदायमा जन्मेकै आधारमा अनिवार्य देहव्यापारमा लाग्नुपर्ने बाध्यताका कारण एक महिला देहव्यापारी बन्ने प्रक्रियालाई कुन शब्दले परिभाषित गर्ने हो – छलफलको विषय हो।)। सामली अन्य पेसा गरेर खान पनि त सक्थी भन्ने भावुक र कमजोर तर्क गर्न त सकिएला। तर, सरस्वती प्रतीक्षाले ‘नथिया’मा देखाएका अर्थ–सामाजिक र सांस्कृतिक छेकबारहरूलाई मनन् गर्नासाथ तर्कको फितलोपन स्वयम् पुष्टि हुन्छ।

भाग्यवादको आवरणमा स्थापित यी छेकबारको परिणाम क्षतविक्षत शरीर र मन बोकेर सामली मांसबजारमा उत्रेकी छे। तर, मानिसको अन्तर्यमा जहिल्यै जिउँदो मान्छे हुन्छ। त्यो बाँच्न खोज्छ। त्यो उन्मुक्तिको श्वास फेर्न खोज्छ। त्यो जिउँदोपन सामलीमा अलि बढी नै हावी छ। अरूहरूले त्यो जिउँदो मान्छेलाई दबाएका छन् तर सामलीको ज्यँदो मान्छेले उसलाई बदलाभाव दिएको छ। तर, के नै छ र सामलीसँग ? न पहुँच, न सत्ता, न शस्त्र न शास्त्र ! सबै खोसिएकी सामलीसँग एउटा यस्तो अस्त्र छ जसलाई न कसैले देख्न सक्छ, न त खोस्न। त्यो हो सिर्जनात्मक बदला। धन्दा सबैले गर्न थाले। नियतिको त्यान्द्रोमा जिन्दगीलाई लट्काएर नियतिकै भेलमा सबै बगे तर सामलीले त्यही नियतिलाई बदलाको अस्त्र बनाइदिई। बलात्कारी साहु बेखामानको छोरो रत्नमानलाई आफ्नो मोहपासमा अल्झाएर।

सिर्जनात्मक बदला उत्पीडित मानव समुदायको सबैभन्दा ठूलो आविष्कार हुनुपर्छ। यही बदलाभाव र विजयले सामलीलाई सधैँ ज्युँदो राखेको छ। उसको जीवनमा अनेक घुम्ती आएको छ तर उसभित्रको मानिस सधैँ ज्युँदो छ। कहिले शुष्क, कहिले प्रष्ट। जब दिवाकरको भेटले उसमा आत्मसम्मानको बीजारोपण गर्छ उसभित्रको मानिस निकै चल्मलाउँछ। सधैं भोग्या भइरहेकी सामली दैहिक सुखभन्दा माथि उठेको साँचो प्रेमको अनुभूतिले बन्धनका सारा सिक्री तोड्न अभिप्रेरित हुन्छे। सामलीको जीवनको पछिल्लो परिवर्तन र सुरुवातको सिर्जनात्मक विद्रोहबीच खासै सम्बन्ध देखिँदैन तर मिहिन ढंगले हेर्‍यौं भने हामी देख्छौं सिर्जनात्मक विद्रोहकै विकासक्रम हो – देहव्यापार त्याग्ने निर्णय। सामलीको मनभित्र धिपधिपाइरहेको सिर्जनात्मक दियोमा तेल थप्ने काम गर्‍यो दिवाकरको प्रेमले।

कहाँनेर छिन् सरस्वती ?      

नेपाली उपन्यास जगत्मा अहिले केही प्रयोगहरू देखा परिरहेछन्। कुमार नगरकोटी, गनेस पौडेलहरू सर्रियलिज्मको नेपाली प्रयोग गरिरहेका छन् भने सरस्वतीले अनुसन्धानमा आधारित सामाजिक यथार्थवादी कथा पस्केकी छिन्। यद्यपि उनी आफैं यसलाई पोयटिक रियालिज्मको प्रयोग बताउँछिन्।

समग्रतामा हेर्ने हो भने नथिया महिलालाई केन्द्रमा राखेर लेखिएको उपन्यास हो। यसको केन्द्र वादी जाति नभई कसरी महिलालाई पुरुषप्रधान समाजले भोग्या बनायो भन्ने नै हो। अर्थात् महिलाको कमोडिफिकेसनको कथा हो ‘नथिया’। तर, अलि मसिनोगरी हेर्ने हो भने नथियामा कुनै प्रष्ट फिलोसोफिकल अप्रोच भेटिँदैन। लेखकको आफ्नै दार्शनिक चेतले परिपूर्ण भएर समाजको निरूपण भइरहको छैन बरु समाजको चित्रणमात्र भएको छ। समाजमा गएर केही पात्रहरूको कथा टिपेर सुन्दर ढंगले भनेपछि उपन्यास हुन्छ भन्ने पछिल्लो नेपाली आख्यान लेखनको सिलसिलामा सरस्वती पनि थपिएकी छन्। उपन्यास हुनुको हदसम्म यो प्रवृत्तिमा समस्या नहोला। तर, आख्यानकारको काम कथा भन्ने मात्र हो वा अरू पनि हुन्छ भन्ने बृहत्तर फ्रेममा बहस गर्ने हो भने दार्शनिक अप्रोचको प्रश्न समकालीन नेपाली आख्यान लेखनकै सन्दर्भमा गर्नुपर्ने हुन्छ।

