करिअरको खोजी

करिअरको खोजी

तपाईं प्लस टुको विद्यार्थी हुनुस् वा मास्टर्सको, मेडिकल पढ्नुस् वा मानविकी, करिअरको सुरुवात गर्ने सोच्दै हुनुस् वा अर्को पेसा सिफ्ट गर्ने तयारी, तपाईंले विचार गर्नैपर्ने केही कुरा छन्।

ललितपुरको श्रमिक शान्ति क्याम्पसमा बीबीएस तेस्रो वर्ष अध्ययनरत सविन श्रेष्ठ (२१) राजधानीमा ट्याक्सी चलाउँछन्। प्लस टु सकिएपछि के गर्ने भन्ने अन्योलका बीच उनी साथीभाइको संगतले ड्राइभरी पेसामा आइपुगे। स्कुलदेखि नै अब्बल विद्यार्थी उनको कलेजमा पनि अंक पनि राम्रै छ।

साहुलाई ट्याक्सी भाडाबापत दैनिक एक हजार रुपैयाँ बुझाएर उनी सालाखाला मासिक ३५ हजार कमाउँछन्। उनको कमाइ सरकारी अधिकृतसरहकै छ। राजधानीको बसाइ, कलेज शुल्क र भैपरी आउने खर्च जोहो गरेर उनी केही रकम बचत पनि गर्छन्।

उनलाई थाहा छ— जागिरबाट यत्ति कमाइ गर्न सजिलो छैन। तर उनलाई चाहना जागिरकै छ।

‘आर्थिक हिसाबले यो काम राम्रो छ। तर सबै कुरा पैसा रहेनछ’, उनी भन्छन्, ‘परिवार, आफन्त र समाजले दिने प्रतिक्रिया पनि हेर्नुपर्ने रहेछ।’ यात्रुहरूले हेपेर गर्ने सम्बोधन र व्यवहार पनि उनलाई चित्त बुझेको छैन।

आफन्तहरूबाट आउने प्रतिक्रियाले उनलाई सबैभन्दा बढी पिरोल्छ। उनले सुन्छन् — ड्राइभिङ नै गर्नु थियो भने कलेज किन पढेको ? एसएलसी सक्नेबित्तिकै ड्राइभिङ किन नसिकेको ? कलेजको पढाइमा ५/६ वर्ष किन खेर फालेको ? पढेको मान्छे किन ड्राइभिङमा छिरेको ?

०००

करिअरको सुरुवाती पाँच वर्ष पत्रकारितामा बिताएकी मुदिता वज्राचार्य अहिले सरकारी सेवामा छन्। करिब ६ महिना ‘नेपाली टाइम्स’ साप्ताहिकमा इन्टर्नसिप र त्यसपछिको चार वर्ष ‘द हिमालयन टाइम्स’ मा नियमित रिपोर्टिङ गरेपछि उनलाई लाग्यो — यो क्षेत्रबाट ‘ग्रोथ’ (वृत्ति विकास) भएन।

‘चार वर्ष पुगेपछि त्यही कुरा दोहोरिन थाले जस्तो लाग्यो’, उनी भन्छिन्, ‘पाँच वर्ष पुग्दा पनि प्रगति नभएजस्तो लागेपछि केही नयाँ काम गर्नुप¥यो भनेर खोजीमा लागियो।’

पत्रकारिता अरु जागिर जस्तो होइन। यहाँ तन, मन, धन लगाएर हरक्षण काम गर्नुपर्छ। नतिजा आओस्, नआओस्, सूचना खोजिरहनुपर्छ, स्टोरीमा लागिरहनुपर्छ, पाठकलाई केही न केही नयाँ पस्किरहनुपर्छ। ‘त्यो प्यासन कम भएपछि आफैंलाई पनि र पत्रकारिता पेसालाई पनि अनफेयर (अन्याय) भयो जस्तो लागेर मैले बाटो बदलेँ’, उनले करिअर सिफ्ट गर्नुको कारण खोलिन्।

पत्रकारिता छोड्ने निष्कर्षमा पुगिसक्दा पनि कुन क्षेत्रमा जाने उनलाई थाहा थिएन। सरकारी र गैरसरकारी जुनसुकै क्षेत्र भए पनि काम गर्नुपर्छ भन्नेसम्मको मानसिकता भने बनाएकी थिइन्।

