शुक्रराजको स्वर्ग

शुक्रराजको स्वर्ग

नेपाली इतिहासमा १९९७ सालको हत्याकाण्डले विशेष महत्व राख्छ। सोही वर्ष माघ महिनामा नेपालले चारजना होनहार सपूत (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ) लाई सदाका निम्ति गुमायो। भौतिक रूपमा उनीहरू हामीबाट टाढिए। यद्यपि, उनीहरूको बलिदानीले प्रजातन्त्रप्रतिको जनताको उत्कण्ठा र राणाशाहीप्रतिको घृणालाई चरमचोटीमा पुर्‍यायो। त्यसलगत्तै समग्र विश्वसहित दक्षिण एसियामा सुरु भएको ठूलो उथलपुथलसँग नेपाली जनताको यस्तो मनोभाव एकाकार हुन पुग्यो र राणाशाही अन्त्य भयो। यस अर्थमा सहिदहरूको बलिदानीले राणाशाहीको चिहान खन्न टेवा पुर्‍यायो।

राणाशाहीविरोधी पर्चाकाण्डमा संलग्न नेपाल प्रजापरिषद्सँग आबद्ध भएकाले धर्मभक्त, दशरथ र गंगालाललाई मृत्युदण्ड दिइयो। शुक्रराजचाहिँ नेपाल पर्चाकाण्ड हुनुअगावै अर्कै मुद्दामा दोषी करार भएर जेल सजाय काटिरहेका थिए। उनी जेलमा छँदै प्रजापरिषद्ले राणाशाहीविरुद्ध शृंखलाबद्ध रूपमा पर्चा छर्‍यो। राणाशाही ढालेर जनतालाई स्वतन्त्रता दिलाउने अभिलाषासहितको पर्चाकाण्डसँग कुनै साइनो नभएका शुक्रराजलाई पनि सोही मुद्दामा हेलियो र मृत्युदण्ड दिइयो। विसं १९९७ माघ १ गते उनलाई काठमाडौंको पचलीमा झुन्ड्याएर मारियो।

राणाशाहीविरुद्ध छरिएको पर्चाको अध्ययनबाट शुक्रराज बाहेकका सहिदहरूको राजनीतिक आस्था बुझ्न सकिन्छ। राणाशाहीप्रति शुक्रराजको धारणाचाहिँ कस्तो थियो भन्नेबारे अत्यन्त कम चर्चा हुने गरेको छ। यो आलेखमा यसैबारे चर्चा गरिनेछ।

०००

नेपाली समाजबारे शुक्रराजको धारणा र सपना उनको किताब ‘स्वर्गको दरबार’मा व्यक्त भएको छ। यो किताब उनले जेल पर्नुभन्दा सात वर्षअघि विसं १९८६ को शिवरात्रिका दिन कलकत्ताबाट प्रकाशित गराएका थिए। स्वर्ग कस्तो हुन्छ भन्नेबारे किताबको ‘प्रस्तावना’मा भनिएको छ—

दुःख शोकको जहाँ न लेश छ,

सदा साथ जहाँ अखिलेश छ।

काम क्रोधको जहाँ न शेष छ

छल छिद्रको जहाँ न भेष छ।

मरेपछि मात्रै हासिल हुने विश्वास गरिएको स्वर्गलाई मत्र्यलोकको नेपालमा अवतरित गराउने शुक्रराजको पवित्र आकांक्षा किताबमा मुखरित भएको छ।

शुक्रराज मूलतः राजनीतिक प्राणी थिएनन्। यद्यपि, राजनीतिप्रति पूर्ण निरपेक्ष पनि थिएनन्। संगठनप्रतिको लगाव उनमा अवश्य थियो। तर ‘नेपाल प्रजापरिषद्’ अथवा त्यसभन्दा अघिको ‘प्रचण्ड गोरखा’का अगुवाले झंै संगठनको बलमा मुलुकको राजनीतिक जीवनमा उथलपुथल ल्याउने उग्र अभिलाषा उनमा थिएन। राजनीतिक परिवर्तनभन्दा सामाजिक उत्थानमा उनको बढी जोड थियो। यस अर्थमा उनको विचार र गतिविधि राजनीतिक क्रान्तिकारिताको रुमानी चाहनाबाट भन्दा बढ्ता समाजिक सुधारको तीव्र अभिलाषाबाट अनुप्राणित थियो। नेपाली जनजीवनमा आमूल परिवर्तन आवश्यक छ भन्ने उनको र अन्य तीन सहिदको बुझाइ मिल्दोजुल्दो थियो। यद्यपि, परिवर्तन कस्तो हुने र त्यस्तो परिवर्तन कसरी हासिल गर्ने भन्नेबारे चाहिँ उनीहरूबीच ठूलै भिन्नता थियो।

