मझधारमा माइला
० राष्ट्रिय गान सर्जक व्याकुल माइला केही महिना पहिला भोट हाल्न गाउँ पुगे। फर्किंदा खोटाङको झाप्पा गाउँसहित आफ्नो जन्मथलो ओखलढुंगाको हिलेपानी–सोक्मटारआसपासका दृश्य भिडियोमा कैद गरेर फर्किए। उनलाई झाप्पा गाउँको प्रवद्र्धनका लागि ‘झाप्पा गाउँको शिरैमाथि’ बोलको गीतको भिडियो तयार गर्नु थियो। खिचिएका सामग्री बोकेर उनी वाम्बुले राई भाषाको कवि गोष्ठीमा सहभागी हुन उदयपुरको कटारी पुगे। सुन्नु थियो मातृभाषाका कविता, सुनाउनु थियो भाषा, संस्कृति संरक्षण तथा संवद्र्धनका कुरा।
० यसबेला भने माइला मातृभाषा वाम्बुलेमा मुक्तक र केही कविता समेटिएको कृति ‘बिउ–अक्षर’ प्रकाशन कर्ममा जुटेका छन्। २०५९ सालमा ‘नेपाली गीत संग्रह’ कृति सम्पादन गरेका माइलाको पहिलो पुस्तकाकार कृति किन मातृभाषामै ? ‘लेख्य परम्परा उन्मुख भएको अढाई दशकमा वाम्बुले राई भाषा, साहित्यको विकास हुँदै गए पनि लेखक र कृति पर्याप्त छैन। नेपालीमा दिनदिनै सयौं कृति प्रकाशनमा आइरहेकै छन्। त्यसैले गर्दा बल्लतल्लको आफ्नो कृति मातृभाषामै प्रकाशन गर्नु बढी उपयोगी हुने ठानेँ’, उनी भन्छन्, ‘यो कृतिले भाषामा स्वादिलोपना, चखिलोपना पेचिलोपना ल्याओस् भन्ने उद्देश्य छ।’
मातृभाषा विकासको सपना सरकारी नीति र संविधानमा मात्र सीमित रहेको उनको ठम्याइँ छ। ‘सरकारको प्राथमिकतामा परेकै छैन, मातृभाषा विकासको कुरा। मातृभाषाको कुरा गर्दा साम्प्रदायिक कुरा गर्यो कि भन्ने चिसोपना छ’, उनी भन्छन्, ‘राष्ट्रिय गान रचनाकारले नै मातृभाषामा कृति प्रकाशन गर्छ भने सिंहदरबारले हेर्न सक्छ। अन्तर्राष्ट्रिय जगतको नजर पर्न सक्छ।’
उनका अनुसार मातृभाषामा सुक्तिमय रचना कम छन्। नीति, आदर्शका भाषिक रचना पनि कम छन्, जुन भाषा प्रयोगकर्ताले सजिलै कण्ठस्थ बनाउँछन्, आवश्यकताअनुसार बोलीचालीमा प्रयोग गर्छन्। यसले नै भाषालाई ओजिलो बनाउन सक्छ, मातृभाषालाई समृद्ध बनाउँछ। भन्छन्, ‘छोटो समयमा अध्ययन गर्न सकिने भएकाले पनि मुक्तक उपयुक्त लाग्यो। प्रारम्भिक चरणमा रहेको भाषाको विकासमा मुक्तक नै उपयुक्त लाग्यो।’
कार्यक्रममै ढले
माइला ३५ वर्ष पुग्दा नपुग्दै युवा वयमै राष्ट्रिय गानका सर्जक बने। भाषा, साहित्यको क्षेत्रमा बाटो बनाउँदाबनाउँदै उनले मूलबाटो मात्र भेटाएनन् कि नाप्न नसकिने उचाइ लिए। उनै स्रष्टा राष्ट्रिय सर्जक बन्नुअघि मिडियामा आउन धाउनुको विकल्प थिएन। तर, उनको सिर्जना नयाँ राष्ट्रिय गानका लागि छनोटमा परेको खबर के आएथ्यो, अन्तर्वार्ता दिन भ्याइनभ्याइ भयो। सार्वजनिक कार्यक्रममा भटाभट निम्तो आउन थाल्यो, सम्मानको ओइरो लाग्यो। ओखलढुंगाका सामान्य ठिटोको सामान्य जीवनयापनले एक्कासि ‘छलाङ’ मार्यो। दैनिक रुटिन व्यवस्थापन गर्न हम्मेहम्मे भयो। सुरुको तीन महिना धेरै गाह्रो भयो। बिस्तारै आफूलाई सहज बनाउँदै लगे।
