‘एन्फा निर्वाचन टार्ने षड्यन्त्र’

‘एन्फा निर्वाचन टार्ने षड्यन्त्र’

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को चैत १४ गते हुने निर्वाचन विभिन्न बहानामा रोक्ने षड्यन्त्र भइरहेको आरोप अध्यक्षका उम्मेदवार कर्माछिरिङ शेर्पाले लगाएका छन्। शेर्पा समूहको आइतबार राजधानीमा भएको भेलामा उनले एन्फामा परिवर्तनका पक्षधरलाई गुमराहमा राख्ने प्रयास विभिन्न अदृश्य शक्तिले गरिरहेको आरोप लगाए। ‘निर्वाचनको मिति तोकेर उम्मेदवारी दर्ता भइसक्दा पनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल छ।

यसअघि पनि विभिन्न बहानामा चार पटक निर्वाचन सार्ने काम भयो। एन्फामा पर्दा पछाडिको खेल धेरै हुने गर्छ, हामी तोकिएकै समयमा निर्वाचन होस् भन्ने चाहन्छौं,’ शेर्पाले भने।

उनले एन्फाको पाँच महिनाअघि सम्पन्न विशेष साधारणसभाले एन्फाको अपिल कमिटी बनाउने, पुस ५ देखि माघ ५ गतेसम्म प्रतिनिधि चयनका निर्वाचन गर्ने, प्रतिनिधिको नामावली समयमै सार्वजनिक गर्ने, निर्वाचन समिति गठन गर्नेजस्ता विषयमा निर्देशिका बनाए पनि निर्देशिकाअनुसार कुनै काम नभएको बताए। ‘एन्फा कार्यसमितिले अहिलेसम्म निर्देशिका अनुमोदन गरेको छैन। मोतीराज गौतमको संयोजकत्वमा अपिल कमिटी बने पनि कमिटीलाई नियुक्ति दिइएको छैन। सुमन केसीको संयोजकत्वमा बनेको निर्वाचन समितिलाई पनि काम गर्न दिइएको छैन,’ शेर्पाले भने।

निर्देशिकामा समय सीमाभित्र नभएको जिल्ला, क्लब र समितिको प्रतिनिधिको निर्वाचन स्वतः रद्द हुने उल्लेख गरिए पनि भक्तपुर, मकवानपुर, नवलपरासी र खेलाडी संघमा अझै निर्देशिका लत्याएर फोहोरी खेल खेल्ने काम भइरहेको आरोप पनि शेर्पाले लगााए। उनले आफ्नो समूह जितको नजिक रहेको दाबी गर्दै विभिन्न बहानामा निर्वाचन टार्ने खेल भइरहेकोले निगरानीका लागि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) सँग आग्रह पनि गरे।

उनले नेपाली फुटबलको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना तय गरेर अगाडि बढ्ने बताए। उनले पारदर्शिता आफ्नो मुख्य एजेन्डा भएकाले निर्वाचनको आम्दानी र खर्चका विवरणसमेत सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। चैत १४ गते हुने एन्फाको निर्वाचनमा अध्यक्ष पदका लागि शेर्पा र वरिष्ठ उपाध्यक्ष मणि कुँवरबीच प्रतिस्पर्धा हुनेछ। दुवै समूहबाट ११ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। निर्वाचनमा ७७ जना प्रतिनिधिले मतदान गर्नेछन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.