०००

शुक्रराज नेपाललाई स्वर्ग बनाउन चाहन्थे। यस अर्थमा उनले राणाकालीन नेपाललाई नरकतुल्य देखेका थिए। गुरुकुलीय प्रतीत हुने शिक्षापद्दतिमार्फत ‘शास्त्री’ उपाधि हासिल गरेका उनमा वैदिक धर्मको सनातन शुद्ध स्वरूपप्रति अतिशय आकर्षण थियो। सनातन वैदिक मतको पुनर्जागरण गराउने भारतीय विद्वान् दयानन्द सरस्वतीको वेदलगायत प्राचीन हिन्दु धर्मग्रन्थहरूको भास्यबाट उनको वैचारिक जग निर्मित थियो। तिनै भास्यको आलोकमा उनले नेपाली जनजीवनमा परिवर्तन ल्याउने आकांक्षा राखेका थिए। पश्चिमी ढाँचाको अग्रगामी राजनीतिक क्रान्तिमार्फत नभई प्राचीन वैदिक मतको पुनर्जागरण गराउने पश्चगामी अभियानमार्फत नेपाललाई स्वर्ग बनाउन सकिन्छ भन्ने उनको बलियो मान्यता थियो। यद्यपि, उनको ध्येयमा प्रगतिशीलता थिएन भन्नेचाहिँ होइन।

सनातन वैदिक मतको पुनरोदय गराउने शुक्रराजको जस्तो पश्चगामी सुधारवादमा पनि प्रगतिशील चरित्र सन्निहित हुन्छ भन्ने कुरा बीपी कोइरालाले पनि स्वीकारेका छन्। बीपीका कुटुम्बेरी धरणीधर कोइरालाको विचार पनि शुक्रराजकै जस्तो थियो। धरणीधरबारे आफ्नो आत्मकथामा चर्चा गर्ने क्रममा बीपीले भनेका छन्, ‘उहाँ व्यक्तिगत जीवनमा रूढिवादी नै हुनुहुन्थ्यो; र आफ्नो भेषभूषामा कुनै प्रकारको आधुनिकीकरणको पक्षपाती हुनुहुन्नथ्यो, तैपनि वहाँको बौद्धिक चेतना सुधारवादी थियो। वहाँको समाजसुधारको (बुझाइ) अर्थसामाजिक रीतिस्थितिको खलबल गर्ने होइन कि त्यसबाट लोप भएर गएको प्राचीनकालीन आदर्शलाई स्थितिको अनुरूप पुनःस्थापित गर्ने थियो। देश र समाजको अधोगतिको कारण हाम्रो प्राचीन संस्कृतिको लोप थियो वहाँका लागि, त्यसो हुनाले जागृत नयाँ दुनियाँमा जाग्नु होइन कि प्राचीन दुनियाँमै पुग्नु हो, जहाँ धर्मको अर्थ कर्मकाण्ड मात्र थिएन, अपितु त्यसको अर्थसामाजिक चेतनशीलता अनुप्राणित हुनु थियो (बीपी कोइराला, आफ्नो कथा, विसं २०७०, पृ. ५०)।’ यस्तो सुधारवादमा प्रतिगामी भावना मात्र हुन्छ भन्नु उपयुक्त नहुने बीपीको मथ थियो (ऐजन, पृ. ५१)।

०००

शुक्रराजको दृष्टिमा नेपालका हरेक गृहस्थी स्वर्गको दरबार बन्न सर्वथा योग्य थिए। यसका लागि हरेक गृहस्थीमा महिला मुक्त हुन आवश्यक छ भन्ने उनको ठहर थियो। महिलाहरू सही अर्थमा मुक्त भएमा बृहत्तर समाजसुधारको विराट् लक्ष्य स्वतः हासिल हुन्छ भन्ने मान्यताबाट उनको विचार र व्यवहार प्रभावित थियो। यस अर्थमा उनी लैंगिक असमानता अन्त्य गरेर समाजका सबैखाले समस्याको एकमुष्ठ समाधान गर्न खोज्ने प्रखर महिला अधिकारकर्मी थिए। तत्कालीन नेपाल महिलाप्रति निर्मम भएकैले नरकीय भाषमा जकडिएको छ भन्ने उनको विश्वास थियो।

