१९ वर्षपछि बसपार्क
फिदिम : स्थानीयले जग्गा उपलब्ध गराएको १९ वर्षपछि फिदिम नगरपालिकास्थित पल्लोटारमा बसपार्क सञ्चालनमा आउने भएको छ।
पूर्वाधार र सम्भाव्यता हेरेर मात्र बसपार्कमा गाडी पार्किङ थाल्ने अडान यातायात व्यवसायीले लिएपछि बसपार्क उद्घाटनपछि पूर्वाधार निर्माण थालिएको थियो। तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले तीन वर्षअघि बसपार्क उद्घाटन गरेका थिए। व्यवस्थित बसपार्क सञ्चालनका लागि पर्याप्त पूर्वाधार निर्माण नभएको भन्दै व्यवसायीले गाडी पार्किङ गर्न अस्वीकार गरेका थिए। बसपार्कमा पूर्वाधार अभाव र सुरक्षा कारण देखाउँदै व्यवसायीले फिदिम माविको जग्गामा गाडी राख्दै आएका छन्।
नयाँ सहर आयोजनाले पूर्वाधार निर्माणका लागि बजेट छुट्याएपछि जग्गा प्राप्त भएको झन्डै दुई दशकमा मात्र पूर्वधार निर्माणको काम अघि बढेको हो। यसका लागि एक करोड ८७ लाख ८६ हजार रुपैयाँ विनियोजन भएको छ।
यसअघि बजेट अभावकै कारण बसपार्कका लागि प्राप्त करिब साढे सात रोपनी जग्गा बेवारिसे अवस्थामा थियो। ‘नयाँ सहर आयोजनाले पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिने गरेको छ’, आयोजनाका रामप्रसाद सापकोटाले भने, ‘बजेट छुट्टिएपछि बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ।’
उद्घाटनपछि पनि बसपार्कमा पूर्वाधार अभाव र सुरक्षा कारण देखाउँदै व्यवसायीले फिदिम माविको जग्गामा गाडी पार्किङ गर्दै आएका छन्।
सरकारले पटक–पटक गरी २० लाख रुपैयाँ बसपार्कको पूर्वाधार निर्माणका लागि छुट्याएको थियो। त्यसपछि चर्पी, यात्रु प्रतीक्षालय र टिकट काउन्टर भवन निर्माण भएको थियो। उद्घाटन भए पनि व्यवसायीले गाडी पार्किङ नगरेपछि आयोजनाले बसपार्कको पूर्वाधार निर्माणका लागि ठेक्का आह्वान गरेको थियो।
बसपार्कको ठेक्का हिम्दुङ एन्ड थोकर÷पाथिभरा÷शुभकामना जेभी निर्माण कम्पनीले पाएको छ। यो कम्पनीले दुई वर्षभित्र काम सक्ने गरी २०७३ फागनु ३० गते सम्झौता गरी काम अघि बढाएको थियो। बसपार्क निर्माण ७५ प्रतिशत पूरा भएको सुपरभाइजर सन्तोष थापाले जानकारी दिए। भने, ‘फागुन मसान्तभित्र सबै काम सक्ने लक्ष्य छ।’