प्रतीक्षा पुनरागमनको

प्रतीक्षा पुनरागमनको

पछिल्ला केही महत्वपूर्ण खेलमा उनी छुटेका छन्। उनले मात्रै होइन, टोलीका सहकर्मीले पनि उनको अनुपस्थिति महसुस गरेका छन्। दर्शकलाई उनको खेल हेर्न नपाएको दुःखेसो छ।

झ्याप्प दाह्री पालेको अनि साविकको भन्दा केही मोटाएको ज्यानसहित हाजिर भएका उनको अनुहारमा आज विशेष खुसी छाएको छ। उनी फेरि ब्याट समात्दै छन्।

कुनै समय नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य रहेका सुवास खकुरेलले पछिल्ला आठ महिना ब्याटसमेत छोएनन्। उनी अभ्यासका लागि पनि मैदानमा उत्रिन सकेनन्। नेपाली क्रिकेटमा आक्रामक तर भरपर्दा प्रारम्भिक ब्याट्सम्यानको छवि बनाएका सुवासलाई यो समय चोटले निक्कै सतायो।

नेपाली टोली गत जुलाईमा अन्तर्राट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलको तयारीमा जुटिरहेको थियो। त्यति नै बेला सुवासको हात फ्याक्चर भयो। मोटरसाइकलबाट लडेर उनको दायाँ हातको नाडीको हड्डी भाँच्चियो। डक्टरले उनलाई केही समय पूर्ण आराम गर्नुपर्ने सल्लाह दिए। हङकङविरुद्धको महत्वपूर्ण खेलमा उनी उपस्थित हुन सकेनन्।

सुवास नेपाली क्रिकेटमा यस्ता खेलाडी हुन्, जसको नाममा राष्ट्रिय टोलीबाट एकै पालीमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान छ। उनले सन् २०१२ मा मलेसियामा भएको डिभिजन चार प्रतियोगिताअन्तर्गत अमेरिकाविरद्ध एकै पालीमा एक सय १५ रन प्रहार गरेका थिए।

नेपाली राष्ट्रिय टोलीबाट हालसम्म सात खेलाडीले १० वटा शतक प्रहार गर्दा सर्वाधिक बढी रन उनै सुवासले प्रहार गरेका हुन्। उनीभन्दा पछि उपकप्तान ज्ञानेन्द्र मल्लले एक सय १४, अनिल मण्डलले एक सय १३ तथा कप्तान पारस खड्काले एक सय १२ रन प्रहार गरेका छन्।

नयाँ पिचमा समेत नयाँ बललाई निक्कै सुझबुझपूर्ण तरिकाले खेल्दै नेपालको पालीलाई छिट्टै माथि पुर्‍याउन सक्ने क्षमता राख्ने सुवासको अनुपस्थितिले यो अवधिमा नेपाली क्रिकेटलाई ठूलो क्षति पुग्यो। परम्परागत रूपमै ब्याटिङमा संघर्ष गर्दै आइरहेको नेपाली क्रिकेटमा सुवास यस्ता खेलाडी हुन्, जोसँग प्राकृतिक रूपमा प्रारम्भिक ब्याट्सम्यानको खुबी छ।

सन् २०११ को डिसेम्बरमा एसियाली क्रिकेट काउन्सिल (एसीसी) टीट्वेन्टी कपअन्तर्गत हङकङविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले अहिलेसम्म प्रारम्भिक ब्याट्सम्यानको रूपमा मात्रै खेलेका छन्। नेपाली राष्ट्रिय टोलीबाट हालसम्म प्रारम्भिक खेलाडीको रूपमा ७१ खेल खेलेका सुवासले एक हजार चार सय ५० रन जोडेका छन्, जसमा एक शतक र आठ अर्धशतक समावेश छन्। उनी चोटग्रस्त हुनुभन्दा अघि सायदै उनलाई अन्य कुनै खेलाडीले प्रारम्भिक खेलाडीको रूपमा परिवर्तन गरे।

रुम बनाएर अफ साइडमा सुन्दर सट प्रहार गर्न सक्ने खुबी बनाएका सुवास नेपालले हालसम्म पाएकोमध्ये उत्कृष्ट प्रारम्भिक ब्याट्सम्यान हुन्, जोसँग प्रारम्भिक ब्याट्सम्यानको विशेष गुणहरू छन्।

कुनै समय नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य रहेका सुवास खकुरेलले पछिल्ला आठ महिना ब्याटसमेत छोएनन्। उनी अभ्यासका लागि पनि मैदानमा उत्रिन सकेनन्।