शुक्रराजको विचार राजनीतिक क्रान्तिकारिताको रुमानी चाहनाबाट भन्दा बढ्ता समाजिक सुधारको तीव्र अभिलासाबाट अनुप्राणित थियो।

‘स्वर्गको ढोका’ किताबमा उनले बालविवाह, वृद्धविवाह, बहुविवाह, अस्वयम्वरविवाह र कुटुम्बविवाहका कारण नेपालका घरगृहस्थीमा स्वर्गको फाटक खुल्न नसकेको उल्लेख गरेका छन् (शुक्रराज शास्त्री, स्वर्गको ढोका, विसं २०६६, पृ. १७)। ती सबै अभ्यास महिलाविरोधी छन्। तिनमा सुधार गरेर मात्रै स्वर्गको ढोका खोल्न सकिन्छ भन्ने उनको धारणा थियो। महिलालाई अप्ठेरो नपार्ने किसिमले विवाहपद्धतिमा सुधार गरेर तथा गृहस्था श्रम सुखका ६ वटा मूल स्वरूप अर्थात् अर्थागम (धनको आम्दानी), आरोगिता (रोगरहित आरोग्य हुनु), प्रियाभार्या (स्नेह गर्ने स्त्रीको लाभ), प्रियवादिनी भार्या (प्यारो बोल्ने स्त्रीको प्राप्ति), वश्य पुत्र (आज्ञाकारी छोरो) र अर्थकारी विद्या सुनिश्चित गरेर गृहस्थीलाई स्वर्ग बनाउन सकिन्छ भन्ने उनको विश्वास थियो (पृ. ७५)।

झट्ट हेर्दा प्रियाभार्यासम्बन्धी उनको धारणामा महिला स्वतन्त्रताप्रतिको विनम्र विरोध झल्किएजस्तो देखिन्छ। यद्यपि, यसको व्याख्याचाहिँ लैंगिक समतामुखी नै छ। ‘भार्या तब प्रेमिणी हुन्छ, जब प्रिय पति हुन्छन्, अर्थात् दुवैको परस्पर आनन्ददायक सद्व्यवहारद्वारा प्रिय भार्या तथा प्रिय पति हुन्छन्... यसकारण... पत्नीले पतिव्रता हुनु तथा पतिले पत्नीव्रता गर्नामा अभ्यास गर्नुपर्दछ (पृ. ७७)।’ प्रियवादिनी भार्याको व्याख्यामा उनले लेखेका छन्, ‘भार्या प्रियवादिनी तब हुन्छे, जब यी सुशिक्षिता होली। शिक्षाबिना भार्याको प्रियवादिनी हुनु अधिक सम्भव छैन। यद्यपि शिक्षाबिना पनि आफ्ना स्वाभाविक सौन्दर्यादि गुणले भार्या पतिको प्रेमपात्री हुनु धेरै सम्भव हुन्छ (पृ. ७७)।’

यस्ता गुण कसरी हासिल गर्ने भन्नेमा शुक्रराज प्रस्ट थिए। वेद, उपनिषद्, मनुस्मृति, ब्राह्मणजस्ता सनातन वैदिक ग्रन्थमा उल्लिखित व्यवस्थालाई व्यवहारमा उतारेर ती गुण हासिल गर्न सकिन्छ भन्ने उनको मान्यता थियो।

किताबमा उनले प्रस्तुत गरेका वैदिक ग्रन्थका लोकोपकारी श्लोकहरूमध्ये एउटा श्लोक र त्यसको व्याख्या यस्तो छ—

संतुष्टो भर्यया भर्ता भार्या तर्थवच

यस्मिन्नेव कुलेनित्यं कल्याणं तत्र वै ध्रुवम्। (मनुस्मृति, ३।६०)

अर्थात्, जुन कुलमा पत्नीद्वारा पति तथा पतिद्वारा पत्नी सन्तुष्ट हुन्छन्, त्यसै कुलमा कल्याणकारी, मंगलमयी, आनन्दको सार स्वर्गको राज्य स्थापित हुनेछ। यसकारण पतिले पत्नीलाई नरुच्ने तथा पत्नीले पतिलाई प्रिय नलाग्ने केही काम गर्नु उचित छैन (पृ. ८०)।

