आज सरकार विस्तार

आज सरकार विस्तार

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेका थिए।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गरेका थिए।

‘प्रधानमन्त्रीले अब सरकार विस्तार गर्नुहुन्छ’, एमाले महासचिव ईश्वर पोखरेलले अन्नपूर्णसँग भने, ‘सरकार विस्तारकै लागि उहाँले माओवादी अध्यक्षसँग छलफल गर्नुभएको छ। साेमबार चारबजेसम्म सरकार  बिस्तार हुन्छ ।'

स्रोतका अनुसार, प्रधानमन्त्री ओली र दाहालबीचको भेटमा दुवै पार्टीले सरकारमा पठाउन खोजेका मन्त्रीको प्रारम्भिक नाम र सरकारको नीति तथा कार्यक्रमका विषयमा समेत केन्द्रित रहेर कुराकानी भएको छ।

ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबन्डा भएको थियो। १० फागुनमै मन्त्रालय भागबन्डा लगाए पनि दुवै पार्टीले आफ्ना भागमा परेका मन्त्रालयमा मन्त्रीको आकांक्षी धेरै हँुदा टुंगो लगाउन सकेका थिएनन्।

मन्त्री बन्न दुवै पार्टीका आकांक्षीको ‘प्रेसर’ थेग्न ओली–दाहाल दुवैलाई सकस परेपछि निर्णयमा पुग्न ढिलाइ भएको हो।

प्रधानमन्त्रीले पार्टीबाट मन्त्रिपरिषद्मा पठाउने नेताहरूको नामका विषयमा पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलसँग पनि आइतबार छलफल गरेका थिए।

प्रधानमन्त्रीले नेता नेपालसँग एक्लै र अन्य नेतासँग भने सामूहिक रूपमा सरकारमा पठाउने मन्त्रीहरूको विषयमा परामर्श गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

‘प्रधानमन्त्रीले दाहालदेखि पार्टीकै वरिष्ठ नेतासँग सरकार विस्तारका विषयमा केन्द्रित रहेर कुराकानी गर्नुभएको छ’, ओलीका प्रेस संयोजक अधिकारीले भने, ‘सम्भवतः सोमबार मन्त्रिपरिषद् विस्तार हुन्छ।’

अझै टुंगिएन मन्त्री

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भए पनि दुवै पार्टीले अझै सरकारमा पठाउने मन्त्रीको टुंगो भने लगाउन सकेका छैनन। दुवै पार्टीमा आकांक्षी नेताको संख्या बढी भएको र आकांक्षीमध्ये पनि धेरैले गृह, अर्थजस्ता महŒवपूर्ण मन्त्रालयमै दाबी नछाडेका कारण ओली–दाहाल दुवै निर्णयमा पुग्न सकिरहेका छैनन्।

माओवादीले प्रदेशस्तरबाट सम्भावित मन्त्रीहरूको सूची तयार पारेर छनोटको काम बाँकी राखेको छ। एमालेमा पनि अध्यक्ष ओलीले वरिष्ठ नेतासँग परामर्श गरेर नाम तय गर्न थालेका छन्। यद्यपि निर्णयमा भने ओली पनि पुगिसकेका छैनन्।

दुवै पार्टीले सांसदहरूको प्रेसर कम गराउन भए पनि सोमबार मध्यान्ह्सम्म मात्रै नाम फाइनल गर्ने गरी तयारी गरेका छन्।

‘सोमबार बिहान कार्यालयको बैठक बसेर मात्र पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम फाइनल हुन्छ, अहिले नै टुंगिहालेको छैन’, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भनिन्।

माओवादी कार्यालयमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। माओवादीमा वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा जाने करिब निर्णयजस्तै छ। यद्यपि उनको मन्त्रालयको विषय भने टुंगिएको छैन।

उनले सरकारमा उपप्रधानसहित गृहमा रुचि देखाएका छन्। माओवादीमै नेताहरू वर्षमान पुन र जर्नादन शर्माले पनि गृहमै दाबी प्रस्तुत गरेका छन्। माओवादीवाट गिरिराजमणि पोखरेल, पम्फा भुषाल, मातृका यादव, शक्ति बस्नेत, बीना मगर, अमनलाल मोदी, सुदन किराँती, सुरेश राई (हिमाल), देवेन्द्र पौडेल, हरि अधिकारी, चक्रपाणि खनाललगायत नेतामध्येबाट मन्त्री बनाउने गरी रोस्टर तयार भएको छ।

उता एमालेमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, सुरेन्द्र्र पाण्डे, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, वसन्त नेम्बाङ, प्रेम आले, पार्वत गुरुङ, राजबहादुर बुढालगायत नेता मन्त्रीका लागि लबिङमा छन्। यसअघि नै ओलीले लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री बनाइसकेका छन्।

ओलीले पनि सोमबार बिहान पुनः पार्टी नेतासँग एकचरण छलफल गरेर मात्र मन्त्रीको नाम टुंग्याउने तयारी गरेको ओलीनिकट स्रोतले बतायो।

फोरम सोमबार नै नआउने

उपेन्द्र्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन। त्यसका कारण सोमबारको मन्त्रिपरिषद् विस्तारमै यादवको पार्टी सरकारमा सहभागी हुने सम्भावना भने छैन।

तर, उसले ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि लचिलो बन्दै सकारात्मक संकेत दिएको छ। फोरम नेता शिवजी यादवका अनुसार प्रधानमन्त्री तथा माओवादी अध्यक्षसँग फोरम अध्यक्षको अनौपचारिक छलफल भइरहेको छ। सरकारमा सहभागिताका लागि फोरमले चारबुँदे प्रस्ताव अगाडि सारेको थियो

‘हामीले माग राखेपछि उहाँहरूले कार्यदल बनाउने कुरा हुनुपर्थ्यो, भइसकेको छैन, सम्भवतः अब कार्यदल बन्छ होला’, यादवले अन्नपूर्णसँग भने, ‘पहिले कार्यदल बन्यो भने त्यसपछिको अवस्था हेरेर फोरम सरकारमा जान्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.