कल‌ंकी-थानकोट सडक 'दिउँसै अध्याँरो'

कल‌ंकी-थानकोट सडक 'दिउँसै अध्याँरो'

काठमाडौं: कंलकी-नागढुंगा सडकको निर्माण लामो समयदेखि अबरुद्ध हुँदा यो क्षेत्रका बासिन्दाले दिनदिनै सास्ती भोग्नु परेको छ । यस क्षेत्रका बासिन्दाले धुवाँधुलो र जामको मार त खेपेकै छन् दैनिक जीवन पनि अस्तव्यस्त भएको छ ।

धुवाँधुलोका कारण चौबीसै घण्टा धुलोको तुवाँलोले सडक ढाक्ने गरेको छ । धुवाँधुलोले केही मिटरका गाडी पनि देख्न हम्मे पर्छ । सडकमा बुङ्बुङ्ती धुलो उड्ने गरेकाले स्थानीयबासी बिरामी पनि हुन थालेका छन् ।

पानी पर्दा हिलो, घाम लागे धुलो

फराकिलो बनाउन थालेको तीन वर्ष भइसक्दा पनि भत्काएर कालोपत्रे नगरिँदा सानो पानीले पनि सडक हिलाम्मे हुने गरेको छ । पानी पर्दाको हिलो र घाम लाग्दाको धुलोले यहाँका बासिन्दाले बिनाकारण रोगी बन्नु परेको छ ।

चन्द्रगिरी नगरपालिका-१५ ढुङ्गेअड्डामा किराना पसल सञ्जीव श्रेष्ठले धुलोधुवाँ र जामले साह्रै पीडित बनाएको बताउँछन् । सडकमै जोडिएको पसल रहेका श्रेष्ठ दिनमा १० पटक सफा गर्दा पनि धुलो हटाउन नसकिएको बताउँछन् ।

‘हेर्नु न कति फोहर छ पसलमा, दिनमा १० पटक सफा गर्दा पनि धुलो फाल्न सकिन्न्, साह्रै हैरान बनाएको छ’, धुलैधुलोले भरिएको पसल देखाउदै उनले भने, 'जामले २ किलोमिटरको कंलकी पुग्न समेत घण्टौँ लाग्छ, कहिलेकाहीँ ४-५ घण्टा जाम हुन्छ, तीन वर्ष भयो, यस्तै सास्ती बेहोरिरहेका छौँ ।’

बिरामी पर्न थाले स्थानीय

सडकमा पैदल हिँड्दा लुगाकपडा धुलै धुलो हुने गरेको दुखेसो उनले पोखे । ‘कहिले बन्छ यो सडक, कहिलेसम्म हामीले धुलोधुवाँ र जामको मारमा पर्नु पर्ने हो,’ उनले भने, 'काम नै गरेका छैनन्, बाटो बन्ने कुरा सपना जस्तो भएको छ ।’

नैकापका स्थानीय बासिन्दा सागर पाण्डे सडक अलपत्र हुँदा उड्ने धुवाँधुलोले मानव स्वास्थ्यमा समेत नराम्रो असर परिरहेको बताउँछन् । उनले धुलोधुवाँका कारण स्थानीय बासिन्दा रुघाखोकीदेखि फोक्सो र स्वासस्वासको बिरामी भइरहेको बताए ।

‘यो सडक निर्माणमा भएको ढिलाईले हाम्रो स्वास्थ्यमा नराम्रो असर परिरहेको छ', उनले भने, 'कंलकीदेखि थानकोटसम्म मानिसहरु रोगी भइसके, यसको क्षतिपूर्ति कस्ने दिने ?’