उनको करिअरले अहिले ३६० डिग्रीको टर्निङ लिएको छ। २०६७ भदौमा उनले परराष्ट्र सेवाअन्तर्गत शाखा अधिकृतमा नाम निकालिन्। हाल उनी परराष्ट्र मन्त्रालयको चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र मंगोलिया गरी पाँच देश हेर्ने उत्तर पूर्वी एसिया महाशाखामा कार्यरत छन्।

०००

करिअरको खोजी गर्दै गरेका सविन र खोजी सकेर त्यसमा विचरण गरिरहेकी मुदिताजस्ता कयौं पात्र रिपोर्टिङका क्रममा अन्नपूर्णले भेट्यो जो केही न केही नयाँको खोजीमा छन्। तपाईं आँखा चिम्म गरेर सबैभन्दा नजिकका पाँचजनालाई सम्झिनुस् र सोध्नुस्— उनीहरू के काम गरिरहेका छन् ?

एकछिनलाई अरूको करिअरको कुरा छोड्नुस्, र आफैंलाई सोध्नुस्— तपाईं आफैं चाहिँ केका पछि लागिरहनुभएको छ ?

तपाईं प्लस टुको विद्यार्थी हुनुस् वा मास्टर्सको, मेडिकल पढ्नुस् वा मानविकी, करिअरको सुरुवात गर्ने सोच्दै हुनुस् वा अर्को पेसा सिफ्ट गर्ने तयारी, तपाईंले विचार गर्नैपर्ने केही कुरा छन्।

कसरी छान्ने करिअर ?

मनोविद् प्रा.डा. गंगा पाठकको भनाइमा तपार्ईंले मुख्य दुई कुरामा ध्यान दिनुपर्छ — आफ्नो रुचि र क्षमता। नौ दाजुभाइ, दिदीबहिनीमध्येकी एक पाठककै रोचक करिअर यात्रा हेरौं।

एसएलसी उत्तीर्ण गरेपछि सबैको सल्लाह थियो— साइन्स पढ। भर्ना हुन कलेज गएकी उनी मानविकी संकायअन्तर्गत मनोविज्ञान विषयमा भर्ना भएर फर्किइन्। ‘जब मैले कलेजमा साइकोलोजी भन्ने शब्द सुनेँ, त्यसले मलाई छोयो, मभित्रको सुषुप्त इच्छा जागृत भयो’, उनी भन्छिन्, ‘मसँगै गएका साथीहरूले विज्ञान पढे, मैले मनोविज्ञान।’ त्यसपछि उनले कहिल्यै पछि फर्केर हेरिनन्।

नेपालमा व्यक्तिको रुचि र क्षमताभन्दा पनि हचुवा र देखासिकीमा पढ्ने विषय र काम छान्ने प्रचलन रहेको उनको बुझाइ छ। भन्छिन्, ‘रुचि के हो पनि थाहा हुँदैन, के के विषय पढाइ हुन्छ भन्ने समेत थाहा नपाएपछि उसको सोच नै साँघुरो हुन्छ।’

उनले स्थापना गरेको नेसनल इन्स्टिच्युट अफ साइको एजुकेसनल काउन्सेलिङमा अभिभावकहरू आफ्ना छोराछोरीका समस्या लिएर आउँछन्। हालसम्म दुई लाखभन्दा बढीलाई करिअर काउन्सिलिङ गरेकी उनले भन्ने एउटै कुरा हुन्छ—‘दुनियाँले के सोच्छ वा भन्छ होइन, अरूलाई देखाउन होइन, आफ्ना लागि गर्नुपर्छ। आफू कन्भिन्स हुनुपर्छ अनिमात्र अरूलाई कन्भिन्स गर्न सकिन्छ।’

बच्चाको स्वभाव, रुचि, क्षमता र समस्या बुझिसकेपछि अभिभावकलाई सम्झाउँछिन् तर धेरैजना उनको सुझाव मान्दैनन्। ‘दुई वर्ष त हो नि भन्दै जबर्जस्ती साइन्समा भर्ना गर्दिन्छन्, तर त्यो दुई वर्ष छोराछोरीको जीवनमा कति पीडा हुन्छ भन्ने बुझ्न कोही तयार हुँदैनन्।’ आफूकहाँ आउने कयौं विद्यार्थी पढाइकै विषयमा धुरुधुरु रुने गरेको उनी सम्झिन्छिन्। अभिभावकहरूकै कारण बालबालिका बिग्रिएको उनको अध्ययन छ।