राष्ट्रिय गानको सर्जक भएपछि माइला जागिर खान पनि सक्दैनन्। विभिन्न कार्यक्रममा सरिक हुँदै अनि आफू जन्मिएको गाउँ, समाज सबै नेपालीका लागि हेर्न लायक कसरी बनाउन सकिन्छ भन्ने दौडधुपमा बित्दो छ उनको समय।
१० वर्षयता माइलाको धपेडी/दौडधुप घट्यो होला तर वि श्राम भने छैन। कहिले आफ्नै जन्मथलोका कुनाकाप्चा त कहिले देशका विभिन्न ठाउँ पुग्छन्। कहिले आफ्नो गाउँठाउँमा विकास निर्माणका लागि सिंहदरबार धाउँछन्। भन्छन्, ‘यो समय कार्यक्रमको अलि कम छ। जनप्रतिनिधिले धेरै कार्यक्रम धानिदिनुभएको छ।’ हिउँदपछि झरी नपर्दासम्म स्कुलका कार्यक्रम पर्छन्। विभिन्न सामाजिक संघसंस्थाले कार्यक्रमको निम्तो दिन्छन्। त्यस्तै, राष्ट्रिय दिवसहरू, महापुरुषहरूको जयन्तीका बेलादेखि सामाजिक तथा सांस्कृतिक चाडपर्वका बेला कार्यक्रममा दौडधुप बढ्ने उनी सुनाउँछन्।
उनले दिनमा ६–७ वटासम्म कार्यक्रम भ्याए। अहिले पनि दिनमै दुई–तीनवटा कार्यक्रमको निम्तो मानिदिनुपर्छ। ‘ब्लड प्रेसरको समस्याले अलिक कम गर्ने प्रयास गरिरहेको छु। औषधि खाइरहेको छु। टीकापुरको कार्यक्रममै ढलेँ तर त्यसको भोलिपल्टै ओखलढुंगाको कार्यक्रम भ्याउनुपर्यो’, उनी भन्छन्। आयोजकहरू एकै छिन मात्र हो, अर्को कार्यक्रमका लागि अलमल्याउँदैनौं भन्छन्। दिन त्यसै सकिन्छ। समाजले उनीसँग सिर्जना माग्नु पनि स्वाभाविक हो। तर निम्तोमा नाइँ भन्न नसक्दा सिर्जना कम भएको छ।
भत्ताले भरथेग
राष्ट्रिय गान सर्जक नबनेसम्म माइलाको स्थायी जागिर थिएन। राष्ट्रिय गान सर्जक बनेपछि सरकारले पाँच लाख रुपैयाँसहित सम्मान गर्यो। तर, जीवन निर्वाह गर्न उनलाई न नियमित तलब आउने जागिर थियो, न त आफूसँग पुग्दो सम्पत्ति। साइकललाई यातायातको साधन बनाउँदै आएका माइलाले मोटरसाइकल जोडे। त्यही मोटरसाइकलले राजधानीका सडक, गल्लीहरूमा गुडाइरहेको छ।
दुई वर्षयता सरकारले महिनावारी २५ हजार जीवन निर्वाह भत्ता दिँदै आएको छ। काठमाडौं महानगरपालिकाले पनि एक वर्षका लागि विकास दूतका रूपमा मासिक ३० हजार रुपैयाँ दिने सम्झौता गरेको छ। तर, जनप्रतिनिधि आउनुभन्दा अगाडिको निर्णय थियो त्यो। जनप्रतिनिधि आएपछि विकास दूतको विषय ओझेलमा परेको महसुस उनले गरेका छन्। उनले दुई चोटि मात्र महानगरबाट रकम बुझेका छन्।
चारवटा एल्बम तयार पार्दा सहकारीबाट लिएको ऋण बाँकी रहेको उनी सुनाउँछन्। ‘भत्ताले गुजारा चलाउन सहयोग मिल्यो। सामान्य जीवनशैलीका कारण आधारभूत आवश्यकता थेगेको छ’, उनी भन्छन्, ‘रासन, पानी र कोठाभाडा थेग्छ।’ यत्ति हो भत्ता पाउनुभन्दा अघि जीवन उधारो र सापटीमा चलेको थियो, अहिले त्यो कम भयो।
कतिपयले सरकारले उनलाई भत्ता दिएकोमा खुब आलोचना पनि गरे। तर भत्ताबाहेक अरू आम्दानीको बाटो छैन। उनी जागिर गर्न पनि चाहदैनन्। राष्ट्रिय गानको गरिमा र प्रतिष्ठामा आफ्नो व्यक्तिगत पेसा/व्यवसायबाट असर ल्याउनु हुँदैन भन्ने लागेरै अहिलेसम्म जे पायो, त्यही जागिर गर्न नचाहेको हो उनी तर्क गर्छन्। उनी लोकसेवा दिने तयारीमा थिए, त्यतिबेलै राष्ट्रिय गान सर्जक बने। त्यसपछि सरकारी जागिरे सपना तुहियो। अबको आकांक्षा सामान्य नागरिक भएर बाँच्ने छ, ताकि राष्ट्रिय गानको रचनाकार भन्दा समाजले नाक खुम्च्याउनु नपरोस्।