दिउँसै हुन्छ अध्याँरो

कलंकी चोकमा मासु पसल संचालन गरेका सम्शेर आलम धुलो धुवाँका कारण कहिले काँही त कलंकी दिउँसै अध्याँरो हुने गरेको बताउँछन् । ‘कहिलेकाँही त धुलो र धुवाँले पुरै छोप्छ, अध्यारो जस्तै हुन्छ’, उनले पीडा सुनाए । आलमले पानी हाल्ने नाउँमा सडकमा झन हिलो र धुलो बढाउने गरेको गुनासो गरे । कम्तिमा तीन पटक पानी हाल्न भनिए पनि कार्यान्वयन नै हुन नसकेको गुनासो गरे ।

सडक फराकिलो समृद्धि र विकास हुने आशमा सहेर बसेका स्थानीय सडक बन्ने सुरसार नदेखेपछि तनावमा छन्। देशभरबाट राजधानी काठमाडौं प्रवेश गर्ने सवारी साधान र यात्रुले घण्टौ जाम भोग्नु परेको छ ।

दैनिक १५ हजार गाडी

यो उक्त सडकबाट दैनिक १५ हजार सवारीसाधान र एक लाख भन्दा बढी मानिस आवत-जावत गर्छन् । चन्द्रागिरी लगायतका पर्यटकीय क्षेत्रमा अवलोकन गर्न समेत उक्त बाटोबाट दिनहुँ २० हजार मानिस ओहरदोहर गर्ने गरेका छन् ।

मुङ्लिङ-नारायणघाटमा हुने जामका कारण एकैपटक सवारी साधान भित्रिँदा समेत चाप बढ्ने गरेको छ । सवारी साधानको चापले हुने जामका कारण कंकली-थानकोट क्षेत्रका बासिन्दा उत्तिकै दु:ख पाइरहेका छन् ।

तीन वर्ष बित्यो, कहिले सकिन्छ ?

३० महिनामा बनाइसक्ने लक्ष्यका साथ निर्माण थालिएको ९ किलोमिटर लामो कंलकी-नागढुंगा सडक लामो समयदेखि अलपत्र छ । २०७१ साल साउनबाट यो सडकको निर्माण थालिएको थियो ।

निर्माण थालिएको केही समयमा मुआब्जाका विवादले सडक निर्माणमा अवरोध भएको हो । चार लेनको उक्त सडकको बीच ग्रीनबेल्ड र सडकको दुवैतर्फ साइकल लेन हुनेछ । अपाङ्ग र दृष्टिविहीनमैत्री फराकिलो फुटपाथ हुने आयोजनाले जनाएको छ ।

चन्द्रगिरी नगरपालिका प्रमुख घनश्याम गिरीले सडक छिटो निर्माण गर्न सडक विभाग र ठेकेदार कम्पनीसँग छलफल चलाइरहेको बताए । उनले सवारीसाधनका अत्याधिक चाप हुने चन्द्रगिरि नगरपालिकाको नागढुंगा-कलकी क्षेत्रमा सडक निर्माणमा भएको ढिलाई नगरवासी आजित भएको बताए ।

‘सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्न पहल गरिरहेको छु', उनले भने, 'पटक पटक सडक विभाग डेलिगेसन समेत गइरहेका छौँ ।’नगरप्रमुख गिरीले समय काम हुन नसक्नु नै सबैभन्दा दुर्भाग्य भएको बताए ।

विभाग र ठेकेदार बचन मात्रै दिन्छन्

उनले चैतको पहिलो सातासम्ममा सडकको ग्राभेल र पेटीको निर्माण गरी सक्ने प्रतिबद्धता सडक विभाग र निर्माण कम्पनीले गरेको बताए । नगरप्रमुख गिरीका अनुसार चैतको पहिलो हप्तासम्ममा पेटी र ग्राभेल सक्ने तथा जेठसम्म कालेपत्रे गरिसक्ने प्रतिवद्धता सडक विभाग र ठेकेदार कम्पनीले गरेका छन् ।

घर भत्काउनै बाँकी

थानकोट, सतुङगल र नैकापको केही क्षेत्रमा घर भत्काउन बाँकी छ । घर नभत्कँदा ढल समेत निर्माण हुन सकेको छैन । अझै धेरै घर भत्काउन बाँकी रहेकाले नगरपालिकासँग सडक विभाग र निर्माण कम्पनी गरेको प्रतिबद्धता पुरा हुने लक्षण देखिँदैन । नगर प्रमुख गिरीले अठ्यारो परेको ठाउँमा सहजीकरण गर्न आफु जुनसुकै बेला तयार रहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.