बजार बुझौँ

रुचि र खुबीबाहेक तपाईंले करिअर विकासमा हेर्नुपर्ने अर्को पक्ष हो— बजार। ह्युमन रिसोर्समा काम गरिरहेको कम्पनी सुविधा सेवा प्रालिका सीईओ अजयराज जोशी रुचि र खुबीले मात्र करिअर विकास नहुन सक्ने बताउँछन्।

‘तपाईंको प्यासन वन्यजन्तु संरक्षणमा हुन सक्छ तर हाम्रो देशमा त्यससम्बन्धी रोजगारी कति छन् तपाईंले बुझ्नुपर्छ’, उनी भन्छन्, ‘कुन उद्योग फस्टाइरहेको छ भन्ने पनि बुझ्नुपर्छ।’ कम्तीमा ब्याचलर पढ्दै गर्दा आफू कुन क्षेत्रमा जाने भन्ने बुझ्न उनी जरुरी ठान्छन्। बजारको आश्यकताअनुसार, रोजगारीलाई केन्द्रित गरेर विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम निर्माण र सीप सिकाउने उद्योगहरूको आवश्यकता उनी टड्कारो देख्छन्।

करिअरभित्र करिअर

केही वर्षअघिसम्म जागिरको सूचना कि त रोजगारदाताको सूचनापाटीमा हेर्नुपथ्र्यो वा पत्रपत्रिकामा प्रकाशित विज्ञापनको भर पर्नुपथ्र्यो। रोजगारदातालाई पनि जनशक्ति खोज्न सञ्चारमाध्यमबाटै विज्ञापन गर्नुपथ्र्यो। तर, अहिले रोजगारदता र जागिर खोज्नेबीच सम्पर्क गराउने कयौं ह्युमन रिसोर्स कम्पनीहरूले काम गरिरहेका छन्।

सन् २००३ देखि सञ्चालित कम्पनी सुविधा सेवाका सीईओ जोशी ‘जब पोर्टल’ मात्र नेपालमा एक सयभन्दा बढी सञ्चालनमा रहेको बताउँछन्। उनको कम्पनीमा मात्र झन्डै सय जना कर्मचारी छन् जसमध्ये ४० जना कम्पनीको जब पोर्टल जबइज्जी डट कममा काम गर्छन्।

यही क्षेत्रमा काम गरिरहेको कम्पनी हो मेरोजब डट कम। मेरोजबका सीईओ शैलेन्द्रराज गिरीले भेट्नेबित्तिकै पत्रिकामा छापिएको एउटा समाचार देखाए। शीर्षक थियो— वैदेशिक रोजगारीका लागि सीप अनिवार्य।

‘अनि के स्वदेशमा रोजगारी गर्न सीप चाहिँदैन ? ’, उनले प्रश्न तेर्स्याए। उनको बुझाइमा सीपको अभाव नै नेपालको समस्या हो। भन्छन्, ‘विश्वविद्यालयको शिक्षाले मात्र पुग्दैन, आफैं जागरुक हुनुपर्छ। पढेर मात्र पुग्दैन, सीप सिक्नुपर्छ।’

सन् २००९ देखि ह्युमन रिसोर्समा काम गरिरहेको मेरोजबले पनि रोजगारादाता र काम खोजिरहेकाहरू बीच सम्पर्क गराउँछ। एक सयभन्दा बढी कर्मचारी रहेको मेरोजबमा करिब चार लाख ५० हजार रजिस्टर्ड युजर र २५ सय कम्पनीहरू क्लाइन्ट छन्। डेढ लाखभन्दा बढीले मेरोजबमार्फत विभिन्न कम्पनीमा रोजगारी पाएका छन्। गिरीका अनुसार, दैनिक तीन लाख पटक मेरोजब हेरिन्छ। मेरोजबले सीपमूलक कामदारका लागि रोजगारी डट कम र काठमाडौं, बुटवल, पोखरा, इटहरीमा अलग्गै रोजगारी पसल पनि सञ्चालन गरिरहेको छ।

सुविधा सेवा र मेरोजबलाई मात्र उदाहरण मान्ने हो भने पनि अरूको करिअरमा काम गर्नेहरूको करिअर पछिल्ला दिनमा मज्जैले फस्टाएको देखिन्छ।