भत्ताको भित्री पाटो
ओखलढुंगेली हातेमालो समाज, पुष्पलाल अध्ययन समाज र बीपी अध्ययन प्रतिष्ठानले भत्ताका लागि सिफारिस गरे। कांग्रेस नेता डा. मीनेन्द्र रिजाल सूचना तथा सञ्चारमन्त्री हुँदा मासिक २५ हजार रुपैयाँ मासिक भत्ता दिने प्रतिबद्धता जनाए तर कार्यान्वयन भएन। एमाले नेता भीम आचार्यले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा माइलालाई मासिक २५ हजार आजीवन भत्तासहित गाडी र तेल उपलब्ध गराउन अर्थ मन्त्रालयमा लेखी पठाए। तत्कालीन अर्थमन्त्री डा. रामशरण महत संस्कृति मन्त्रालयको निर्णयप्रति सकारात्मक भएनन्।
बरु उनले माइलालाई जागिर खान सुझाव दिए। त्यसपछि अर्थले प्रत्येक बुँदामा संस्कृति मन्त्रालयलाई स्पष्टीकरण लेखी पठाउन भन्यो। फाइल त्यत्तिकै थन्कियो। पछि कर्मचारी तहबाट फाइल अघि बढ्यो। एमालेका दीपकचन्द्र अमात्य संस्कृतिमन्त्री हुँदा उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमा गयो। त्यसबेला सुशील कोइराला प्रधानमन्त्री थिए। सुरुमा संस्कृति मन्त्रालयले सुविधाका लागि सिफारिस गरेमध्ये मासिक २५ हजार रुपैयाँ आजीवन भत्ता पाउने गरी मन्त्रिपरिषद् बैठकले निर्णय गर्यो। त्यो भत्ता नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत माइलाले पाउँछन्।
फुटबल र माइला
केही वर्षयता उनको जन्मथलो हिलेपानी–सोक्मटारस्थित दूधकोसी नदीकिनार ब्आलेम बगरमा व्याकुल माइला गोल्डकप सञ्चालन हुँदै आएको छ। गोल्डकप फुटबल प्रतियोगितामा मात्र सीमित हुँदैन, यसका माध्यमबाट गाउँको विकासका लागि अन्य सामाजिक कार्य पनि हुन्छन्। गोल्डकपलाई नजिकबाट नियाल्दै आएका सञ्चारकर्मी श्रीहरि श्रेष्ठ खेलकुदका माध्यमबाट उक्त थलोमा बजेट जान थालेको सुनाउँछन्।
सुरुमा आफ्नो नामसँग फुटबल प्रतियोगिता जोडिने कुरा सोच्दै नसोचेको माइला सुनाउँछन्। ‘फुटबल म जान्दा पनि नजान्ने। गाउँ नगएको पनि धेरै समय भएको थियो। जेनेरेसन ग्याप थियो’, उनका अनुसार गाउँले युवाले हार्न नसक्ने दुई तर्क गरे। पहिलो दूधकोसी किनार हिलेपानी–सोक्मटार गाउँले देशलाई राष्ट्रिय गानको रचनाकार दियो तर यो ठाउँको विकास भएको छैन। यसलाई सिंहदरबार र सदरमुकामले देखेन। दोस्रो तपाईं जन्मिएको सोक्मटार हो र तपाईं राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिनुभयो तर सोक्मटारको नाम लिनुभएन। जिल्लाको नाम आउँछ तर यो ठाउँको नाम लिनुभएन। तपाईंको नामबाट कार्यक्रम गर्दा यो ठाउँ चिनिनेछ। यो ठाउँको विकास हुनेछ।
