अधिकांश दुर्घटनामा टिप्पर दोषी, एकको मृत्यु
बनेपा : टिप्परको ठक्करबाट आइतबार दिउँसो एकको मृत्यु भएको छ । बनेपा नगरपालिका –४ नालामा बा ४ ख ६६०३ नम्बरको टिप्परले बनेपातर्फ आउँदै गरेका बा १५ प ८३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बनेपा –१ का १४ वर्षीय अमिर पाण्डेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
घाइते पाण्डेलाई बनेपाको शीर मेमोरियल अस्पतालबाट रिफर गरिएपछि उपचार गर्न लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।
बढ्दो टिप्परको चाप र तिव्र गतिका कारण पछिल्लो समय अरनिको र विपि राजमार्गमा दुर्घटनाको संख्या बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा दैनिक हुने गरेका अधिकांश दुर्घटनाको प्रमुख कारण टिप्पर नै हुने गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङ्कमा उल्लेख छ ।
बढ्दै गएको सवारी चाप, साघुरो सडक र तिब्र गतिले हुने दुर्घटनाबाट वर्षेनी अकालमा सैयौंले ज्यान गुमाउनुका साथै सैयौंको संख्यामा घाइते हुने गरेका छन् । जिल्ला प्रहरी कार्यलय काभ्रेका अनुसार प्रत्यक वर्ष टिप्परका कारण ज्यान गुमाउनेको संख्यामा वृद्धि हँदै गएको छ ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ५३ वटा सवारी दुर्घटनामा ३६ जनाको मृत्यु हुनुका साथै दुई भन्दा बढी घाइते भएका थिए भने आव ०७२/७३ मा सो संख्या बढेर ७९ पुगेको थियो भने २९ जनाले ज्यान गुमाउनुका साथै ३ सय बढी घाइते भएका थिए । आव २०७३/७४ मा भएका ६५ दुर्घटनामा ६५ जनाले ज्यान गुमाए भने २ सय ३१ जना घाईत भएका तथ्याङ्कमा उल्लेख छ ।
तीन आर्थीक वर्षमा भएका एक सय ३० दुर्घटना मध्ये ५० भन्दा बढी दुर्घटना टिप्परका कारण हुने गरको जिल्ला ट्राफिक कार्यालय काभ्रेकाका शेखरजंग मल्लले बताए । उनका अनुसार गत मंसिर, पुस र माघ महिनामा १८ वटा दुर्घटना मध्ये ९ वटा टिप्परकै कारण भएकोमा ११ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मल्लले जानकारी दिए ।
मल्लका अनुसार साँघुरो बाटो, तिव्र गति र कम उमेरका चालक, बढ्दो सवारी चापका कारण दुर्घटना बढ्दै गएको बताए । ‘अधिकांश दुर्घटनाको कारण चालकको लापरवाही हो ।’ उनका अनुसार टिप्परले धेरैजसो मोटरसाइकल, साना सवारी र पैदलयात्रीलाई ठक्कर दिने गरेको छ । जिल्लामा दैनिक एक हजार बढी टिप्पर चल्ने गरेको मल्लको भनाइ छ ।