गाईको कन्तबिजोग
‘बाँझो भएपछि घरमा राखेर के काम ? ’, धर्मा साउदले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा रहेको गाईको हुलमा आफ्नो गाई धपाउँदै भनिन्।
कैलाली, कञ्चनपुरमा सडकभरि गाई असरल्ल छोडिएका भेटिन्छन्। दूध दिन छोडेपछि स्थानीयले गाईबस्तु लखेट्छन्। ‘काम लाग्दा भाँडो, लाग्न छोडेपछि ठाँडो’ भन्ने नेपाली उक्ति यो क्षेत्रमा गाईका सन्दर्भमा लागू भएको छ। सडकमा गाई भेटिनुमा धर्माजस्ता हजारौं जिम्मेवार छन्। सयौं गाईको बिजोग भएपछि नगरपालिकाले आसपासका करिब दुई सय गाईलाई झलारीस्थित खोलाछेउको चउरमा हाँगाबिँगाले घेरेर राखेको छ।
जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाकाली–मेचीको पैदल यात्रामा छन्। कञ्चनपुरस्थित भम्केनी धाममा करिब २५ करोड रुपैयाँ खर्चिएर ७५ फिट अग्लो नेपाल आमाको अष्टधातुको मूर्ति बनाउने अभियानमा छन् उनी। प्रत्येक नेपालीबाट कम्तीमा एक रुपैयाँ संकलन गर्ने उनको योजना छ। यही क्रममा कञ्चनपुरमा बेवारिसे गाईको दुर्दशाले उनलाई छोयो।
कागले जिउँदै ठुंग्छ
जगद्गुरु बालसन्त कैलाली, कञ्चनपुरमा जस्तो गाईको तिरस्कार कतै नदेखेको बताउँछन्। झलारी आइपुग्दा खानाको प्रबन्धबिनै थुनिएका गाईका बीचमा पाँचवटा गाई मरिरहेको देखे। ‘एकातिर एउटा गाई घिटिक–घिटिक भएर अन्तिम अवस्थामा थियो, सुरक्षा गर्न नसक्ने अवस्थाको त्यो गाईका आँखा कागले निकालिरहेको थियो। दुवै आँखाबाट रगत बगेर जमिन लपक्क भिजेको थियो’, उनी दुई साताअघिको दृश्य यसरी वर्णन गर्छन्, ‘अर्कोतर्फ अर्को त्यस्तै अवस्थाको गाईको गिद्धले आन्द्राभुँडी लुछिरहेको थियो। त्यो विकराल दृश्यले म रन्थनिएर भुइँमा ढलेछु। प्रहरी र सहयोगीले सम्हाले। त्यस दिनदेखि मैले यिनको व्यवस्थापन गर्ने प्रण गरेँ।’
खान नपाएर ढलेका धेरै गाईहरूको दुर्दशा देखेपछि आफूले पनि अन्न त्यागेको बताउने जगद्गुरु बालसन्त थप्छन्, ‘कञ्चनपुर र कैलालीका बेवारिसे गाईको व्यवस्थापन नगरी खाने मन छैन। राष्ट्रभक्ति जागरण महाअनुष्ठान सकिएपछि यसमा लाग्नेछु।’
यही २४ माघमा जगद्गुरुसँग झलारीस्थित सोही ठाउँमा पंक्तिकार पुग्दा एउटा गाई भुइँमा अन्तिम अवस्थामा छट्पटाइरहेको थियो। जगद्गुरुले आफ्नो ओढ्ने त्यो गाईलाई ओढाउँदै शरीर र खुट्टा मालिस गर्दै तताउन थाले। सुरक्षाकर्मीलाई आगो बाल्न लगाए। नगरपालिकाले पराल हाल्न राखिदिएको पालेको सहयोगमा पानी तताएर जवानले त्यो गाईलाई ख्वाइदिए। केहीबेरमा गाई चल्मलाउन थाल्यो।
हामीले निष्पट्ट अँध्यारोमा मोबाइल बालेर अरू गाईको अवस्था बुझ्न थाल्यौं। केही पर अर्को त्यस्तै उमेरका दुई गाई अझ सिकिस्त भेट्यौं। परालको आगोले नै भए पनि केहीबेर तताउन ती पाले दाइलाई आग्रह गर्यौं तर उनी मानेनन्। ‘सर पराल ल्याएपछि यी सबै गाई ओइरिन्छन्, बाल्नै पाइँदैन’, उनले भने। प्रहरीले जसरी पनि ल्याऊ भनेपछि उनी गए। थोरै पराल बोकेर आए। हरियो घाँस त के, सुकेको परालसमेत देख्न पाएका थिएनन् ती गाईले। मध्यरातमा पराल देखेर दर्जनौं गाई यसरी ओइरिए कि पाले दाइ पराल भुइँमा फालेर भागे। भुइँमा लडेको गाईलाई तिनले नराम्ररी कुल्चिए।
सडकछेउमा पर्ने तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गाईबस्तु चरन सुविधा छैन। निकुञ्जले बाघ, भालु, अर्ना सबैलाई चर्न दिन सक्ने तर गाईलाई कहीँकतै चर्नसम्म दिँदैन। गाईमाताको बाँच्ने अधिकार खै ? ’
त्यहाँ सिनो गन्हाइरहेको थियो। बस्न सक्ने अवस्था थिएन। पाले दाइले भने, ‘६०/७० गाई खान नपाएरै मरे, डोजर ल्याएर दुईवटा खाडल खनेर पुरेकाले दुर्गन्ध आएको हो।’ रातको ११ बजे प्रहरी र गाडी बोलाएर चारवटा गाई भम्केनी धाम पुर्याए जगद्गुरुले। भोलिपल्ट थप आठ वटा त्यस्तै समस्याग्रस्त अवस्थाका गाई पनि भम्केनी पुर्याइए।