दयानन्द सरस्वतीका अनुसार वैदिक ग्रन्थमा गरिएका सबै व्यवस्था मानवीय र आध्यात्मिक मूल्यबाट अनुप्राणित छन्। महिला, शुद्रआदी प्रति विभेदकारी जति पनि व्यवस्था ती ग्रन्थमा भेटिन्छन्, ती सबै प्रक्षिप्त हुन् त्यसैले त्याग्न योग्य छन्। दयानन्दको यस्तो विचारबाट शुक्रराजको नेपाली जनजीवनप्रतिको दृष्टिकोण निर्मित थियो। तत्कालीन नेपाली समाजमा अभ्यास हुने बालविवाह, वृद्धविवाह, बहुविवाहजस्ता अभ्यास वैदिक ग्रन्थमा गरिएका व्यवस्थासँग मेल नखाने छन्, त्यसैले त्यस्ता अभ्यासमा सुधार गर्नुपर्छ भन्ने उनको धारणा थियो।

उदाहरणका लागि तत्कालीन नेपाली समाजमा हुने बालविवाहप्रतिको शुक्रराजको धारणालाई लिन सकिन्छ। बालविवाहका कारण समाजमा बालविधवा बढेको निष्कर्ष उनले निकालेका थिए। ‘२५ वर्षका पुरुष र सोह्र वर्षकी कन्या दुवै समानवीर्य हुन्छन्’ भन्ने सु श्रुतसूत्रस्थान, अध्याय ३५ को श्लोकलाई उद्धृत गरेर उनले वैदिक मतले समेत बालविवाहलाई निसिद्ध गरेकाले यस्तो कुसंस्कार त्याग्नुपर्ने बताएका छन् (पृ. २०)। बालविधवाहरूलाई दुराचारी अथवा रातदिन कामाग्निमा जलिरहने बनाउनुभन्दा उनीहरूको पुनर्विवाह गरिदिनु उत्तम छ भन्ने राय पनि उनीबाट व्यक्त भएको छ (पृ. ४७)। ‘विधवाविवाह’ शब्दमा महिलाविरोधी भाव देख्ने दृष्टिकोणले उनको प्रखर प्रगतिशील चिन्तनलाई अझ प्रस्ट्याउँछ। ‘साँच्चै भन्नुपर्‍यो भने पतिव्रता सतीको सन्मुख ‘विधवाविवाह’ यो शब्द नै अति कठोर छ, दुःखदायी छ, गालीजस्तै घृणित घातक छ, कुत्सित कर्णकटु छ, एवं हृदयविदारक पनि छ’, उनले भनेका छन् (पृ. ४६–४७)।

०००

सनातन वैदिक मान्यताबाट विमुख भएर महिलाप्रति गरिने भेदभावपूर्ण व्यवहारले गृहस्थी र समाजसँगै हिन्दु धर्मलाई पनि हानि गर्ने चिन्ता शुक्रराजमा थियो। ‘साठी वर्ष पुगेको बूढो पिताकी दुई तरुनी स्वास्नी हुन्छिन्, नित्य तिनीहरूसँग हाँसीठट्टा र भोगबिलासका कुरा हुन्छ। त्यसै घरमा १६–१७ वर्षकी तरुनी विधवा एउटा कुनामा आफ्नो दुर्भाग्यको दशाले दुःखित भई, रोई आफ्नो सौम्य सुन्दर मुखकमललाई अ श्रुधाराले कलुषित गरी एकान्तमा बसिरहेकी हुन्छे... यो कुरा कहाँसम्म उचित छ, तथा कहिलेसम्म विधवाहरूको यो दुःखदायिनी, मनस्तापिनी, हृदयहारिणी, हर्षदारिणी दशा निभ्ने हो ?       यस्तो ठूलो विकट प्रश्न अहिले हिन्दुजातिको सन्मुख उपस्थित भइरहेको छ’, उनले लेखेका छन् (पृ. ४२)।

हिन्दु समुदायभित्रको यस्तो गलत प्रथाबाट हिन्दु धर्मको क्षय हुने तथा यसबाट मुसलमान र इसाई लाभाविन्त हुने जोखिमप्रति पनि उनले सधर्मी नेपालीलाई सचेत गराएका छन्। इसाईभन्दा बढ्ता मुसलमानप्रति उनी बढी सजग र आक्रामक छन्।

