मान्छेको घरमा सुत्केरी चितुवा

 मान्छेको घरमा सुत्केरी चितुवा

 

 

सुत्केरी भएकी महिलालाई गोठमा राखेको खबर कहिलेकाहीँ समाचारमा आउँछ। तर, सुत्केरी स्याहार्न जंगली जनावर मान्छेको घरमा आएको समाचार भने बिरलै सुनिन्छ। त्यसमाथि त्यो जनावर चितुवा भए ? कल्पना गर्दा मात्रै पनि आङ सिरिंग हुन्छ।

केही वर्षयता काठमाडौं, बैतडी, काभ्रेमा चितुवाले मान्छे वा गाईबस्तु मारेको खबर सुन्दै आएका छौं। त्यसो त चितुवा मान्छेलाई आक्रमण गर्न आउने खालको जनावर होइन। बच्चा बोकेर हिँडेको माउ चितुवाबाहेक अरू चितुवा मानिसबाट बँचेर हिँड्छ। जम्काभेट हुँदा मात्रै उसले मानिसलाई आक्रमण गर्ने सम्भावना हुन्छ। जंगली जनावरको निम्ति जंगल नै प्रिय र सुरक्षित हुन्छ। तैपनि चितुवा मान्छेको घरमा सुत्केरी बस्न आउला त ? यस्तो अनौठो घटना भयो भक्तपुरको चाँगुनारायण नगरपालिकामा।घ १६ गते शहीद दिवसको दिन। बिहानै त्रिचन्द्र कलेजका उपप्राध्यापक मेरा मित्र कमल गोसाईको फोन आयो। ‘सर बागेश्वरीमा चितुवाले गोठमा बच्चा पाएछ, अध्ययनको राम्रो मौका हुनसक्छ जाऊँ’, उनले भने। चितुवाको बच्चा स्याहार्ने आनीबानी अध्ययन गर्न क्यामेरा ट्र्याप गर्ने सल्लाह भयो। मित्र सूर्यमान श्रेष्ठलाई कानुनी प्रक्रिया मिलाउने जिम्मेवारी दिएर म मेरो अध्ययन क्षेत्रमा रहेकामध्ये तीनवटा क्यामेरा लिन दौडिएँ।

तत्काल निर्णय लिई सोही दिन क्यामरा राख्नुपर्ने थियो तर त्यही दिन सार्वजनिक बिदा थियो। जे होस्, सूर्यमानजीले वन विभागका निर्देशक कृष्णप्रसाद आचार्य र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागका उपनिर्देशक गोपाल प्रकाश भट्टराईजीसँग फोनमै क्यामरा राख्ने अनुमति लिनुभयो। जति ढिलो भयो त्यति नै अध्ययनका लागि आवश्यक तथ्यांक कम संकलन भएकाले हामी क्यामेरा राख्ने हतारोमा थियौं।

चाँगुनारायण नगरपालिका–७ मा बाल सामुदायिक वनको छेवैमा अधिकारी गाउँ छ। त्यहीँ गाउँमा रहेको गोकर्ण अधिकारीको भूकम्पका कारण भत्किएको तीनतले घरको दोस्रो तलामा थुपारिराखेको परालको एक कुनामा चितुवा आफ्ना बच्चाहरू स्याहारी बसेको रहेछ। त्यहाँ रहेका तीनचारवटा घर अहिले जंगलभित्रै रहेजस्तो देखिए पनि ती मानवबस्तीको सबैभन्दा नजिकका घर हुन्। घरबेटी गोकर्णले सधैंजस्तो गाईको निम्ति पराल लिन जाँदा चिुतवाका बच्चाहरू देखेछन्। धन्न माउ चितुवा सँगै रहेनछ। हामी पुग्दा उनी भन्दै थिए, ‘त्यहाँ माउ भएको भए मलाई मार्थ्यो, अनि मलाई खोज्दै आउँदा मेरो छोरीलाई मार्थ्यो। अनि पूरै परिवारलाई।’