महाअनुष्ठानमै उनले सयौं स्थानीयमाझ विधिविधानले गाईको पूजा गरे। उनले स्थानीयवासीलाई आ–आफ्ना गाई घर फिर्ता लैजान विशेष आग्रह पनि गरे। उनले भने, ‘बचेका गाई जति संख्यामा भए पनि म केही गौशाला बनाएर पालनपोषणको व्यवस्था गरेरमात्र मेरो आ श्रम फर्कन्छु।’ जगद्गुरुले झलारीमा मरेर गाडिएका सबै ७० गाईको त्यति नै संख्यामा ब्राह्मण राखेर काजक्रिया गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘ती गाईका नाममा भागवत कथासमेत वाचन गर्नेछु। बाँकी कुनैलाई मर्न दिन्नँ।’
तारबार र गस्ती
बाँके, बर्दियाका सडकमा पनि यसरी नै गाई छोडिएका छन्। स्थानीयवासीका अनुसार, कम्तीमा पाँच हजार गाई सडकमा छन्। दूध दिन छोडेपछि सडकमा पुगेका गाईहरूबाट बाली जोगाउन स्थानीय बासिन्दा कयौं कठ्ठा जग्गा तारबार गर्न खर्चिन्छन्। उनीहरू वर्षैंभरिजसो रातको निद्रा गुमाएर गस्ती गर्छन्। भारतीय सीमा गड्डाचौकी छेउको सुखसालमा बुधबार राति ११ बजे अर्जुन आउजी (२०) हातमा ठूलो लौरो लिएर हिँडिरहेका भेटिए। उनी सानो भाइसँग थिए। अर्जुनले भने, ‘यहाँ राजमार्गतिर हिँडिरहने गाईहरू बालीमा पस्छन्। कहिले त ७०/८० को हुल आउँछ। त्यसैले रातको २ बजेसम्म पालैपालो गस्ती गर्नुपर्छ।’
सडक छेउमा पर्ने तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गाईबस्तु चरन सुविधा छैन। सडक र आसपासमा मात्रै गाईहरूले रात काट्ने सुरक्षित स्थान महसुस गर्छन्। रात्रिकालीन समयमा सवारीसाधनले ठक्कर दिएर दर्जनौं गाई घाइते भएका छन्। ‘यी गाई न भारत, पाकिस्तानबाट ल्याइएका हुन्, न आकाशबाट झरेका।
आमा सरह देवीदेवता भनी पूजिने गाई किन छोडिन्छन् ? अचम्म छ’, जगद्गुरु भन्छन्, ‘हिन्दुहरू नै यति कठोर, निर्दयी र क्रूर हुन्छन् भन्ने मैले सोचेको पनि थिइनँ। निकुञ्जले बाघ, भालु, अर्ना सबैलाई चर्न दिन सक्ने तर गाईलाई कहीँकतै चर्नसम्म दिँदैन। गाईमाताको बाँच्ने अधिकार खै ? ’ उनी बाली जोगाउन हजारौं रकम खर्चिएर तारबार गर्ने र निद्रा गुमाएर रातभर गस्ती गर्न सक्नेहरूदेखि चकित परेको बताउँछन्। थप्छन्, ‘त्यत्रो खर्च गर्नु र स्वास्थ्यसमेत बिगारेर रातोदिन सास्ती खेप्नुभन्दा थपक्क आ–आफ्ना गाई घरमा पाले न गाई तड्पिएर मरेको हेर्नुपथ्र्यो न कसैलाई गाई लेखेट्ने दुःख।’
जगद्गुरुको ‘गाई बचाऊ’ अभियान सुरु भइसकेको छ। सुँगुर र कुकुर पाल्ने समाजले दिसा र पिसाबसम्म प्रयोगमा आउने गाई पाल्न नसक्ने भन्ने नहुने उनको बुझाइ छ। उनले दुई साताबीच राजमार्ग आसपासमा प्रवचन दिएकोमा गाईको अवस्था र महिमा सुनेर भक्तजन रोएका थिए। भम्केनीमा पूजापछि उनको प्रवचन सुनेर केही स्थानीयले सडकबाट उठाएर कम्तीमा एउटा गाई घरमा ल्याई पाल्ने प्रतिबद्धता जनाएका थिए। यस्तैमध्येकी एक थिइन्, शिरपुरकी ३५ वर्षीया अमृता बुढा।
कुनै पहलले छोएन
राजमार्गमा जोडिएका सबै नगरपालिकाका मेयर र उपमेयरहरूको केही महिनाअघि भेला बसेर गरिएका निर्णयहरू पनि लागू हुन सकेको छैन। गाई छोड्नेलाई जरिवाना गर्ने, थुन्ने र थप कारबाही गर्ने भने पनि छोडिएका गाईधनीलाई कुनै कारबाही हुन सकेको छैन। ‘अमानवीय काम नगर्नु भनेर चेतावनी पनि दियौं, २२ वटा गाई छोड्नेलाई घरमै पुर्याएर जिम्मा लगाएका पनि छौं’, शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले भने, ‘दूध आउञ्जेल खाने, त्यसपछि जबर्जस्ती राति र दिउँसै पनि छोड्ने गरेका छन्। एक घर, एक गाई र अनुदानसमेतको योजना ल्याएँ, वडामार्फत घरमै पाल्नोस् भनेर पनि चेतावनीसहित भनिसक्यौं तर नियत खराब भएपछि कसको के लाग्दो रैछ ? ’