यहाँ विचार गर्नुपर्ने कुरा के छ भने आरम्भताका नेपालमा उठेको स्वतन्त्रताका आवाजमा हिन्दु धर्मको शुद्धता र इस्लामप्रतिको वैरभाव मुखरित भएको थियो। नेपालमा प्रजातन्त्रका लागि भएको आन्दोलनमा भारतीय स्वतन्त्रता संग्रामको प्रत्यक्ष प्रभाव परेको थियो। र, भारतको स्वतन्त्रता संग्राम आर्य समाज लगायतले सुरु गरेको हिन्दु धार्मिक पुनरुत्थानवादी अभियानबाट अभिप्रेरित थियो। आर्य समाजले हिन्दु, बौद्ध, जैनलगायत भारतका धर्मसंस्कृतिमा अभ्यास हुने पाखण्डको भण्डाफोर गरेर सनातन वैदिक मान्यताको सर्वोपरिताको महिमागान गाए पनि त्यो आन्दोलनको मुख्य तारोचाहिँ इस्लाम र इसाई धर्म नै थियो। सोही आन्दोलनबाट दीक्षित शुक्रराजको नेपाली समाजप्रतिको दृष्टि पनि इस्लामप्रतिको रोशबाट अछुतो थिएन।

पशुबलिबारे चर्चा गर्ने क्रममा शुक्रराजले भनेका छन्, ‘जो गौमाता हिन्दुहरूको मातृसमान पूजनीय छ, यो गौमातालाई कुर्बान अर्थात् खुदा–भगवान्लाई बलि चढाउनु नै मुसलमानहरूको ठूलो धर्म र स्वर्ग जाने श्रेष्ठ साधन छ (पृ. २)।’ उनको यस्तो भनाइमा चरम पूर्वाग्रह झल्किएको छ। किनकि इस्लाम धर्मग्रन्थले गोहत्या गर्नाले जन्नतको द्वार खुल्छ भनी कतै भनेको छैन। बकरिदमा वध गर्न योग्य पशुको सूचीमा गाई पनि समावेश छ। यद्यपि, सूचीमा रहेका पशुमध्ये खसीलाई उत्तम ठहर्‍याइएको छ।

शुक्रराजभन्दा अघि राणाशाहीविरुद्ध ‘प्रचण्ड गोर्खा’ नामक समूह खोलेर सक्रिय भएका खड्गमानसिंह बस्नेत पनि भारतको बेतियामा पढ्दाताका आर्य समाजबाट प्रभावित भएका थिए। बेतियामा रहँदाताका हिन्दु–मुसलमान दंगा भएको बेला उनले हिन्दुहरूको पक्ष लिएर मुसलमानहरूमाथि घुएत्रो प्रहार गरेका थिए (खड्गमान सिंह, जेलमा बीस वर्ष, विसं २०४०, पृ. ४९)। सोही दंगाले उनको कलिलो मस्तिष्कमा राजनीतिप्रतिको धमिलो आकर्षण जगाएको थियो। यस्तोमा भारतमै बसेर संस्कृत वाङ्मय अध्ययन गरी शास्त्री बनेका आर्यसमाजी शुक्रराजको विचार इस्लाम अथवा इसाईविरोधी हुनु अनौठो थिएन।

नेपाल प्रजापरिषद्को स्थापना पनि हिन्दु धार्मिकताबाट अभिप्रेरित थियो। प्रजापरिषद्ले छरेको पहिलो पर्चामा पशुपति र गुह्येश्वरीको दुहाई दिइएको थियो (डा. राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका, भाग १, विसं २०६२, पृ. ३०)। दोस्रो पर्चामा भगवत गीतामा वर्णित ‘हतो वा प्राप्स्यसि स्वर्गां, जित्वा वा भोक्ष्यसे महीम्’ अर्थात् ‘मरियो भने स्वर्ग पुगिन्छ, बाँचियो भने पृथ्वीको भोग गर्न पाइन्छ’ भन्ने श्लोक राखेर राणाशाहीविरुद्ध जाग्न जनतालाई आह्वान गरिएको थियो

(ऐजन, पृ. ३३)। राणाशाहीविरोधी ‘जयतु संस्कृतम्’ आन्दोलन हिन्दु शुद्धताबाट अझ बढी प्रभावित थियो।

सनातन वैदिक शुद्धताबाट नेपाली समाज च्यूत हुँदा हिन्दु धर्मको साख गिर्न सक्नेमा पनि शुक्रराज चिन्तित थिए। ‘नेवार जातिमा पुनर्विवाहको चलन हुनाले विधवाहरूको करणीको मुद्दाको केस नेपालमा धेरै कम देखियो। किन्तु गोरखा जातिमा नेपालमा नै करणी मुद्दाको केस प्रायः विशेष देखिने गरी देखिएको छ। यस्ता यस्ता अनेक करणी मुद्दाका अतिरिक्त नेपालमा कैयौं उच्च कुलीन विधवा ब्राह्मणीहरू हिन्दु जातिमा शरण नपाएर आखिरमा मुसलमानको शरणमा गएका देखिए। यो धेरै लज्जाजनक दुःखको कुरा हो तथा यो हिन्दू जातिमाथिको महाकलंक हो’, उनले लेखेका छन् (पृ. ४५)।