सुवासको चर्चा यहाँ किन पनि सान्दर्भिक भएको छ भने उनीबिनाको नेपाली टोलीले पछिल्लो समय कुनै पनि अन्तर्राष्ट्रिय खेलमा गतिलो सुरुवात गर्न सकेको छैन। गत बिहीबार सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा पनि नेपाली प्रारम्भिक जोडी नचल्दा नेपालले जितका लागि निक्कै संघर्ष गर्नुपरेको थियो। प्रायः खेलमा बलरको निर्णायक प्रदर्शनमा मात्रै नेपालले जित भेट्टाउन सफल भयो।

डिभिजन दुईमा फाइनलसहित ६ खेल खेल्दा पाँचमा उपकप्तान ज्ञानेन्द्र मल्ल र दिलीपनाथ तथा एकमा ज्ञानेन्द्र र अनिल शाहले नेपाली पालीको सुरुवात गरेका थिए। क्यानडाविरुद्धको खेलमा दिलीपले ४१ रन बनाउनबाहेक अन्य खेलमा कुनै पनि प्रारम्भिक ब्याट्सम्यान चलेनन्।

सुरुवाती भरपर्दा ब्याट्सम्यान एकपछि अर्को सस्तो योगफलमै आउट हुँदा नामिबियाविरुद्ध वसन्त रेग्मी तथा क्यानडाविरुद्ध करण केसीको अविश्वसनीय प्रदर्शनले मात्रै नेपाल विजयी बनेको थियो।

यसअघिका प्रतियोगितामा दुईमध्ये एक प्रारम्भिक ब्याट्सम्यान असफल हुँदा समेत अर्कोले रन जोडेकै हुन्थे। यस पटक दुवै प्रारम्भिक ब्याट्सम्यान नचल्दा सुवासकै अभाव महसुस भएको थियो।

नामिबियामा नेपाली प्रारम्भिक ब्याट्सम्यानले रन जोड्न संघर्ष गरिरहँदा यता सुवास आठ महिनापछि मैदानमा फर्किएका थिए, खुकुरी कप क्रिकेट प्रतियोगितामार्फत। त्यसैले लामो समयपछि आफ्नो जीवन मानेको क्रिकेटमा फर्कदा सुवासको अनुहारमा विशेष खुसीको सञ्चार भएको देखिएको थियो, जुन खुसी उनले सुनाएका पनि थिए।

सुवासले यसअघि नै मैदानमा फर्कने प्रयास गरेका थिए। गत डिसेम्बर अन्तिममा सम्पन्न भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अघि उनी चितवन टाइगर्ससँग अनुबन्धित भएका थिए। त्यसैले ईपीएलको तयारी गर्न मैदान पुगेर दोस्रो ओभरको ब्याटिङ अभ्यास मात्रै गरेका उनको हात सुन्निएर आयो। अभ्यास त्यही छाड्नु छाडे। उनले ईपीएल खेल्न नसक्ने भए। त्यसपछि चितवन टाईगर्समा खेलाडीबाट उनी व्यवस्थापक बने।

त्यसबेला उनलाई आफ्नो करिअर समाप्त भएको महसुस भएको रहेछ। त्यसबेला उनको आँसु नै झरेको थियो रे। गत खुकुरी कपअघि दुई दिन अभ्यास गर्दा केही सहज महसुस भए पछि भने उनको खुसी फेरि फर्किएको छ। त्यसपछि झन्डै दुई साता प्रतियोगितामा सहभागी हुँदा समेत हातमा पहिलेको जस्तो दुःखाइ महसुस नहँदा उनले चाँडै नै पुरानो लय समात्ने आशा बढेको छ।

यद्यपि उनले अहिले नै पूर्ण रूपमा क्रिकेट खेल्न सुरु गरिसकेका छैनन्। हातलाई धेरै घुमाउन अझै नहुने भएकाले बेसिक सटहरू मात्रै खेलिरहेका छन्। उनी अबको केही समयभित्रै पूर्ण स्ट्रेचिङसहित शरीरलाई तयार पारेपछि क्रिकेटमा बढी जोड दिने सुनाउँछन्।

उनी आफ्नो पुनरागमनको व्यग्र प्रतीक्षामा छन्। चाँडोभन्दा चाँडो राष्ट्रिय टोलीमा फर्कंदै सशक्त प्रदर्शन गर्ने योजनामा छन्। सन् २०१४ मा भएको टीट्वेन्टी विश्वकप क्रिकेट खेलेको ऐतिहासिक टोलीका महत्वपूर्ण सदस्यसमेत रहेका उनी नेपाललाई फेरि त्यस्तै सफलतातर्फ डोहोर्‍याउन आफूले सम्पूर्ण मेहनत गर्ने बताउँछन्। राष्ट्रिय टोलीमा सुवासको पुनरागमन चाँडै होस्, हाम्रो पनि शुभकामना।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.