चितुवा बसेको घर र अहिले मानिसहरू बसिरहेको घर मुस्किलले २० मिटरको दूरीमा होला। ५० मिटरको दूरीमा त करिब आठ नौवटा पक्की घर, गाडी गुड्ने चौडा सडक र चिया पसल छन्। मानव बस्तीको यति नजिक चितुवा सुत्केरी स्याहार्न किन आयो होला ? छलफल गर्दै हामीले क्यामेरा ट्र्याप गर्न लाग्यौं।

मित्रहरू नरेश कुसी, सूर्यमान र पूर्णमान श्रेष्ठले भित्र माउ चितुवा नभएको निश्चित गरी माउ चितुवा फर्किनुअगाडि नै क्यामेरा राख्न जानुहुने भयो। केही बेरको प्रयासपछि भिडियो र फोटो मोडमा स्वचालित क्यामेरा राख्न सफल भइयो। अब चितुवाको बच्चा स्याहार्ने आनीबानी हेर्न र अध्ययन गर्न पाइने भइयो भनेर हामी ढुक्क भयौं।

 जंगली जनावरको निम्ति जंगल नै प्रिय र सुरक्षित हुन्छ। तैपनि चितुवा मान्छेको घरमा सुत्केरी बस्न आउला त ? यस्तो अनौठो घटना भयो भक्तपुरको चाँगुनारायण नगरपालिकामा।

चितुवा मानिसको घरमा सुत्केरी स्याहार्न आएको खबर सामाजिक सञ्जालमा फैलिएपछि त्यो ठाउँमा मानिसहरू आइरहेका रहेछन्। माउ नभएको मौका पारी बच्चासँग सेल्फी लिने क्रम चलिरहेको रहेछ। धेरैले परालको कुनामा डराएर बसेका आँखा नखुलेका डमरूहरूसँग सेल्फी खिचेर फेसबुकमा अपलोड गरेका थिए। क्यामेरा राखेपछि त्यहाँ मान्छेको आउजाउ रोक्ने र स्वतन्त्र रूपमा चितुवाको गतिविधि हेर्ने सल्लाह भयो। सबैको सहयोगले काम सफल हुने भयो भनेर मक्ख परेका थियौं। त्यहीबीचमा एउटा अर्को समस्या आइलाग्यो।

हतारमा जिल्ला वन कार्यालय भक्तपुरसँग सम्पर्क गर्न र क्यामेरा राख्ने विषयमा अनुमति लिन छुटेछ। २४ घन्टा भित्रमा नेपाली सेना, जिल्ला वन कार्यालयका कर्मचारी र नेपाल प्रहरी त्यहाँ पुगेछन्। चितुवा बसेको ठाउँ वरपर क्यामरा देखेर आश्चर्य र सशंकित भएछन्। जिल्ला तहमा आन्तरिक सर्कुलेसन भई क्यामरा राख्नेहरूको हुलिया प्रसार गरी पक्रन आदेश भइसकेको रहेछ। चुस्त प्रशासनको उदाहरण !

यसैबीच निरन्तर सम्पर्क र निर्देशन दिराख्नुभएका दुईवटै विभागका निर्देशकहरू सुत्केरी चितुवा हेर्न आउनुहुने भयो। साथी सूर्यमान विभागका निर्देशकसँगै गाडीमा चितुवा भएको स्थानमा जाँदै गर्दा जिल्ला वन कार्यालय भक्तपुरबाट डीएफओ फणिन्द्रप्रसाद पोखरेलको फोन आएछ। उनले बिनाअनुमति क्यामरा राखेकाले पक्रन सर्कुलेसन गरेको जानकारी गराएछन्। सबै घटना र विभागका निर्देशकसँग अनुमति लिएको व्याख्या गरेपछि त्यो पक्राउ पर्न भने परेन।

क्यामरा राखेको तेस्रो दिनमा सूर्यमानको फोन आयो। उनले भने, ‘सर एउटा दुःखद खबर छ। तीनवटामध्ये एउटा बच्चा मर्‍यो।’

अर्को दिन बिहानै हामी पाँच जनाको टोली उक्त स्थानमा पुग्यो। वन कार्यालयका कर्मचारीहरू आठ नौजना मनिसहरूबीच मरेको डमरुलाई जमिनमा गाडेर मुचुल्का उठाउँदै थिए। मरेको डमरु पोथी थिई। प्राविधिक कामपछि हामीले क्यामेराका फोटो र भिडियो डाउनलोड गर्‍यौं र थप केही क्यामरा राख्यौं। गाउँका सबै मानिसमा चितुवाप्रति माया र दया देखिन्थ्यो। उनीहरू चिन्ता व्यक्त गरिरहेथे— बिचरा आमालाई के भयो होला ? बच्चा मरेपछि माउले के गरी होली ?