नथियालाई अनेक अप्रोचबाट केलाउन भने सकिन्छ किनभने यो कोलाज हो। सबाल्टर्न अध्ययनको लागि यो बेजोडको कृति हो। ‘सबाल्टर्न भनेको सबै प्रकारका सामाजिक गतिशीलताबाट अलग हुनुको अवस्था हो’ भन्ने गायत्री स्पिभाकको परिभाषालाई आधार मान्ने हो भने वादी सबाल्टर्नका गतिला उदाहरण हुन् किनभने उनीहरू सामाजिक गतिशीलताबाट अलग गराइएकै हुन्। त्यस्तै फेमिनिस्ट अध्ययनको लागि पनि यो गतिलो कृति हो। यस्ता कैयन् अप्रोच यसमा भेटिन्छ। तर, लेखकको भूमिका के हो ?  लेखकले आफ्नो दार्शनिक चेतको उच्चताबाट बलिया पात्रहरूको जन्म गराउनुपर्छ। लेखनको समाजबाट टिपेको विषयवस्तुलाई दार्शनिक उचाइ दिन्छ र समाजको निरूपण गर्छ। लेखक रचयिता हो उसले वर्तमानको स्थुल चित्रण मात्र होइन खरानीभित्रको आगोजस्तो मसिनो सत्यको उद्घाटन पनि गर्छ। समाजको गतिलाई इंगित गर्छ। जय नेपाल र युक्फुङ सरजस्ता पात्रहरू मार्फत् समाजको परिवर्तन चाहनालाई इंगित गरे पनि सिंगो सामाजिक गति खासै खुलेको छैन। सरस्वतीले भूमिकामै लेखेको ९५ प्रतिशत यथार्थ हो भन्ने कथन र लेखनशैलीलाई नियाल्दा उपन्यास गतिलो केस स्टडीजस्तो पो देखिन्छ।

पात्रको चरित्र निर्माण जति बलियो ढंगले आउनुपथ्र्यो अझै बन्न सकेको छैन। रेन्जर र शेरे डनको चरित्र चित्रण जति खुलेको छ त्यति सामली, जय नेपाल वा दिवाकरकै प्रष्ट छैन। नेपाली उपन्यासमा पात्रको चरित्र निर्माण निकै समस्याको विषय हो। पात्रको चरित्र निर्माणले लेखकको दार्शनिक चेतलाई प्रष्ट्याउँछ र मानवीय संवेदनालाई अभिव्यक्त गर्छ। आख्यानमार्फत सामाजिक मुद्दाहरू उठाउने तसलिमा नसरिन, सलमान रुस्दी, अरुन्धतीको लक्षण देखापरे पनि उनीहरूको जस्तो बृहत् आयतनको अभाव भने खट्किन्छ। सरस्वती बौद्धिक बहस र दार्शनिक चेतको कुन फाँटमा छिन् भन्ने प्रश्न निकै तेजिलो छ।

दाँतमा लाग्ने ढुंगाहरू

नथियाका कैयन् घटनाहरू एकदमै मर्मस्पर्शी प्रतीत हुन्छन्। तर, तिनले जति संवेदनाको ज्वार सिर्जना गर्नुपर्ने हो त्यति सफल नभएको महसुस हुन्छ। त्यसको कारण हो – संवाद र दृश्यचित्रणभन्दा लेखकको न्यारेसन बढी भयो। नथियाको भोल्युम अझै बृहत् हुनुपथ्र्यो। संवाद र दृश्यहरू अझै परिपूर्ण हुनुपथ्र्यो। जस्तै, रत्नमानसँगको बदलाको प्रसंगमा रत्नमानसँगका संवादहरूबाट झल्किनुपथ्र्यो। दृश्यले घटनाको मर्मलाई अझै गाढा गराउँछ।

लेखक ठाउँ–ठाउँमा अनावश्यक विम्ब र प्रसंगबाट अल्झेको देखिन्छ। जस्तै, पेज नं. २०४ मा लेखक वर्गसंघर्षका प्रकारबारे चर्चा गर्न व्यस्त हुन्छिन्। जसले उनको वर्गसंघर्षबारेको फितलो बुझाइलाई झल्काएको छ भने आख्यानलाई हलुंगो पारेको छ। त्यस्तै ठाउँठाउँमा देखापर्ने पात्रभन्दा बोझिला शब्दहरूले सम्पादनको कमीलाई इंगित गर्दछ। प्रहरीसँगको संवादमा वादी महिलाका शब्दहरू कृत्रिम लाग्दछन्।

एउटा संस्थाको सहयोगमा सामलीले आफ्नो छोरीलाई काठमाडौं पढ्न पठाएको प्रसंग पनि उल्लेख छ। तर, कतै पनि संस्थाको प्रकृति र कार्यशैली देखिएको छैन। ठाउँठाउँमा लेखका बढी हावी भएको देख्दा प्राविधिक त्रुटिमात्र होला र भन्ने आशंका उत्पन्न हुन्छ। यसले सम्पादनको अपर्याप्तता देखाउँछ। तर, यी प्राविधिक कमजोरीले उपन्यासको पठनीयता र महत्तालाई भने ओझेलमा पार्दैनन्। भोग्या चिन्तनको जगमा अडिएको लिंगभेदी समाजको असली चरित्र बुझ्ने मामिलामा ‘नथिया’ पठन महत्वपूर्ण नै रहिरहनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.