करिअरको साथी किताब

जब पोर्टल जबकुञ्ज डट कमका सीईओ अमित आचार्यका अनुसार करिअर गाइडेन्सका लागि आउने अधिकांशको चाहना जागिर खोज्ने हुन्छ। जागिर खोज्नेहरूको भीडमा ठूलो समूह अन्योलग्रस्त हुन्छ। उनीहरू ‘मलाई मान्छे बनाइदिनुप¥यो’ भन्दै आउँछन्।

कलेजको औपचारिक अध्ययन सके पनि सीप अभावमा बेरोजगार बनेको युवा विद्यार्थी उचित मार्गनिर्देशनको अभावमा अल्मलिएको उनको अनुभव छ। ‘अन्तर्वार्ता फेस गर्न आत्मविश्वास नहुने, १० जनाको अगाडि उभिएर बोल्न डराउने, मार्केटिङमा एमबीए गरेर पनि एउटा कलमको मार्केटिङ गर्न नसक्नेहरू छन्’, भन्छन्, ‘ज्यादाभन्दा ज्यादा जागिर कसरी खाने भनेर आउँछन्।’

सल्लाह माग्नेहरूलाई उनी पुस्तक पढ्न सिफारिस गर्छन्। ‘मेरो केही वर्षको अनुभव मात्र सुनाउँदा त मानिसहरू उत्प्रेरित हुन्छन् भने संसारका सफल व्यक्तिहरूका कथा किन नपढ्ने ? ’, उनी भन्छन्, ‘त्यसपछि मैले संसारका राम्राराम्रा पुस्तकहरू पढ्न थालेँ र मानिसहरूलाई पनि सिफारिस गर्न थालेँ।’

उनले अफिसमै पुस्तक संग्रह गर्न थालेका छन्। वार्षिक एक हजार रुपैयाँ तिरेर सदस्य बनेपछि पुस्तक घरमै लगेर पढ्न पाइने व्यवस्था गरेका छन्। आफ्नो करिअरमा सफल व्यक्तिहरूले पैसालाई नभई ज्ञान, सीप र टिम/नेटवर्कलाई प्राथमिकतामा राखेको उनी बताउँछन्।

‘यी तीन कुरा छन् भने के सम्भावना हुन्छ भने तपाईंले त्यसलाई पैसामा बदल्न सक्नुहुन्छ’, भन्छन्, ‘ज्ञान आर्जनका लागि पुस्तक सबैभन्दा असल साथी हो।’ विश्वका सफल व्यक्तिहरूका अटोबायोग्राफी र जीवनी उनको सिफारिसमा पर्छन्। ‘भर्खर ब्याचलर पढ्दै गरेका विद्यार्थीभन्दा केही समय कामको खोजीमा बिताएकाहरूले पुस्तक पढ्ने र त्यसबाट सिक्ने सम्भावना हुन्छ’, उनी भन्छन्, ‘सल्लाह दिनेबित्तिकै किताब पढिहाल्छ, उत्प्रेरित भइहाल्छ भन्ने होइन, बारम्बार झकझक्याइरहनुपर्ने हुन्छ।’

करिअर र नेपाली समाज

समाजशास्त्री प्रा.डा. विश्वकल्याण पराजुलीले करिअर र नेपाली समाजको सम्बन्धबारे रोचक तथ्य सुनाए। करिअर (काम)कै आधारमा नेपाली समाज विभाजन भएको तथ्यका आधारमा करिअरको इतिहास खोतल्न सकिने उनी बताउँछन्। ‘पहिला हाम्रो समाज विभाजन भएको करिअरकै आधारमा’, उनी भन्छन्, ‘समाजले पेसागत आधारमा जात बनाइदियो।’