हामीले क्यामेरामा रेकर्ड भएको भिडियोबाट माउ चितुवाको गतिविधि हेर्‍यौं। बच्चा मरेको रात सुत्केरी स्याहारेको ठाउँमा आउनासाथ माउ चितुवाले जिउँदो र मरेको बच्चा छुट्ट्याई। जिउँदोलाई मरेको भन्दा अलि पर लगी। मरेको बच्चालाई ओल्टाई पल्टाई हेरी। जिउँदोलाई जस्तो मरेकोलाई जिब्रोले चाटिन। केही समयपछि मरेको बच्चा मुखले च्यापेर परालको थुप्रोबाट उठाएर बाहिर आई। 

घरबाट बहिर आउनुअघि भर्‍याङ भएको भत्किएको कोठामा बच्चा बोकेरै उभिई। आफू बाहिर निस्किने र भित्र पस्ने गारो भत्किएको बाटो नगई भर्‍याङबाट तल गई। मूल ढोकामा ताला मारेकाले बाहिर जाने उसको प्रयास सफल भएन। ऊ फेरि माथि आई। बच्चालाई बाहिर लगिन। त्यही परालको अर्को कुनामा छोडी र जिउँदा बच्चाहरूसँगै रात बिताई।

क्यामेराका रेकर्डले जनाउँथे, ऊ रातभरि सुत्न सकिन। पाँचपाँच मिनटमा चितुवाको शरीरबाट आएको न्यानोले सञ्चालन हुने क्यामराले भिडियो र फोटोहरू लिइरहेथ्यो। क्यामेरा सञ्चालनमा आउँदा बल्ने सानो रातो बत्तीतिर चनाखो भएर हेर्दा चितुवाका आँखाहरू ताराजस्तै चम्किएका थिए। बिहान ५ बजेतिर माउ चितुवा बच्चाहरूलाई त्यहीँ छोडी जंगलतिर लागी।

बच्चा मरेको रात सुत्केरी स्याहारेको ठाउँमा आउनासाथ माउ चितुवाले जिउँदो र मरेको बच्चा छुट्याई। जिउँदोलाई मरेको भन्दा अलि पर लगी। मरेको बच्चालाई ओल्टाई पल्टाई हेरी। क्यामेराका रेकर्डले जनाउँथे, ऊ रातभरि सुत्न सकिन।

मरेको बच्चा गाडेको दिन माउ चितुवा साँझ ६ बजेतिर त्यही भूकम्पले भत्किएको दोस्रो तलाको उत्तर दिशाबाट भित्र आई। आफ्ना बच्चा भएको मूल कोठामा जानुअघि भर्‍याङनिर उभिएर दुईपटक माथि हेरी कराई। बच्चाहरूलाई आफू आएको संकेत दिएकी हो वा भित्र मान्छे भए भाग्ने सूचना दिएकी हो; या आफ्नो मरेको बच्चा गाडेको गन्ध थाहा पाएर दुःखी भएकी हो, केही थाहा भएन।

त्यसरी कराएपछि ऊ सीधै मूल कोठामा आई। बच्चाहरू परालको कुनामै गुटमुटिएर बसेका थिए। आँखा नखुलेका डमरूहरूलाई आफ्नो एउटी बहिनी बितेको ज्ञात भयो वा भएन तर बालसुलभता डमरुहरूमा पनि देखिन्थ्यो। त्यत्तिकै चुल्बुल र चञ्चल हुँदै उनीहरूले आमाको दूध चुस्न थाले। माउ चितुवा मानौं धेरै समयपछिको बिछोडको भेटजस्तै दुवै डमरुलाई माया पोख्दै थिई, जिब्रोले चाट्दै पालैपालो ओल्टाइपल्टाइ गरेर। डमरुहरू मान्छेका बच्चाजस्तै यताउता गर्दै चुल्बुल हुँदै आफ्नो भोक मेट्दै थिए।

