ओलीका सारथि

ओलीका सारथि

काठमाडौं : सुशासन, स्थायित्व र विकासको नारासहित सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी ओलीले सोमबार आफ्ना चार ‘सारथि’ नियुक्त गरेका छन्। ओलीले एमालेका दुई र माओवादीका दुई नेतालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गरेका हुन्।

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमा रामबहादुर थापालाई गृह, डा. युवराज खतिवडालाई अर्थ, एमाले महासचिव ईश्वर पोखरेललाई रक्षा र माओवादी सचिवालय सदस्य मातृका यादवलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन्।

अर्थमा एमालेभित्रै पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डेसम्म आकांक्षी थिए। यी सबै ‘भेट्रान’ नेतालाई पाखा लगाउँदै डा.खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन्। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. खतिवडा राजनीतिमा भने परिचित अनुहार होइनन्। अर्थतन्त्र बुझेका डा. खतिवडा अर्थमन्त्री भएपछि अर्थतन्त्र सकारात्मक दिशामा जाने विश्वास लिइएको छ।

डा. खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री गरेका छन्। वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका खतिवडालाई मौद्रिक ज्ञाताको रुपमा लिने गरिएको छ। उनी २०६६ चैत ९ गतेदेखि २०७१ चैत ५ गतेसम्म राष्ट्र बैंकको १५ औं गर्भनर भएर कार्यभार सम्हालेका थिए।

राष्ट्र बैंकबाट अवकाश भएपछि केही समयमै फेरि योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए। योजना आयोगमा उनी राष्ट्र बैंकको कार्यकारी निर्देशक छँदै २०५८ मा सदस्यका रुपमा नियुक्त भएका थिए। राष्ट्र बैंकका क्याडर रहेका खतिवडा लामो समयसम्म अनुसन्धान विभागको प्रमुख भएर रहेका छन्।

त्यस्तै, गृहमा माओवादी नेता पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता वर्षमान पुनसम्मले दाबी प्रस्तुत गरे पनि अन्ततः थापाले बाजी मारेका छन्। एमाले महासचिव पोखरेलले रक्षामा चित्त बुझाएका छन्। बाबुराम भट्टराईको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका पोखरेल अहिले मन्त्रीमै चित्त बुझाउन बाध्य भएका हुन्। उपप्रधानमन्त्री भइसकेर पनि मन्त्रीमै सीमित हुने नेता भने उनी मात्रै होइनन्।

त्यस्तै, ०६५ सालमा भूमिसुधारमन्त्री हुँदा एलडीओलाई शौचालयमा थुनेर चर्चामा रहेका माओवादी नेता यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। यादवले रोजेकै मन्त्रालयको जिम्मा दिएर माओवादीले उनलाई सरकारमा पठाएको छ।

अर्थ र गृहमा पठाउने मन्त्रीको नाममा पार्टीभित्रै चर्काे ‘प्रेसर’ मा ओली-दाहाल परेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो। अझै प्रधानमन्त्री ओलीले ११ जना मन्त्री नियुक्त गर्न बाँकी छ। प्रधानमन्त्रीले सोमबारै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी गरे पनि संघीय फोरमसमेतलाई सरकारमा ल्याउने प्रयासमा सफलता नमिलेपछि एमाले-माओवादीका दुई-दुई जना मन्त्रीलाई मात्र नियुक्त गरेका हुन्। थप मन्त्री चयन र संघीय समाजवादीसँगको छलफल निष्कर्षमा नपुगेका कारण सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

‘संघीय समाजवादीलाई पनि सरकारमा सहभागी हुन प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको र फोरम स्वयंले पनि सहभागी हुने संकेत देखाएकाले त्यसको छलफल नटुंगिएका कारण मन्त्रिमण्डलले पूर्णता नपाएको हो’, अधिकारीले अन्नपूर्णसँग भने।

यस्ता छन् गृहमन्त्री थापा

माओवादीभित्र ‘रिजर्भ’ नेताको छवि बनाएका वरिष्ठ नेता रामबहादुर थापा ‘सम्भ्रान्त लाहुरे’ परिवारमा जन्मिएका हुन्। उनका बाबु कर्णबहादुर थापा भारतीय सेनाका जागिरे हुन्। २०१२ सालमा जन्मिएका थापा ०३७ सालदेखि कम्युनिस्ट राजनीतिमा होमिएका थिए। राजनीतिको सुरुवाती चरणमै थापा नेपालबाट आईएस्सी सकेर इन्जिनियरिङ अध्ययनका लागि रुस गएका थिए। बाली विज्ञान अध्ययनका लागि रसिया पुगेका उनी त्यहाँ माक्र्सवादको अध्ययन गरेर फर्किए र राजनीतिमा सक्रिय भए।

माओवादीको १० बर्से सशस्त्र युद्धका बेला अध्यक्ष दाहालपछिका नेतामा डा.बाबुराम भट्टराईसँगै थापाको नाम आउँथ्यो। माओवादीलाई जहाँ संकट पर्छ, त्यहीँ थापालाई दाहालकै योजनामा खटाइन्थ्यो। संसद् र ग्रामीण वर्गसंघर्ष सँगै लिएर जाने कार्यनीतिअनुसार दाहालकै योजनामा थापालाई रोल्पा-रुकुमको जिम्मेवारी दिइएको थियो।

त्यहीबेला उनले राज्यले चलाएको ‘अप्रेसन’ विरुद्ध सिस्ने र जलजलाको नाममा ‘सिज अभियान’ चलाएका थिए। माओवादी आन्दोलनमा यही अभियानले ‘२०५२ को सशस्त्र युद्ध’ को आधार तयार पारेको विश्लेषण माओवादीभित्र हुने गर्छ। उक्त अभियान सफल भएसँगैे उपत्यकाभित्र ‘भलका (भक्तपुर, ललितपुर र काठमाडौं) अभियान’ माओवादीले चलाएको थियो। अहिले पनि उनी पार्टीको संगठन विभाग प्रमुख छन्।

०६९ सालमा पार्टी विभाजित भएपछि उनी प्रचण्डस“गको राजनीतिक सम्बन्धविच्छेद गर्दै मोहन वैद्यस“गै अलग पार्टी बनाउन पुगेका थिए। पछि मूलघरमै फर्केपछि पनि पार्टी संगठनभित्र उनको उत्तिकै पकड देखिन्छ। ‘बादल वैचारिक र सांगठनिक दुवै विषयमा नेतृत्व गर्न सक्ने ब्रान्डेट नेता हुन्’, माओवादी नेता दीनानाथ शर्माले अन्नपूर्णसँग भने, ‘माओवादी पार्टी र आन्दोलनभित्र उहाँको आफ्नै छाप छ।’

थापाका लागि पार्टी र सरकारमा दोस्रो सहजता पनि छ। त्यो हो, उनको जनजाति अनुहार। प्रमुख राजनीतिक दलमा थापाको स्तर र हैसियतका अन्य कुनै पनि जनजाति समुदायबाट उदाएका नेता पार्टीको आवश्यक पर्दा नेतृत्व नै गर्नसक्ने गरी अहिले देखिएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.