हिन्दु समाजका यस्ता कमजोरीबाट इस्लाम लाभान्वित हुने सम्भावनाले उनलाई पिरोलेको थियो। यसतर्फ उनले नेपाली शासक र जनतालाई सचेत गराएका थिए। ‘विधुवाहरू निकट सम्बन्धीहरूबाट गर्भवती हुन्छन्। लोकलज्जाबाट बच्न तिर्थाटनको बहाना गरि गर्भिणी विधुवालाई सम्बन्धीहरूले परदेशमा लैजान्छन् र कुनै स्टेशनमा अलपत्र छोडेर भाग्छन्। अनि उनीहरू बद्मास मुसलमान र लुच्छा गुन्डाहरूका जालमा फस्छन्... अथवा भाग्यवशले कुनै पादरीको हातमा पुग्छन्’, विधुवा विवाहलाई मान्यता दिनुपर्छ भनि पैरवी गर्ने शुक्रराजले लेखेका छन् (पृ. ४२)।

शुक्रराज उच्चकोटीका विद्वान् थिए। ‘स्वर्गको दरबार’मा उनले फ्रेडरिक नित्से, सेक्सपियर, मोसिए पाल आदम, चाल्र्स डार्विन, लर्ड टेनिसन, हेनवरी वोटन, लर्ड बाइरन लगायतका रचना उद्धृत गरेका छन्।

सन् १९८४ माघमा भारतमा अखिल भारतवर्षीय सनातन धर्म महासभाको अधिवेशनले ‘बालविवाह निषेध विधयक प्रस्ताव’ पारित गरेको थियो। प्रस्तावमा हिन्दु परिवारको बालक १८ वर्षको र कन्या १२ वर्षको नभई बिहे नगरिदिने, बिहे गरेमा पनि कन्या १६ वर्षको नपुगेसम्म पतिसमागमबाट टाढै राख्नेलगायत सुधारका कुरा उल्लेख थिए (पृ. ४३)। समाजसुधारका त्यस्तै अभियान नेपालभित्र पनि सञ्चालित हुनुपर्छ भन्ने शुक्रराजको चाहना थियो। र, यही प्रयोजनका लागि उनी सक्रियसमेत भएका थिए।

०००

नेपाली समाज र यहाँको धर्मसंस्कृतिप्रतिको उनको धारणा बुझिसकेपछि उनलाई फाँसी दिने राणाशाहीप्रतिको उनको धारणाबारे चर्चा गरौं। राणाशाहीलाई उखेलेर मिल्काउनुपर्छ भन्ने क्रान्तिकारिता उनमा रहेको देखिँदैन। हिन्दु राजाको अभिभावकत्वअन्तर्गत रहेर राणाहरूले वैदिक मतअनुरूप समाजसुधार गरिदिए हुन्थ्यो भन्ने उनको चाहना थियो।

यति हुँदाहुँदै पनि उनी राणाशाहीका प्रशंसकचाहिँ थिएनन्। उल्टो आलोचक थिए। भारतमा रहँदा दयानन्द सरस्वतीको विचारबाट प्रेरित भएर काठमाडौं फर्किएका उनका बुवा माधवलाल जोशीले श्री ३ चन्द्रशमशेरको अगाडि राजपुरोहितहरूसँग शास्त्रार्थ गरेका थिए। निराकार ईश्वरलाई मूर्तिमा आकार दिने मूर्खतापूर्ण कृत्य वैदिक अवधारणा होइन, यस्तो अवधारणा हिन्दुहरूले जैनमार्गीहरूबाट ग्रहण गरेका हुन् भन्ने आर्य समाजको विचारबाट (दयानन्द सरस्वती, अथ सत्यार्थप्रकाशः, वैदिक पुस्तकालय, अजमेर, भारत, सन् २००५, पृ. ३६५) दीक्षित माधवलालले शास्त्रार्थका क्रममा मूर्तिपूजा, धार्मिक रूढता, पाखण्डी कर्मकाण्ड, सामाजिक भेदभाव, छुवाछूत आदिको विरोधमा मत राखे। उनको विचार धर्मान्ध राजपुरोहितहरूलाई असह्य भयो। चन्द्रशमशेरकै अगाडि उनलाई निर्घात कुटियो। साथै, सबैका सामु अपमानित हुने गरी सडकमा हिँडाएर दुई वर्षसम्म हिरासतमा राखियो (भुवनलाल जोशी र लियो इ रोज, डेमोक्रेटिक इनोभेसन्स इन नेपाल : अ केस स्टडी अफ पोलिटिकल एकल्चरेसन, सन् २००४, पृ. ५१)। बाबुमाथि यस्तो ज्याजती गर्ने राणाशाहीप्रति शुक्रराजमा आक्रोश हुने नै भयो। यति हुँदाहुँदै पनि राणाशाहीलाई सनातन वैदिक मतअनुरूपको सामाजिक तथा राजनीतिक सुधारमा सहमत गराउन सकिन्छ भन्ने आशा उनले पालेका थिए। र, यही आशमा उनले ‘स्वर्गको दरबार’ लेखेका थिए।