त्यसपछि उनले ‘नाइँ’ भन्न सकेनन्। ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ लोकसंस्कृति, लोकनाच जोगाउने, कृषि पर्यटन प्रवद्र्धन, स्वास्थ्य, शिक्षामा योगदान, नेतृत्व विकासका लागि प्रशिक्षणदेखि भौतिक पूर्वाधार विकासका कुरा उठाउँदै गोल्डकपको सातौं संस्करण सम्पन्न भइसकेको छ। अहिले गोल्डकप उनकै वार्षिक कार्यक्रमजस्तो बनेको छ। ‘सुरुमा म मूकदर्शक भएँ, कार्यक्रमका लागि आर्थिक पाटो महŒवपूर्ण कुरा रहेछ। स्थानीय युवाले धान्न सक्ने अवस्था थिएन’, उनी भन्छन्, ‘मेरो नाम जोडिनुमा बलेको आगो ताप्ने आशा पनि होला। तर, मैले न्यायोपन दिन सकिनँ भने युवाहरूले मलाई यसरी सम्झिनुपर्ने औचित्य रहँदैन।’ फुटबल युवालाई धेरै आकर्षण गर्ने माध्यम रहेको भन्ने ठम्याइँ छ उनको। सामाजिक रूपान्तरण अभियान चलाउन गोल्डकपलाई उपयोग गरेको उनी सुनाउँछन्।
गाउँमै बर्सेनि लोकनाच
गाउँमा थुप्रै लोकनाच थिए, ती सब आधुनिकतासँगै लोप भए। अझ गाउँमा सडक पुगेपछि सहरी नक्कल बढेको छ। गोल्डकपमा गाउँठाउँकै लोकनाच देखाउँदासम्म पनि स्थानीयले कुनै चासो नदिएको उनको अनुभव छ। ‘त्यसलाई तुलनात्मक रूपमा देखाउनुपर्ने भयो। देशभरिकै लोकनाच प्रस्तुत गर्दा हाम्रो पनि यस्तो त थियो भन्ने महसुस गर्छन् भन्ने लाग्यो। त्यसका लागि बृहत् मञ्च चाहियो,’ त्यसैको फलस्वरूप यो कार्यक्रम हिलेपानी गाउँस्थित मितेरीभन्ज्याङमा बर्सेनि आयोजना गर्न थालिएको छ।
दूधकोसी र सुनकोसीको संगमस्थलबाट उठेको एउटा अग्लो थुम्को छ, त्यसलाई सिद्धधाम भनिन्छ। त्यही ठाउँलाई पर्यटकीय धामका रूपमा विकास गर्न सकियो भने पर्यटन प्रवद्र्धन भई गाउँ–समाजले काँचुली फेर्ने उनको ठम्याइँसमेत छ। यही सोचले यस ठाउँमा पर्यटकीय पूर्वाधार विकासको कार्यलाई लोकनाचसँग जोडेको उनी सुनाउँछन्। यस्ता कार्यक्रम गर्दा खर्चको पाटो छ। यसमा पनि धेरै त माइलाकै दौडधुप चल्छ।
पहिलो ‘यलम्बरकी छोरी’
माइलाले पहिलो पटक २०६० सालमा ‘यलम्बरकी छोरी’ बोलको गीत रेकर्ड गरेका थिए। त्यसपछिको अवधिमा उनका ५० वटाजति गीत/गजल रेकर्ड भएका छन्। ५०–६० जति कविता छन्। ‘नयाँ वर्षको शुभकामना तिमीलाई’ शीर्षक कविता उनको पहिलो रचनाका रूपमा ‘समीक्षा’ साप्ताहिकमा २०४८ सालमा प्रकाशन भएको थियो। उनले ‘उत्साह’ २०६८, ‘छालभित्रका प्रतिबिम्ब’ २०६९, ‘खोजी हेर देशको माटो’ २०७० र ‘आफ्नै भाव, आफ्नै परिवेश’ २०७२ गरी चारवटा गीति एल्बम निकालेका छन्। ‘सिर्जनाको संख्या कम छ। रचना संकलन गरेर राख्ने बानी पनि छैन’, उनी भन्छन्, ‘कति लेखेँ भन्ने लेखाजोखा पनि गर्दिनँ। बजारमा चल्ने खालको गीत लेख्न पनि सक्दिनँ।’
राष्ट्रिय गान सर्जक बनेपछि नै हो, उनले जीवनको जोडी बाँधेको। खोटाङको चिसापानी ओदाले गाउँकी नानुकला राईसँग विवाहबन्धनमा बाँधिएका यी दम्पतीका छोरी निष्ठाले पनि अहिले कक्षा ४ पूरा गर्दै छिन्।
यस बीचमा माइला भारत, हङकङ र बेलायत यात्रा पनि गरे। भन्छन्, ‘धपेडी घट्छ कि भन्ने आशामा छु। आपूm जन्मिएको गाउँ, समाजको विकासमा लागिपर्नेछु।’ राष्ट्रिय गान रचनाकार जन्मिएको गाउँ, समाज सबै नेपालीका लागि हेर्न लायक होस् भन्ने उनको चाहना छ। सपना र जनउत्तरदायित्व भयो भने जनप्रतिनिधिले अब धेरै काम गर्न सक्ने उनको बुझाइ छ।