आमा चितुवाले रातभरि जाग्रम र चनाखो भई डमरुहरूलाई स्याहारेको देखियो। डमरुहरूलाई देखाएको माया र ममता निकै भावपूर्ण थियो। मान्छेले जस्तै अँगाल्न खोजेको। रातको चिसोमा निदाएका डमरुहरूलाई न्यानो दिन आफूनजिक तानेको, आफ्नो लामो पुच्छरलाई सिरकजस्तै बनाई ओढाएको। भिडियोमा चितुवाको ममता जति हेर्दा पनि अझै हेरिरहूँ लाग्यो।

फोटो र भिडियो हेर्दै जाँदा थाहा भयो, माउ चितुवा घाइते थिइन। उसले खोच्याउँदै हिँडेको देखायो भिडियो रेकर्डले। ध्यान दिएर हेर्दा स्पष्ट भयो, उसको पछाडिको दायाँ खुट्टामा चोट छ। ऊ त्यो खुट्टाले राम्रोसँग टेक्न पनि नसक्ने भएकी थिई।

चितुवा आफ्नो घरमा बस्न आएको थाहा पाएका गाउँलेहरू चितुवाले हमला गर्ने हो कि वा आफ्ना गाईबस्तु मारिदिने हो कि भनेर चिन्तित थिए। तर, माउ चितुवाका पनि त आफ्नै दुःख थिए। ऊ घाइते थिई। तीनवटा बच्चामा एउटा गुमाइसकेकी थिई। उसले दुईवटा बच्चा स्याहार्नु छ। उसलाई पनि त खाना चाहिन्छ। सुरक्षा चाहिन्छ।

भिडियो फुटेज हेरिरहँदा मनमा अनके प्रश्न आए— के चितुवा आफू घाइते भएकैले अन्य वन्यजन्तुबाट हुनसक्ने हमलाबाट जोगिन मान्छेको घरमा शरणमा आएको हो त ? के चितुवाले जंगलका जनावरभन्दा मानिसबाट बढी सुरक्षित हुने विश्वास गरेको हो ? के उसलाई त्यहाँका गाउँलेले माया–स्नेह गरेको थाहा होला ? के घाइते चितुवाले गाउँघरका गाईबस्तुलाई हमला गर्ला ?

यस्तै विचार गर्दै एक सातापछि फेरि भिडियो र फोटो डाउनलोड गर्न हामी पुग्यौं। सबै सुरक्षा अपनाएर भित्र पसेपछि थाहा भयो, त्यो माउ चितुवाले आफ्ना बच्चासहित घर छोडिसकेको रहेछ। केही दिनदेखि आफ्नो घर नपसेका गोकर्ण दाइ हामीसँग भित्र पसे। परिवारका सबै सदस्य आए।

उनीहरू चितुवाले कब्जा गरेको घर छोडेकोमा खुसी थिए। क्यामेराको रेकर्डले अघिल्लो दिन चितुवाले घर छोडेको देखाइरहेथ्यो। सबै भिडियो र फोटो हेर्दै उत्साही हामीले गोकर्ण दाइलाई धन्यवाद दिँदै सतर्क रहन भन्दै बिदा भयौं। घर पुग्दानपुग्दै फोन आयो, ‘सर, गुन्डुमा चितुवाले मान्छेको बच्चा मार्‍यो।’

आशा गर्छु, त्यो चिुतवा त्यही माउ चितुवा होइन। तर, खतरा जति बेला पनि आउनसक्छ। अव्यवस्थित सहरीकरण, वनजंगल विनाश आदिले हामीले जंगली जनावरहरूको बास खोसेका छौं। यो विनाशले अहिले जंगली जनावर र मानिसहरूबीच द्वन्द्व निम्त्याइरहेछ। यो द्वन्द्वले हुनसक्ने समस्याबारे सम्बन्धित निकायको ध्यान बेलैमा जान आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.