‘स्वर्गको दरबार’मा उनले श्री ३ महाराज भीमशमशेरको स्तुतिसमेत गाएका छन्–

नृपति ‘भीम’को वास, भइरहेछ सबको आस

आर्यावत्र्तको यो श्वास, स्वर्गभूमी हो यो खास। जय। (पृ. ४५)

साथै उनले ‘नेपालका अधिश्वर श्री ३ महाराज तथा सनातन धर्मरक्षक सकल विद्वान्हरूसित’ नेपालका समग्र हिन्दु जातिको सुधार गर्ने काममा सक्रिय रहन ‘सविनय निवेदन’समेत गरेका छन् (पृ. ४३)।

भीमशमशेरको स्तुति गाउने शुक्रराजको ध्येय सत्तालाई रिझाएर व्यक्तिगत दुनो सोझ्याउने चाटुकार कविको जस्तो थिएन। आफ्नो किताबमाथि नेपालमा प्रतिबन्ध नलागोस् र आफ्ना गतिविधिप्रति राज्य निर्मम नबनोस् भनेर भीमशमशेरलाई फुक्र्याई विश्वासमा लिन स्तुति गाइएको थियो। यही कुरातर्फ किताबको ‘प्राक्कथन’मा कलकत्ताका पत्रकार केएन सिंहले समेत संकेत गरेका छन्। सन् १९३० फेब्रुअरी १५ मा अंग्रेजी भाषामा लेखिएको ‘प्राक्कथन’मा सिंहले भनेका छन्, ‘कृपालु नेपाल सरकारले यो किताबलाई आवश्यक पर्ने सबैखालका सहयोग र प्रोत्साहन सीधै प्रदान गर्नेछ भन्नेमा म ढुक्क छु।’ नेपाली सत्ताको आँखामा ‘स्वर्गको दरबार’ नबिझाओस् र राणाशाहीले समेत किताबमा सन्निहित मर्मलाई आत्मसात् गरोस् भन्ने ध्येयका साथ शुक्रराज भीमशमशेरप्रति हार्दिक रूपमा प्रस्तुत भएको यसबाट पनि पुष्टि हुन्छ।

०००

राजनीति र देशप्रेमसम्बन्धी उनको विचार समाज सुधारसम्बन्धी विचारसरह प्रस्ट थिएन। यति हुँदाहुँदै पनि उनी खाँटी देशभक्त र राजनीतिक स्वतन्त्रताका बलिया पक्षधर थिए भन्नेचाहिँ प्रस्ट छ।

किताबमा उल्लेख भएको ‘अहो ! नेपाल ! जब ‘नेपाल’ शब्दको स्मरण हुन्छ, जहाँ बसे पनि हृदयमा आनन्दको तरंग टकराउन थाल्छ। अहो हाम्रो स्वर्गभूमि नेपाल (पृ. ४५) !’ भन्ने वाक्यले मातृभूमिप्रतिको उनको अतिशय भावुकता झल्काउँछ। उनले सौम्य पारामा राजनीतिक असन्तुष्टिसमेत व्यक्त गरेका छन्। राणाकालीन राज्यव्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले लेखेका छन्, ‘अहिले नेपाल राष्ट्र संगठित नभई विच्छिन्न भइरहेको छ। यो दुःखको विषय हो। अब मलाई यो ठूलो आशा छ कि नेपालको अधिश्वर श्री ३ महाराज भीमशमशेर जंगबहादुर राणाबाट यी सबै प्रकारका दुःख दूर गरिबक्सिनेछ (पृ. ४६)।’