अहिलेजस्तो करिअर केमा बनाउने भनेर नसोचे पनि नेपाली समाजमा अनौपचारिक रूपमा त्यो अभ्यास रहेको उनको अध्ययन छ। ‘लाहुरे परिवारमा आफ्नो छोरा, भाञ्जा, ज्वाईं वा अन्य सदस्यलाई लाहुरे बनाउन पाएँ भने उसको जीवन सुरक्षित हुन्थ्यो भन्ने सोचाइ हुन्थ्यो, त्यहीअनुसार गाइडेन्स दिइन्थ्यो’, उनी भन्छन्, ‘नेपालमा करिअर बोकेर हिँडेको मिलिटरी फ्यामिली हो।’ प्रहरी, निजामती सेवा, शिक्षण र परम्परागत रूपमा पारिवारिक विरासतका पेसामा पनि त्यो चलन रहेको उनी बताउँछन्। ‘शिक्षक, इन्जिनियर, डाक्टरजस्ता ह्वाइट कलर जबहरूमा जाने ओरिएन्टेसन पुरानो एलिट फ्यामिलीमा मात्र पाइन्थ्यो। अहिले ब्रेक थ्रु भएको छ’, उनी भन्छन्, ‘व्यक्तिगत क्षमताका आधारमा पेसा छान्ने चलन बढेको छ।’

डा.पराजुलीको आफ्नै करिअर पनि अध्ययन गर्न लायक छ। बीए पढ्दै गर्दा सिनियरहरूबाट पराजुलीले समाजशास्त्रका बारेमा सुने। सरकारी सेवादेखि विश्वविद्यालयसम्म समाजशास्त्र पढेकाहरूले काम पाएका थिए। उनलाई पनि रुचि बढ्यो। उनले त्रिविबाट सन् १९८९ मा समाजशास्त्रमा एमए गरे। उनलाई कलेजमा पढाउने र अध्ययन–अनुसन्धान गर्ने रुचि थियो। तर उनले काम पाएनन्। करिब १० महिना फाल्टु बसे। ‘कतै नियुक्ति नपाउँदा राजनीतिशास्त्र, इतिहास, अर्थशास्त्र वा अंग्रेजी पढेको भए जागिर पाइहाल्ने रहेछु कि जस्तो पनि भयो’, भन्छन्, ‘के गर्ने भन्ने अन्योल थियो।’

उनल इन्स्टिच्युट अफ मेडिसिन महाराजगन्जमा समाजशास्त्र पढाउने अवसर पाए। तर त्यो आफ्नो क्षेत्र होइन भन्ने उनलाई लाग्यो। अन्योलका बीच उनले पृथ्वीनारायण क्याम्पस ज्वाइन् गरे। ‘मानविकी संकायअन्तर्गत समाजशास्त्र विभागमा बस्दा भूमिपुत्र जस्तो फिल हुँदो रहेछ’, भन्छन्, ‘इन्जिनियरिङ, वनविज्ञान, कृषि, मेडिसिन, समाजशास्त्र पढाइ नहुने त्यस्तो कुनै क्षेत्र छैन। तर मानविकीमा आएर ग्रो अप गर्न पाएँ।’

०००

अन्तिममा फेरि ‘पढेलेखका ड्राइभर’ सविन र पत्रकारिताबाट परराष्ट्रसेवामा हामफालेकी मुदितालाई भेटौं।

सविनलाई ड्राइभरी पेसा मन नपरेको होइन। ‘भविष्य यसमा पनि छ। धेरैले यसैबाटै लाइफ सेटल गरेका छन्’, उनी भन्छन्, ‘तर यहाँ पढाइको भ्यालु (महत्व) भएन।’ मानिसहरूले हेर्ने दृष्टिकोण र देखाउने व्यवहारले आफ्नो पढाइअनुसारको कामको खोजी गर्न ‘बाध्य’ बनाएको उनी बताउँछन्।

सविन ट्याक्सी चलाउँदै बीबीएस चौथो वर्ष सक्ने र त्यहीबीच सीप सिकेर नयाँ करिअर सुरु गर्ने तयारीमा छन्। ‘अर्को काम नपाइन्जेल यसैलाई निरन्तरता दिन्छु’, उनी भन्छन्, ‘मेरो नजरमा मैले गाडी चलाउने सीप सिकेँ, जसले मलाई बचाइरहेको छ र मैलै पढेर पनि ठीक गरेँ किनकि म नयाँ काममा पनि जान सक्छु।’

के अब मुदिताका लागि नयाँको खोजी सकियो ?

‘यहीँभित्र नयाँको खोजी त सधैं चलिरहन्छ तर उमेर र अनुभवका कारण पूरै नयाँ क्षेत्रमा जाने भन्ने भएन’, उनी भन्छिन्, ‘एउटा उमेरमा पुगेपछि व्यक्तिगत र पारिवारिक जिम्मेवारीहरू बढ्छन्, चाहेर पनि सकिँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.