भीमअघिका चन्द्रशमशेरको आर्थिक नीतिको पनि उनले शालीन पारामा आलोचना गरेका छन्। ‘हाम्रा श्री ३ चन्द्रशमशेर महाराजले रोपवे स्थापित गरी नेपाललाई उज्ज्वल गराइबक्स्यो। तर यसले हजारौं कुल्लीहरू बेकार भएर दुःखित भई हिन्दुस्तानतिर आई दरवान, चपरासी तथा कुल्लीको काम गरी येनकेन जीवन निर्वाह गर्दैछन्। अरू अरू धेरै भाइहरू त यस्तो काम पनि नपाई यताउता भट्किरहने पनि अनेक छन्’, उनले भनेका छन् (पृ. ४६)।

०००

शुक्रराजले अन्तिमपटक नेपाल फर्किनुअघि भारतमा बेलायती उपनिवेशविरुद्ध संघर्षरत महात्मा गान्धी र सुभाषचन्द्र बोससँग भेट गरेका थिए। यही अभियोगमा उनलाई नेपाल भाषा प्रकाशिनी समितिको जागिरबाट बर्खास्त गरियो र घरमै नजरबन्द बनाइयो। नजरबन्दबाट मुक्त हुन उनले राणाशाहीसँग अनेक आग्रह गरे। नजरबन्दमा रहँदा स्वास्थ्य बिग्रिएको र आर्थिक अवस्था खराब भएको भन्दै कलकत्ता जान दिन अनुनय गरे तर सफल भएनन्। यसबाट वाक्कदिक्क भएर उनले विसं १९९५ को माघ महिनामा ‘नागरिक अधिकार समिति’को अध्यक्षको हैसियतले काठमाडौं, इन्द्रचोकमा सार्वजनिक प्रवचन गरे। प्रवचनमा उनले समयको माग बुझेर चल्न सरकारलाई सुझाव दिए। भोलिपल्ट उनलाई पक्राउ गरियो र तीन वर्षको कैद सजाय दिइयो। जेलजीवन बिताइरहेका उनलाई नेपाल प्रजापरिषद्सँग आबद्ध भएको झुट्टा अभियोग लगाएर मृत्युदण्ड दिइयो (डा. राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका, भाग १, विसं २०६२, पृ. ७८–७९)।

शुक्रराज उच्चकोटीका विद्वान् थिए। शास्त्री भएकाले उनमा वेद, उपनिषद्लगायत संस्कृत वाङ्मयको विषद् ज्ञान थियो। उनले पाश्चात्य दर्शन साहित्यमा पनि अंग्रेजी भाषामार्फत राम्रो दखल राखेका थिए। ‘स्वर्गको दरबार’मा उनले ठाउँठाउँमा सेक्सपियरको नाटक ‘ह्यामलेट’ (पृ. ८७–९१) र ‘मर्चेन्ट अफ भेनिस’ (पृ १०१), जर्मन राजनीतिज्ञ क्यास्पर ब्लन्टस्लीको किताब ‘द थियरी अफ द स्टेट’ (पृ. ५२), जेम्स टोडको ‘टोड्स एनल्स अफ राजेस्थान’ (पृ. २५) लगायत ग्रन्थ उद्धृत गरेर तिनको नेपाली भावानुवादसमेत प्रस्तुत गरेका छन्। साथै फ्रेडरिक नित्से, मोसिए पाल आदम, चाल्र्स डार्विन, लर्ड टेनिसन, हेनवरी वोटन, लर्ड बाइरन लगायतका रचना उद्धृत गरेका छन्।

संस्कृत र पाश्चात्य वाङ्मयमाथिको उनको पकडलाई सदुपयोग गर्ने प्रयास राणाशाहीले पनि गरेको थियो। उनलाई नेपाली भाषा प्रकाशिनी समितिमा जागिर दिइएको थियो। तर, शुक्रराजको परिवर्तनकारी विचारसँग राणाशाही तर्सियो र उनलाई झुटो अभियोगमा मुद्दा चलाएर मारियो।

०००

शुक्रराजको वैचारिक जगलाई संश्लेषित गर्दै ‘स्वर्गको दरबार’को ‘प्राक्कथन’मा केएन सिंहले लेखेका छन्, ‘लेखको एकमात्र ध्येय नेपालको नैतिक र भौतिक स्तरोन्नति हो। अन्तरमनदेखि नै देशप्रेमबाट ओतप्रोत उनले समस्यालाई अविचारी ‘क्रान्तिकारी’का रूपमा नभई आशावादी ‘विधानवादी’का रूपमा हेरेका छन्।’ यस्तो निष्कर्षप्रति सहमत हुँदै शुक्रराजलाई समाज सुधारप्रति बढी र राजनीतिक सुधारप्रति तुलनात्मक रूपमा कम समर्पित सहिदका रूपमा लिनु उपयुक्त हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.